Comments Add Comment

प्रिय पुस्तक: बौद्धिक र हार्दिक ‘शिरीषको फूल’

dhrubachandra-gautam_810
विभिन्न समयमा विभिन्न किताब मन पराइयो । कुनै बेलामा कुनै किताब बडो इन्जोय गरेर पढिन्छ, 
त्यसैमध्ये पारिजातको उपन्यास शिरीषको फूलपनि एक हो । एकदम अभिभूत भएर पढिएको थियो ।

यो उपन्यास ०२२ सालमा प्रकाशन भएको हो, निस्किनासाथै पढेँ । त्यो बेलासम्म पारिजातसँग मेरो चिनजान पनि भइसकेको थियो । उहाँ त्यो उपन्यास लेख्दै हुनुहुन्थ्यो, त्यो पनि मलाई थाहा थियो ।

त्यतिखेर शिरीषको फूलधेरैले पढेका थिए । उपन्यासमा शङ्कर लामिछानेले लेखेको भूमिकाको पनि धेरै सराहना भयो ।

शिरीषको फूलमलाई त्यसबेला धेरै हिसाबले मन पर्‍यो । त्यसमा पारिजातको लेखनी नै राम्रो छ । पात्र पनि आधुनिक छन् । त्यो बेलासम्म नेपाली उपन्यासहरुमा आएका पात्रभन्दा निकै फरक पात्र आए । उपन्यासको थिम, परिस्थिति र भाषा फरक छ ।

भाषा काव्यात्मक भएकोले पढ्दा छोड्न मन लाग्दैन । बौद्धिक मात्र भएर सलल बग्ने नभएको भए अड्कीअड्की पढिन्थ्यो होला । बौद्धिक भएर पनि त्यो हार्दिक छ । यसैले मैले नछोडी सरासर पढेको थिएँ ।

त्यो बेलासम्म नेपालीमा त्यस्तो उपन्यास आएकै थिएन । त्यसैले यसलाई धेरै रुचिकर मानियो ।

dhruba-chandra-gautamउपन्यासमा सकमबरी, सुयोगवीर, शिवराज जस्ता पात्रहरु विचित्र छन् । उनीहरुको आ-आफ्नो पृष्ठभूमि र मनोदशा छ । ती पात्र अद्भूत लाग्छन्, कथावस्तु पनि अद्भूत नै छन् । पढिरहँदा अर्कै संसारमा पुगे झैं अनुभूति हुन्छ । त्यो बेलामा पढ्दा पात्रहरुले एकदम सन्न पारेका थिए ।

सुयोगवीरमा सेनाको ब्याकग्राउन्ड छ । सकमबरी जस्तो अद्भूत पात्र नेपाली साहित्यमा त्योभन्दा अगाडि आएकै थिएन । उसकी बहिनी मुजुराको आफ्नै भूमिका छ । सबै पात्र आ-आफ्नो पीडामा बसेका छन् । यी सबै कुरा २० को दशकको पाठकलाई मुग्ध पार्न पर्याप्त छन् ।

शिरीषको फूलले अलग्ग चिनिने किताबको परिचय बनाएको छ । नेपाली साहित्यमा यसको विशिष्ट महत्व छ । यद्यपि पारिजातले पछि यो किताबलाई त्यति महत्व दिइनन् भनिन्छ । उनको वैचारिक धार फेरियो । तर पनि त्यो किताबको ऐतिहासिक महत्व छ ।

अहिलेका नयाँ पाठकले पढ्यो भने पनि शिरीषको फूलप्रभावकारी हुन्छ । पूर्वाग्रही भएरै पढ्यो भने त कुनै किताब पनि राम्रो लाग्दैन । स्वतन्त्र भएर पढ्नेलाई त्यो किताबले जहिले पनि छुन्छ ।

लेखकको रुपमा कुनै किताबबाट सिक्ने कुरा आफ्नै ठाउँमा हुन्छ । म लेखक भए पनि त्यो किताब पाठककै रुपमा पढेँ । त्यस क्रममा अभिभूत भएँ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment