२ माघ, काठमाडौं । यातायात ब्यवस्था विभागले आइतबारबाट भक्तपुरको जगातीबाट पनि लाइसेन्स वितरणको काम सुरू गरेको छ । विभागले गत हप्ता स्वयम्भुको ठूलोभर्याङमा शाखा कार्यालय खोलेर लाइसेन्स वितरण थालेको थियो ।
आइतबार जगातीस्थित नयाँ कार्यालयबाट पनि सेवा सुरु गरिएको हो । अरनिको राजमार्गसँगै रहेको सो कार्यालयको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गरे ।
जगातीमा शाखा कार्यालय खुलेपछि त्यस वरपरका बासिन्दालार्इ अब लाइसेन्स लिनकै लागि ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा धाउनु नपर्ने भएको छ ।
आफू मातहतको ट्रायल सेन्टर नभएकाले सुरुवातमा जगाती कार्यालयले लाइसेन्स नवीकरणको काम गर्नेछ । यस्तै लाइसेन्सका लागि अनलाइनमार्फत अावेदन पनि कार्यालयले बुझ्नेछ ।
तर, ट्रायल सेन्टरबिना नै खोलिएका कार्यालय प्रभावकारी नहुने विभागकै अधिकारी बताउँछन् । विभागले केही साताअघि मात्रै लाइसेन्सका लागि अनलाइन आवेदन खुला गरेको छ ।
अब काठमाडौंको चाबहिलमा पनि लाइसेन्स वितरण गर्ने कार्यालय खोल्ने सरकारले जनाएको छ ।