Comments Add Comment

सिउँदो पखालिन कहिले रोकिन्छ सरकार ?

आदरणीय नेतागण नमस्कार !

दश वर्ष भयो देशमा गणतन्त्र आएको । डेढ वर्ष हुन लाग्यो संविधानसभाबाट संविधान घोषणा भएको । सरकार बन्ने–भत्कनेको त कुरै नगरौं । यसबीचमा प्राय:तपाईंहरू सबैको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने धोको पूरा भएको हुनुपर्छ । किनकि, सरकार बनाउन र भत्काउन सायद संसारकै च्याम्पियन हुनुहुन्छ तपाईहरू ।

तर, नेतागण, देशले के पायो ? हामी नागरिकले के पायौं ?

radha-pokhrelतपाईंहरूको कुन आदेश मानेनौं हामीले ? राणा विरूद्ध लड्न बोलाउनुभयो । राणाशाही अन्त्य नहुन्जेल लड्यौं । पञ्चायतविरूद्ध लड्न बोलाउनु भयो । पञ्चायत नढलुन्जेल लड्यौं । जनयुद्ध लड्ने आदेश दिनुभयो । जनयुद्ध पनि लड्यौं । कृपया भनिदिनुस् नेतागण, हामीले तपाईंहरूको कुन आदेश मानेनौं ? हामीले तपाईहरूमाथि के अन्याय गर्यौं ? के अपराध गर्यौं ? के पाप गर्यौं ? जसको सजायँ हामी जनतालाई यति निर्ममतापूर्वक दिइरहनु भएको छ ?

कर्णालीको नागरिकले सुन मागेको छैन नेतागण ! अहिले पनि केवल नुन माँगिरहेको छ । मधेसका मुसहर,चमारहरूले दरबार मागेका छैनन् सरकार ! अहिले पनि केवल घरबार मागिरहेका छन् ।

दलितहरूले मान्छे हुनुको अधिकार मागिरहेका छन् । युवाहरूले आफ्नै देशमा स्वरोजगार/रोजगार मागिरहेका छन् । महिलाले समानता र सुरक्षा खोजिरहेका छन् । हो नेतागण ! हो सरकार !! हामी नागरिकले न्याय, सुरक्षा, शान्ति र समृद्धि खोजिरहेका छौं । के यो हाम्रो अपराध हो ?

नेतागण ! तपाईहरूको भर्यांग अब कति वर्ष बन्नुपर्छ हामीले ? अनि तपाईहरूको दासत्वबाट कहिले अमलेख हुन्छौं हामी ?

चुनावको कुरा गर्दै हुनुहुन्छ । चुनाव त पक्कै गराउनुहुन्छ होला । लोकतन्त्र भन्नुहुन्छ हगि तपाईहरू चुनावलाई ? मेरो जिज्ञासा छ तपाईंहरूलाई- “लोकतन्त्र भनेको दिनु मात्र हो कि लिनु पनि हो ? कि नागरिकले सधैं दिइरहने तन्त्रको नाम नै लोकतन्त्र हो ?

कि नागरिकले भोट दिएवापत नेताले दिने चोट नागरिकले सही रहनुपर्ने तन्त्रको नाम नै लोकतन्त्र हो ? के हो नेतागण लोकतन्त्र भनेको ?”

हाम्रो भोटले राष्ट्रपति बन्नु भो, प्रधानमन्त्री बन्नु भो, मन्त्री बन्नु भो । हामीलाई शासन गर्ने शासक बन्नु भो । हामी नागरिकको अपेक्षा थियो, हाम्रा नेताहरू शासक होइन; हाम्रा सेवक बनुन् । हाम्रो असल अभिभावक बनुन् । समस्यामा साथ दिने सहृदयी साथी बनुन् ।

तर, तपाईहरू त हामीलाई सधैं शोषण गर्ने शोषक बन्नु भो । हाम्रो अप्ठेरोमा अट्टहास गर्ने शासक बन्नु भो । नेतागण ! ताली त एउटा हातले मात्र नबज्नु पर्ने हो । रोटी एकोहोरो सेकाएर मात्रै नपाक्नु पर्ने हो ।

मेरो भोटले तपाईं मन्त्री, प्रधानमन्त्री बन्न सक्नुहुन्छ भने तपाईंले मेरो भोटको बिरूद्ध पदीय आचरण गर्दा मलाई मेरो भोट फिर्ता लिने अधिकार हुनुपर्छ कि पर्दैन ? अब हामी नागरिकलाई यो अधिकार चाहियो नेतागण ।

नेतागण ! अब हामीलाई सस्तो सपना होइन, वास्तविक विपना चाहियो । कृपया ! राष्ट्रवाद, राष्ट्रघात, पुँजिवाद, समाजवाद, साम्यवाद विभिन्न वादका नाममा आरोप-प्रत्यारोप र झगडा गर्न बन्द गर्नुस् । पार्टीका नाममा जन्मजात काँग्रेस र कम्युनिस्टमा नागरिकलाई कित्ताबन्दी गर्न छाडिदिनुस्

रिसानी माफहोस्, तपाईहरू सारै साँढे बन्नुभयो । सधैं कुकुर-बिरालाको खेल खेलिरहन तपाईंहरूलाई भोट दिएका होइनौं हामीले ।

तपाईहरूको ब्यक्तिगत अहं तुष्टिका लागि हामी नागरिक तपाईहरूका विचारको शिकार कति दिन भइरहने ? अनि कति समय तपाईहरूको वादको बन्दी बनिरहने ? तपाईहरू आफूलाई भगवान पनि घोषणा गर्न सक्नुहुन्छ । तर, यथार्थमा तपाईंहरू रंग फेरिरहने रंगीन छेपारो हो । तपाईंहरूको कुरा पत्याइसाध्ये छैन ।

धरोधर्म नेतागण ! हजुरहरू हजार जिब्रो भएको शेष नागभन्दा कम हुनुहुन्न ।

एकातिर संघीयता ल्यायौं भनेर गर्व गर्नुहुन्छ । अर्कातिर भोलि आफू मुख्यमन्त्री नहुने गरी प्रदेशको सीमांकन भयो भने संघीयता नै मान्दिनँ भन्न पनि लजाउनुहुन्न । आफू राष्ट्रपति जित्ने निश्चित भए प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली ठीक हुन्छ, हार्ने भएपछि त्यो बेठीक हुन्छ । तपाईंहरूको कुन कुरा पत्याउनु नेतागण हामीले ?

बुद्धभन्दा चर्को स्वरमा शान्ति शान्ति शान्ति भन्नुहुन्छ । हिंसाको नाममा गमलाको फूलको एउटा थुंगा पनि चुड्दैनौं भन्नुहुन्छ । तर हिंसा, आगजनी गर्न कार्यकर्ताहरूलाई प्रतिस्पर्धा गर्न लगाउनु हुन्छ । खोई कसरी विश्वास गर्ने तपाईंहरूलाई हामीले ?

आजकल समृद्धिको नारा लगाउन नेतागणहरू बीच प्रतिस्पर्धा नै चलेको छ । कोही घरघरमा ग्यास पुर्याउने र हावाबाट बिजुली निकाल्ने कुरा गर्नुहुन्छ । कोही २५ वर्षभित्र देशलाई संसारकै समृद्ध बनाउने सपना बाँड्नुहुन्छ । कोही देशलाई स्वीजरलैंण्ड र सिंगापुर बनाउँछु भन्दै हिँड्नुहुन्छ ।

तर, बिडम्बना, ५० लाख युवाहरू आज पनि विदेशमा रगत-पसिना बगाइरहेका छन् । प्रत्येक दिन ५-७ वटा शव कफिन बक्समा पोको पारेर नेपाल भित्रिरहेको छ । कहिले रोकिन्छ नेतागण, नेपाली नारीको सिउँदो पखालिने यो क्रम ? अनि कहिले तोडिन्छ बिदेशमा युवाहरू बेचेर प्राप्त विप्रेषणबाट धनी भएको भ्रम ?

समृद्धिजति आफ्नो भागमा पस्केर हामी जनतालाई गरिबी बाँड्नु भो । सरकार ! कसरी बाँच्ने हामी गरिब जनता ? बोरामा पैसा बोकेर जाँदा झोला भरी सामान नआउने भइसक्यो । बजारमा श्रम बिक्नै छाडिसक्यो । के गर्नु नेतागण, हजुरहरूको मीठो भाषणले हामी नागरिकको रित्तो भाँडोमा रासन नभरिँदो रहेछ ।

3-party-meetingनेतागण ! अब हामीलाई सस्तो सपना होइन, वास्तविक विपना चाहियो । कृपया ! राष्ट्रवाद, राष्ट्रघात, पुँजिवाद, समाजवाद, साम्यवाद विभिन्न वादका नाममा आरोप-प्रत्यारोप र झगडा गर्न बन्द गर्नुस् । पार्टीका नाममा जन्मजात काँग्रेस र कम्युनिस्टमा नागरिकलाई कित्ताबन्दी गर्न छाडिदिनुस् । कम्तिमा नागरिकको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्न सिक्नुस् । देश र जनताको पक्षमा काम गर्नुस् । हामी तपाईहरूकै साथमा हुनेछौं ।

 अन्तमा,

आदरणीय नेतागण ! हरेक वस्तुको आफ्नो सहने सीमा हुन्छ । हामी नागरिक अहिले निशब्द सीमामा उभिएका छौं । निशब्द उभिनुको अर्थ हामी निम्छरो होइनौं । आजसम्मको इतिहास अत्याचारी शासकहरूका बिरूद्ध जनताले बिद्रोह गरेको इतिहास छ ।

तर, अब भ्रष्ट र अयोग्य नेताहरूका बिरूद्ध नेपाली नागरिकले बिद्रोह गरेभने अनौठो मान्नुपर्दैन । नेतागणहरूलाई चेतना भया । हस् त नमस्कार !

पत्रमा आवेग ब्यक्त भएकोमा क्षमा पाउँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राधा पोखरेल

अनलाइनखबरमा नियमित स्तम्भ लेख्ने युवापुस्ताकी लेखिका राधा पाेखरेल सामाजिक-राजनीतिक विषयमा केन्द्रित रहेर विशेषतः नारी एवं बालबालिकाकाे पक्षमा कलम चलाउँछिन्

ट्रेन्डिङ

Advertisment