Comments Add Comment

केवल बिनाबीको कविता: कन्यादान

kewal-binabi
आफ्नै मृत्युको साक्षी बसेर
भन्नुहोस् बा !
कसरी गर्न सक्छु
म जिउने संकल्प

बालाई देखेर
जसरी तर्सिएकी थिएँ
यो सेतो वस्त्रमा
हजुरबा खस्दा
ठीक त्यसैगरी
तर्सिएकी छु आज

कसरी उभिन सक्छु
यो बिहे मण्डपमा
जहाँ विराजमान छन्
आफ्नै छोरीको कुमारित्व लुट्ने ब्रह्मा
पतिव्रता बृन्दाको सतित्व लुट्ने विष्णु
कुन्तीका बलात्कारी सूर्य
र आफ्नै गुरुआमा भित्र्याउने चन्द्र

यी सबै सबैलाई साक्षी राखेर
बा बोल्नुहुनेछ बाग्दान
भन्नुस् बा !
कसरी हुनसक्छु म सुरक्षित

चढाएर पाउमा आत्मसम्मान
पिएर पाउ पखालेको पानी
बाँधेर पाउजुले यी पाउहरु
गुमाएर आफ्नै निधारको स्वामित्व
कसरी मान्न सक्छु
आफ्नै जीवनसाथीलाई
पति परमेश्वर या विष्णु

चुँडाएर कुशको सिन्का
कसरी चुँड्न सक्छ
वंशाणुको धागोले
बाँधिएको हाम्रो नाता
कसरी छुट्न सक्छ
गर्भमै गाँसिएको गोत्र

यो पनि भन्नुहोस् बा !
कसरी गर्नुहुन्छ
जिउँदै छोरीको किरिया
र भन्न सक्नुहुन्छ
मारे पाप पाले पुन्य

बा !
जीवनको यो बीसौं वसन्तमा उभिएकी
म कुन्ता कुमारी
कुमारी रहनै सकिनँ
कन्या त झन् हुँदै होइन

भन्नुस् बा !
अब कसरी गर्नुहुन्छ
मेरो कन्यादान ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment