Comments Add Comment

वेदबहादुर र मन्जुलाई उपाधि

bed-bahadur
१ माघ, काठमाडौं । वेदबहादुर सुनुवार र मन्जु रावतले दोश्रो बतासे अल्ट्रा ट्रेल रनको उपाधि जितेका छन् । वेद पुरुष तथा मन्जु महिलातर्फ च्याम्पियन बनेका हुन् ।
काठमाडौंदेखि सिन्धुपाल्चोकको बतासे डाँडासम्मको ६५ किलोमिटर दूरी नेपाल आर्मीका वेदले ६ घण्टा १० मिनेट ५८ सेकेन्डमा पूरा गरे ।

२००९ सालदेखि दौडमा लागेका वेदले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् । उनले २०१६ मा हङकङमा भएको १ सय किलोमिटर दूरीको अक्सफाम ट्रेल वाकर तथा २०१५ मा हङकङमै भएको द नर्थ फेसको ५० किलोमिटर दूरीमा स्वर्ण जितेका थिए ।

चीनमा भएको ५० किलोमिटर दूरीको एसियन माउन्टेन रनिङ र स्काइ रनिङमा पनि वेदले पहिलो स्थान हात पारेका थिए । घरेलु प्रतियोगितामा वेदले एभरेष्ट म्याराथन, पाथिभरा म्याराजन तथा हेलम्बु म्याराथनमा शीर्ष स्थान कब्जा गरेका थिए ।

जुम्लाका दीपेन्द्र बम दोश्रो भए । उनले निर्धारित दूरी तय गर्न ६ घण्टा ३१ मिनेट ४५ सेकेन्ड समय खर्चे । ७ घण्टा १३ मिनेट १५ सेकेन्ड समय निकालेका गोर्खाका सुजल गुरुङ तेश्रो भए । गत वर्ष पहिलो भएका गोर्खाका भीम गुरुङ चौथो स्थानमा सीमित भए । पहिलो संस्करण ३० किलोमिटर दूरीको थियो । ३ विदेशीसहित १९ जनाले भाग लिएका थिए । विदेशीमा युके, होल्यान्ड र रुसका छन् ।

महिलामा पहिलो भएकी मन्जुले ८ घण्टा २८ मिनेट २० सेकेन्ड समय लगाइन् । अल्ट्रा दौडमा पहिलोपटक भाग लिएकी १४ वर्षीया जुम्लाकी मन्जु १ हजार ५ सय मिटर दौडकी विद्यालयस्तरीय कीर्तिमानधारी हुन् । युकेकी लिजा हकर ८ घण्टा ५५ मिनेट समयसाथ दोश्रो भइन् । ९ घण्टा ३३ मिनेट ०२ सेकेन्ड समय लगाउँदै सिन्धुपाल्चोककी रशिला तामाङ तेश्रो भइन् । १ विदेशीसहित जम्मा ६ जना दौडेका थिए ।

६५ किलोमिटरका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे ।

फ्रेन्ड्स अफ हिमालयन चिल्ड्रेनद्वारा आयोजित प्रतियोगिताको २५ किलोमिटर दौडको पुरुषमा आर्मीका गजेन्द्र राई पहिलो भए । उनले २ घण्टा १५ मिनेटमा दौड सकाए । रुपलाल बुढा मगर (२ घण्टा १७ मिनेट) दोश्रो तथा सिन्धुपाल्चोकका अनिल तामाङ (२ घण्टा २१ मिनेट) तेश्रो भए । ४१ प्रतिस्पर्धीले दौडमा सहभागिता जनाएका थिए ।

१९ जना सहभागी सो स्पर्धाको महिलामा एपीएफकी सोनुजया राई पहिलो बनिन् । सोनुले निर्धारित दूरी २ घण्टा ५९ मिनेटमा तय गरिन् । सिन्धुपाल्चोकका भीममाया तामाङ (३ घण्टा ३५ मिनेट) दोश्रो र अनिता तामाङ (३ घण्टा ३५ मिनेट ०२ सेकेन्ड) तेश्रो भए । २५ किलोमिटरमा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार जिते ।

स्थानीयको १२ किलोमिटर दौडको पुरुषमा विशाल तामाङ पहिलो, ओम स्याङ्तान दोश्रो र अम्बर तामाङ तेश्रो भए । त्यसै स्पर्धाको महिलामा सुनीता तामाङ पहिलो, कुमारी तामाङ दोश्रो तथा सपना तामाङ तेश्रो बने ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरे । पुरुषमा ३६ र महिलामा १९ प्रतिस्पर्धी सहभागी थिए । विजेतालाई युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment