आँगन सुनसान थियो । उज्यालो भएको निकै बेर भए पनि बाक्लो हुस्सु देउराली गाउँलाई छाडेर उड्न अल्छी गरिरहेको थियो ।
हुस्सुको पर्दाभित्रबाट हेर्दा घाम जून जस्तो देखिइरहेको थियो, बिल्कुलै ताप र रापविहीन । ‘लौ हिँडेँ है म त ! भोलि दोपहरसम्म आइपुग्छु,’ होचो ढोकाबाट निहुँरिँदै आँगनमा निस्कियो एक आकृति । पछिपछि निस्किइन् अर्की आकृति । अनि, ढोकाकै च्यापमा अड्किए दुई बाल आकृति, एउटा अलिक ठूली, अर्को भर्खर टुकुटुकु हिँड्न थालेको ।
कान्छा भट्टराईको सिरिखुरी परिवार यत्ति हो ।
फराकिलो आँगनमा दुई-तीन फन्को मारेर उनी झरे ओरालो । जुत्ताको चुइँचुइँ आवाज आइन्जेल भट्टराई कान्छी आँगनमै उभिइरहिन् । अनि, लागिन् गोठतिर । ‘नाम– कान्छा भट्टराई । ठेगाना– चार नम्बर सि.पा., देउराली, सिन्धुकोट । उमेर– ३८ वर्ष । परिवार सङ्ख्या– ४ । छोरा– १, छोरी– १ ।‘
सर्भे टोलीलाई यति टिपाएर उनी लागे उकालो ।
भोटेचौर पुगेपछि चियाको बडो तलतल लाग्यो । साइँला जैसीको पसलमा भीडभाडै रहेछ, त्यहीँ छिरे । एउटाले अर्कोलाई खुसुक्क सोध्यो, ‘देउरालीका भट्टराई कान्छा होइनन् यिनी ?’
अर्कोले सबैले सुन्नेगरी जवाफ फर्कायो, ‘जुत्ता हेरेर चिनिनस् ?’
‘चुइँकिने जुत्ता’ अर्थात् कान्छा भट्टराईको परिचय ।
त्यो पहिलोचोटि कताबाट उनको खुट्टामा आइपुग्यो, गाउँ–समाजलाई थाहा थिएन । उनको खुट्टामा छिरेपछि चुइँकिएको हो कि चुइँकिने भएरै उनको खुट्टामा छिर्न पाएको हो ? त्यो पनि कसैलाई थाहा थिएन । त्यो हरेक पटक उनीसँगै चुइँचुइँ चुइँकिँदै निस्कन्थ्यो । डाँडा, पाखा चुइँकिँदै हिँड्थ्यो अनि उनीसँगै घरमा भित्रिएपछि चुपचापिन्थ्यो ।
एउटै थियो कि बेलाबखत सौता हाल्थ्यो, त्यो पनि अरूलाई पत्तो थिएन । टलक्क टल्किने त्यो जुत्ता चपक्कै तेल ठोकेको सुत्केरी टाउको जस्तै देखिन्थ्यो । इँजारको फित्ता गाँसेको पायल चप्पलको अगाडि झन् यस्तरी टल्कन्थ्यो, मानौं त्यो छालाको होइन, ऐनाको होस् ।
थम्पिन ठोकेको भुक्के चप्पलको अघिल्तिर यस्तरी चुइँकिन्थ्यो कि भुक्के चप्पलहरू पट्याकपट्याक पड्कनै बिर्सन्थे । कान्छा भट्टराईको जुत्तासँग प्रतिस्पर्धा गर्न सक्ने अर्को कुरा थियो भने सिर्फ उनकै जुँगा मात्र थियो । उनको जुँगा पनि छालाको जुत्ताभन्दा कम्ता प्रभावशाली भने थिएन । जुत्ताको आवाज सुनेर होसियार हुनेहरू उनको बाक्लो, लामो जुँगा देखेर सिरिङ्ग हुन्थे ।
बडो ठाँटबाटसँग बाहिर निस्कँदा खेती–बारीका असिनपसिन अनुहारहरू लस्कर लागेर रमिता हेर्थे । ओल्लो भित्तोको चुइँचुइँ पल्लो भित्तोसम्म सुनिन्थ्यो । कि खेती–बारीमा, कि डाँडाको चौतारीमा हुन्थे प्रायः गाउँलेहरू । चौतारीतिर त बरोबर देखिन्थे भट्टराई कान्छा, तर खेती–बारीमा उनको पाइला मुस्किलले मात्र पर्थ्यो ।
त्यसो त कुनै पुर्ख्यौली सामन्त थिएनन् उनी । औकातकै कुरा गर्ने हो भने छरछिमेकी जे-जस्ता हुन्, त्यसभन्दा धेरै इन्च अग्लो औकात उनको पनि होइन । यत्ति हो, आफैंले खेतीपाती नगरे अन्नबालीले नधान्ला भन्ने चाहिँ थिएन । अँधिया, बटैयाबाट आएको अन्नबालीले दुई छाकको रोजीरोटी राम्रैसँग चल्थ्यो । बाटोघाटो, पुलपुलेसो, पाटी, चौतारो बनाउन आँत र हात फुकाउनेमा पनि अग्रणी उनै हुन्थे ।
बिहानभरि घुम्दा घुमिनसक्नुको बारी पनि थिएन । दिनभरि फन्को मार्दा नतुरिने टारी पनि थिएन । तर, शान, सौकत र रवाफ भने जमिनदारी थियो । भनूँ, पुगेकै थियो उनलाई यसैगरी । मीठो उनैलाई चाहिन्थ्यो, राम्रो उनैलाई लाउनुपर्थ्यो । असाध्यै जाँगरिला र फूर्तिला थिए, तर खेतीपाती, गाईगोठको काममा होइन । ‘भोलिपल्ट दोपहरतिर आउँछु,’ भनेर हिँडेका मान्छे तीन दिनपछि आइपुगे । नयाँ झोला आएछ साथमा । झोला ठूलै देखिन्थ्यो । तर, त्यसबाट उनले तीन वस्तु मात्र झिके– श्रीमतीलाई टेलरिङको सारी, छोरीलाई बुट्टे घाँघर र छोरालाई आफ्नो जस्तै कालो छालाको जुत्ता ।
‘लौ हेर, यस्तो महँगो किन ल्याउनुपर्या ! काँ ला’र जानु छ र मलाई यो ?’ भट्टराईनी कान्छीले टोकसो गरिन् ।
बुट्टे घाँघर लगाएर छोरी गाउँतिर बुर्कुसी मारिहालिन् । छोरोलाई भने छालाको जुत्ता निक्कै ठूलो भएछ । खर्ल्याङ–खर्ल्याङ पार्दै आँगनमा घिसार्न थाल्यो ऊ । अनि घिसारिरह्यो झमक्क साँझ नपरुन्जेल त्यसैगरी ।
(प्रोल्लास सिन्धुलीयको उपन्यास ‘शून्य डिग्री’ आजबाट सार्वजनिक हुँदै छ । पुस्तक सांग्रिला बुक्सले छापेको हो ।)