Comments Add Comment

मधेसीको अस्तित्व स्विकार्न ढिलाइ किन ?

चितवनको कैलाशनगरबाट भरतपुर जानको लागि बस मोडिँदै गियो । बसलाई मोडिने ठाउँ दिन कुनातिर च्यापिएका चार पुरुषलाई चालकले उल्टै गाली गरे, ‘बाटो हेरेर हिँड्ने गर् **, नत्र जालास् नि सीधै माथि !’

चारै जना कपाल फुलिसकेकाअधबैंशे थिए । चालकले त्यति थर्काइसकेपछि हामीतिर हेरेर यसरी हाँसे, मानौं उनले जिन्दगीको उच्चतम उपलब्धि भर्खरै हासिल गरे ।

‘मलाई त यिनीहरुको अनुहार देख्नेबित्तिकै रिस उठ्छ यार !’ मलाई हेरेर बोल्यो ऊ ।sudan-gorkhali

एकैछिनमा म त्यो बसबाट झरेर अर्कोमा चढेँ ।

चितवनको त्यो चर्को घाममा कालो वर्णका केही दाइहरुपसिना चुहाएर फलामको काम गरिरहेका थिए । गाडीमा आरामले बसेका एकजना बोले, ‘हाम्रा नेपाली दाजुभाइ अरबमा मिहिनेत गर्दै छन्,यता आाफ्नो देश चाहिँ भारतीयले भरिसक्यो ।’

वर्णकै आधारमा उनले बडो विश्वस्त भावले भारतीय भनेको देखेर मैले सोधेँ, ‘तिनीहरु भारतीय हुन् भनेर कसरी थाहा पाउनुभयो ?’

आँखा ठूलो पार्दै उनले भने, ‘यस्ता काला पनि कहीँ नेपालका हुन्छन् ?’

चितवनकै बासिन्दा रहेका ती सज्जनलाई नेपालका आधा समुदाय कालो वर्णका छन् भनेर मैले सम्झाउनुपर्ने होला त ?आफैंलाई सोधेँ । बसबाट ओर्लेरतिनै फलाम पिटिरहेका दाइहरुतिर गएँ ।

केहीबेर अनौपचारिक गफ गरेपछि मैले सोधेँ, ‘तपाईंहरुको घर कुन जिल्लामा हो नि ?’

‘हामी तीनजनाको सिरहा, अनि ऊ चाहिँ बाराको’, बडो आत्मीय पाराले जवाफ दिए एकजना दाइले ।

मलाई भने अघि भारतीयनै हुन् भनेर दाबी गर्ने भलादमीको याद आइरहृयो ।

मनमा यिनै कुरा खेलाउँदै म गोरखा जिल्ला सदरमुकामबाट करिब ५२किलोमिटर टाढा रहेको घर गएँ ।

संयोग भनौं कि अरु केही, म घर पुगेकै भोलिपल्ट कुर्ता-सुरुवाल,तन्ना लगायतको ठूलो गुन्टा बोकेर कालो वर्णका दुई मानिस त्यति टाढा हाम्रो गाउँ आउँदै थिए ।
‘दिदी, राम्रो-राम्रो कुर्ता छ । लिनुहुन्छ?’,उनीहरुले एक जना स्थानीय महिलालाई सोधे ।

ती दिदीले आउने इसारा दिइन् र उनीहरु सामान बिसाएर कुरा गर्न थाले ।

‘भारतको कुन ठाउँबाट आएका हौ बाबुहरु ?’, लगभग ७० वर्ष लागिसकेका एक हजुरबाले सोधे ।

‘के भन्नुहुन्छ बुबा पनि । हामी नेपालकै पर्सा जिल्लाको हौं’,लगभग एकै स्वरमा दुवै बोले । त्यहाँ उनीहरुको सामान बिक्री भएन । यस्तै गफगाफमा केही समय बिताएर उनीहरु गाउँबाट झरे ।

उनीहरुको पछि-पछि अलि तलसम्म पुगेपछि मैले सोधेँ, ‘दाइ, तपाईंहरु यस्तो कष्ट गरेर किन यति टाढा आउनुभएको ?’

४० वर्ष कटेको भन्ने एक दाइ बोल्न थाले, ‘हाम्रो तराईमा पनि कयौं पहाडका मान्छेहरु छन् ।उनीहरु सबैलाई हाम्रो मधेसले सम्मान दिइरहेकै छ । हामीलाई लाग्छ,पहाडमा पनि हामीले यस्तै माया पाउँछौ र त पसिना बगाएर पनि आउँछौं । आफ्नै सहोदर दाजुभाइको त अनुहारको रङ त मिल्दैन भने यहाँका मान्छे चाहिँ किन हामीलाई उनीहरु नै जस्तो देख्न चाहन्छन् ? यिनीहरुलाई तराई पनि नेपालमानै पर्छ भनेर थाहा नभएको हो कि ?’

उनी बोलेको सुन्दा महसुस हुन्थ्यो,आफ्नै देशभित्र श्रम बेचेर खान खोज्दा झेल्नुपरेको तमाम कठिनाइ ।

उनीहरुसँग बिदा भएपछि त्यही प्रश्न त्यो हजुरबालाई सोध्ने निधो गरेँ ।

हजुरबा, ३० वर्षसम्म तपाईंले देशका विभिन्न ठाउँमा गएर पढाउनुभएको थियो, तपाईंलाई देशको आधाभन्दा बढी भूगोलमा काला वर्णका नेपाली बस्छन् भन्ने थाहा छैन ?’

‘किन थाहा नहुनु ? तर यिनीहरु सबै बिहारतिरबाट आएका हुन् । तिनीहरु नेपाली होइनन्’, हजुरबाले ठोकुवा गरे झैं सुनाए ।

‘हाम्रो पुस्ता पनि त कहीँ न कहीँबाट त आएका होलान् नि यहाँ…’, मैले के बुझाउन खोजेको थिएँ, उनी कडि्कए ।

‘तँ जन्मनु अगाडि नेपाल घुमेको मान्छे हुँ म । केही वर्ष काठमाडौं बस्दैमा मै हुँ भन्ने नदेखा हाम्लाई ।’

आदिम कालदेखि गाउँमा रहेका दलित, जनजातिहरुलाईविभेद गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार ठान्ने तिनको चेतनाको स्तर नापेपछि मैले चुप बस्नु नै उचित लाग्यो ।

मुखले केही नबोले पनि मनमा कुरा खेलिरहृयो । आधाभूभाग ओगटेको समुदायको अस्तित्व ससम्मान स्वीकार गर्न पहाडका मेरा हजुरबाहरुलाई अझै कति समय लाग्ला ?

एक मन लाग्छ, डाँडापारिका घाम भइसकेका हजुरबुबाको पुस्तापछि यसमा जरुर सुधार आउँछ । तर, म झन् बेचैन बन्छु, जब तीन वर्ष अगाडि म आफैं जोडिएको एउटा घटना घरिघरि आँखै अगाडि घुमिरहन्छ ।

‘ओए, आइज आज मज्जाले फलफूल खान जाने’, एकपल्ट एउटा साथीले बोलायो ।

रातको सात बजेको थियो । ठेलामा फलफूल बेच्ने मानिसहरु आफ्नो गन्तव्यमा जान हतारिँदै थिए । पाँच जनाको हाम्रो समूह मधेस मूलको मान्छेको ठेला भएतिर लाग्यो । तीन झुप्पा अंगुर झिकेर एउटा साथी अगाडि बढ्यो,अर्कोले स्याउ बोक्यो ।

‘दाइ के गर्नुभएको ? म मिलाएर दिन्छु नि, त्यसो नगर्नुस् न’, ठेलाको दाइले अनुरोध गरे ।

तँलाई यता ठेला चलाउनु छैन ?बिहारबाट आएर ठूलो कुरा गर्छस् ?’ एउटा साथी पिटुम्लाझैं गरी नजिकै गयो ।

ठेला चालक केही बोलेनन् । हामी आफ्नो बाटो लाग्यौं ।

‘तिमीहरु सधैं यस्तै हो ?’ उनीहरुको हर्कत देखेर चकित भएको मैले सोधेँ ।

‘होइन,रमाइलो गर्न मन लागेको बेलामा मात्र हो ।’

साथीको कुरा सुनेर नमज्जा लाग्यो । मनोरञ्जन गर्ने तरिका निकै फेरिएछ । हाम्रो पुस्ताले यस्तो गरेर नि मनोरञ्जन लिँदा रहेछन् । मनमनै यस्तै कुरा खेलाउँदै म बाटो लागेँ ।

देशमा चलेको जनयुद्धमा आर्मीले बुबालाई बेपत्ता बनाएपछि सानै उमेरमा मलाई काठमाडौंको मित्रता नेपाल भन्ने एनजीओेमा राखिएको थियो । भित्रकै संसारमा खुम्चिएको कारण कैयौं वर्ष बस्दा पनि मैले काठमाडौंको वास्तविकता देख्न पाएको थिइनँ ।साथीहरु त्यस्तो कुरामा मनोरञ्जन देख्छन् भनेर मैले सोचेको पनि थिइनँ ।
त्यो घटनापश्चात मैले व्वाक्तिगत रुपमा वा मेरो संलग्नतामा मधेसी दाजुभाइलाई ठेस पुग्ने कुनै कार्य नगरेका सम्झँदा खुसी अवश्य लाग्छ ।

त्यसयता म आफैंभित्र प्रश्न गरिरहन्छु, दौरा-सुरुवाल लगाएकै कारणले कुनै अमुक विदेशीलाई आफ्नै दाजुभाइ देख्ने ‘विवेकशील नेपाली’ लाई परापूर्वकालदेखि सिमानाको सच्चा सिपाही बनेर नेपाली भूमिको रक्षा गर्ने ‘देवनारायणहरु’लाई नेपाली ठान्न कति समय लाग्ला ?

उपल्लो संस्कारमा हुर्किएको भनी गर्व गर्नेले कालो वर्णको मान्छे जतिसुकै पाको उमेरको भए पनि हेपेर ‘तँ’ नै सम्बोधन गर्नुपर्छ भनेर आफ्ना सन्तानलाई सिकाउन कहिले अन्त्य गर्लान् ?

पहिचानको रस्साकस्सी र एमालेको नियत

कैयौं समयसम्म राज्यको विभेदकारी नीतिका कारण दमनमा परेर आफ्नो पहिचान गुमाएका सीमान्तकृत समुदायले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको सहयोगमा आफ्नो पहिचान फिर्ता ल्याउनसफल भए ।

आफ्नो पुस्ताले भोग्नुपरेको अन्यायको बदलामा उनीहरुले केही मागेनन्, तर आगामी सन्ततिले चाहिँ त्यस्तो भोग्नु नपरोस् भन्नेमा सचेत गराए ।

तर दुर्भाग्य ! आफ्नो पुर्खाको गल्तीलाईस्वीकार गरी अगाडि बढ्नुपर्नेमा खाइपाइ आएको वर्गले यी चिज सुन्न पनि चाहेन र एकलौटी संविधान जारी गरे । फलस्वरुप, आधा नेपाल केही महिना पूरै आक्रान्त र अशान्त बन्न पुग्यो । त्यस क्रममा केही दाजुभाइले सहादत प्राप्त गरे भने जनधनको क्षतिको कुनै हिसाब रहेन ।

ढिलै भए पनि सरकारले आन्दोलनरत दलको मागलाई सम्बोधन गर्नेगरी संसदमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाएको छ । संशोधनको पक्ष-विपक्षमा समाज विभाजित छ । संशोधनबाट असन्तुष्टका माग सम्बोधन गरी यसको स्वीकार्यता बढाई तीनै तहको निर्वाचन गरेर अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्ने बाटोमा सरकार अघि बढिरहँदा एक जिम्मेवार दलले भने भ्रम छर्दै सहमतिको सम्भावना पर धकेलिरहेको छ ।

पहिचान र अधिकारको कुरालाई हाउगुजी ठानी संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई पुनर्विचार गर्नुपर्ने हास्सापद माग राख्ने एमालेको रबैया देखेर सचेत नेपाली चिन्तित छन् । उनीहरु सोधिरहेछन्, जब-जब मधेसीलाई अधिकार दिने सवाल आउँछ,तब एमालेलाई अन्धो राष्ट्रवादको हाउगुजीले किन छोप्छ ? किन एमाले नेपाली समाजको मधेसलाई नजरअन्दाज गरी पहाडबाट भावनात्मक विखण्डन गराउन उद्यत छ ? काठमाडौंलाई सधैं आफ्नो ठान्ने मधेसीलाई किन एमालेले मूलधारको राजनीतिबाट धकेल्दै छ ?

मधेसीलाई काठमाडौंबाट अलग पार्न उद्यत एमाले आखिर कसको स्वार्थअनुसार परिचालित छ ? उसको रवैयाले तराईमा हुर्किरहेको सिके राउत प्रवृत्तिलाई मलजल भइरहेछ भनेर एमालेलाई किन हेक्का छैन ?

यी र यस्ता कैयौं प्रश्नको उत्तर खोजी असन्तुष्टलाई चित्तबुझ्दो जवाफ दिन जति ढिला हुन्छ, काठमाडौं र मधेसको दूरी अझ बढ्नेछ ।

अब बाटो सद्भाव र सह-अस्तित्को

बहुजातीय,बहुभाषिक र बहुसांस्कृतिक देश भनेर सबैले स्वीकार गरिसकेको अबस्थामा एउटा वर्ग अझै पनि दौरा-सुरुवाललाइ राष्ट्रिय पोशाक बनाउनुपर्ने हावादारी माग अगाडि सार्छ । तर, यही देशका मधेसी दाजुभाइले लगाउने धोतीलाई ऊ पोशाक नै मान्दैन । संसार एउटा गाउँ बनिरहँदा हाम्रो समाज चाहिँ आफ्नै दाजुभाइलाई महेन्द्रकालीन राष्ट्रियताको धङधङीले ‘अनागरिक’ बनाउन उद्यत छ।

सुन्दर हाम्रो देशले अब कुनै प्रकारको युद्ध झेल्न सक्दैन । जनता अबका दिनमा कसैलाई सत्तामा उकाल्नकै लागि भर्‍याङ बन्ने कुरा सोच्नपनि सक्दैनन् । आफूले पाएको तमाम दुःख बिर्सिएर आफ्नासन्तानले चाहिँ सारा विभेद निमिट्यान्न भएर सुन्दर भविष्य पाऊ भन्ने चाहन्छन् । आपसीअसमझदारीका कारणनिम्तिएका परिणामलाई भुल्दै सुन्दर गोरेटो खन्न चाहन्छन् ।

तर, यिनीहरुको यही सोझोपनालाई खेलाँची सोचिन्छ भने इतिहासको ब्याज समेत चुक्ता गर्नुपर्ने अवस्था आइपर्न सक्छ । अहिलेको समाजमा एक-अर्को समुदायबीच घृणा फैलाएर हामी कतै पुग्दैनौं । मधेसी, जनजाति,थारुका साथै मुसहर, चमार, चेपाङलगायत सम्पूर्ण सीमान्तकृत वर्गलाई राष्ट्रिय सम्पत्ति सम्झेर सबैको साझा नेपाल बनाउनु नै आजको आवश्यकता हो ।

एकपल्ट सोचौं, यही नेपालमा जन्मिएर यहीको माटोमा लडिबुडी खेलेको र कर्मको सिलसिलामा पहाड आएको ‘सुन्दरकुमार थारु’लाई काठमाडौं बाहिर कहिल्यै नघुमेको रञ्जन श्रेष्ठले ‘बिहारी’ भनेर सम्बोधन गर्दा उसको मन कति रुन्छ होला ? सिमानाको रक्षा गर्दैगर्दा मृत्यु भएको बाबुको लाशलाई आफ्नै आँखाले देखेकी रिङ्कु यादवलाई उसको राष्ट्रियतामा पहाडे समुदायले शंका गर्दा उनले मन कसरी बुझाउँछिन् होला ?

तसर्थ, वर्णकै आधारमा हुने व्यक्तिगत प्रहारलाई निरुत्साहित गरी नेपालभित्रका नेपालीको अस्तित्व स्वीकार गर्न ढिलाइ नगरौं । किनकि सह-अस्तित्वबाट नै देशले गति लिन्छ ।

गोरखा, हालः चितवन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment