Comments Add Comment

‘सार्क स्याटेलाइट’ मा भारतले दियो नेपाललाई हिस्सा

प्राविधिक तयारी गर्न पनि सघाउने वचन

satellite
१ माघ, काठमाडौं । नेपालले अन्तरिक्षमा आफ्नै स्याटेलाइट राख्ने तयारी गरिरहँदा भारतले ‘सार्क स्याटेलाइट’ उपयोगको अधिकार दिने आश्वासनसहितको पत्र पठाएको छ ।

अबको झण्डै ४ महिनापछि भारतले प्रक्षेपण गर्न लागेको सार्क स्याटेलाइटमा नेपाललाई पनि निश्चित स्पेस उपयोगको अधिकार दिन भारतले प्रस्ताव पठाएको हो ।

स्पेस टेक्नोलोजीमा बलियो भन्दै गएको भारतले नेपालका लागि हिस्सा छुट्टाउँदै उसको स्याटेलाइट प्रयोगका लागि आह्वान गरेको छ । स्याटेलाइटमा प्रयोगको अधिकार दिन लागिएको बारे औपचारिक जानकारी दिँदै भारतले नेपाल सरकारलाई पत्र नै लेखेको छ ।

भारतको विदेश मन्त्रालयले लेखेको पत्र सूचना तथा सञ्चार मन्त्रालयमा आइपुगेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ०७१ सालमा काठमाडौंमा सार्क शिखर सम्मेलन हुँदा ‘सार्क स्याटेलाइट’ दक्षिण एशियाली मुलुकहरुले संयुक्तरुपमा प्रयोग गर्ने घोषणा गरेका थिए । भारतले यो स्याटेलाइट प्रक्षेपण गर्न अन्तिम तयारी गरिरहेको छ । इन्डिय स्पेश रिसर्च अर्गनाइनेशन (इसरो)ले सार्क स्याटेलाइटको तयारी गरिरहेको छ ।

भारतले पत्रमा नेपाललाई स्याटेलाइटको एउटा ट्रान्सपोण्डर प्रयोग गर्न दिने उल्लेख गरेको छ । यो झण्डै ३६ मेगाहर्जको हो । भारतले आफ्नो पत्रमा स्याटेलाइट प्रयोगका लागि आवश्यक पूर्वाधार बनाउन नेपाललाई अनुरोधसमेत गरेको छ ।

अब यसका लागि नेपालले भारतले स्याटेलाइटमार्फत दिने व्याण्डविथ कसरी प्रयोग गर्ने भन्ने टुंगो लगाउनुपर्नेछ ।

यो स्याटेलाइटमार्फत दिइने ३६ मेगाहर्ज व्याण्डविथ नेपालका लागि निकै उपयोगी हुन सक्ने दुरसञ्चारसम्वद्ध अधिकारीहरु बताउँछन् । अब नेपालले स्याटेलाइटबाट ब्याण्डविथ रिसिभ गर्न ग्राउण्ड स्टेशन बनाउनुपर्नेछ । ग्राउण्ड स्टेशनमात्रै होइन, स्याटेलाइट उपयोगको क्षेत्र पनि तत्काल पहिचान गर्नुपर्नेछ । त्यसपछि भिस्याट प्रविधिहरु त्यसैअनुसार सम्बन्धित क्षेत्रमा जडान गर्नुपर्नेछ ।

विशेष गरी ग्रामीण क्षेत्रलाई इन्टरनेटसँग जोड्न भारतले स्याटेलाइटमा दिने अधिकार निकै उपयोगी हुन सक्ने देखिएको छ । हेल्थपोष्ट, विद्यालय, लगायतमा इन्टरनेट पुर्‍याउन पनि यसको उपयोग गर्न सकिने विज्ञहरुले औंल्याएका छन् । ‘सरकारले छिटो स्याटेलाइट उपयोगको क्षेत्र पहिचान गरेर पूर्वाधार निर्माण गर्नतर्फ लाग्नुपर्छ’ एक दूरसञ्चार अधिकारी भन्छन्- ‘भारतले पत्र नै लेखेर भनेपछि तयारी गर्न ढिलाइ गर्नुहुन्न ।’

भारतले आफ्नो पत्रमा ग्राउण्ड स्टेशन निर्माणका लागि प्राविधिक सहयोग पनि गर्ने बताएको छ । त्यसैले यसलाई उपयोग गर्ने गरी नेपालले स्याटेलाइट प्रयोग गर्न योजना बनाउनुपर्ने विज्ञ बताउँछन् ।

आफ्नै स्याटेलाइट राख्न प्रक्रिया अघि बढाएको नेपाल दूरसञ्चार प्राधिकरणले भारतले दिने यो मौकालाई सिक्ने र जान्ने अवसर पनि मानेको छ ।

प्राधिकरणका एक अधिकारी भारतले एउटा ट्रान्सपोण्डर दिएर नेपाललाई स्याटेलाइटबारे अभ्यस्त हुन मौका दिएको टिप्पणी गर्छन् । ‘अब जनशक्ति पनि त्यसैअनुसार व्यवस्था गर्न थाल्नुपर्छ । प्रविधि पनि सरकारले ल्याउनुपर्छ’ उनले भने, ‘केही समयपछि नेपालकै स्याटेलाइट पनि अन्तरीक्ष पुग्दैछ । त्यसलाई प्रयोग गर्ने आइडिया पनि यसका माध्यमबाट जेनेरेट हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment