Comments Add Comment

सेयरमा लगानी गर्दा हुने गल्तिबाट बचाउने यी ६ टिप्स

how-to-invest-in-the-stock-market
२ माघ, काठमाडौं । सेवा निवृत्ती पछिको जीवन आर्थिक रुपमा सहज बनाउन सेवामा छँदै बचत तथा लगानीमा ध्यान दिनुपर्छ । सेवा निवृत्तिपछिको जीवन कस्तो बनाउने र त्यसको खर्च कसरी जुटाउने भनेर पहिल्यै एउटा खाका बनाए राम्रो हुन्छ । अर्थात् यसमा दिर्घकालीन रणनीति अपनाउनु आवश्यक हुन्छ ।

यसका लागि सर्वप्रथम त बचत वृद्धि गर्ने तर्फ ध्यान दिनुपर्छ । बचत कहिलेदेखि र कसरी बढाउने हो त्यो निर्धारण गरेर त्यसतर्फ लाग्नुपर्छ ।

अनि जोखिम बहन गर्नसक्ने आफ्नो क्षमता निर्धारण गरेर सेवा निवृत्तिको समय पनि निर्धारण गर्नुपर्छ । त्यसपछि आफुलाई सुहाउादो लगानी क्षेत्रहरु निर्धारण गर्नु पर्दछ ।

यस्ता योजना हरेक वर्ष अद्यावधिक गरिरहनुपर्छ । अन्यथा तपाईंको बचत हावामा उडेर विलाउन सक्छ । यसक्रममा तपाईंले केही गल्तिहरु गर्नबाट बच्नुपर्छ ।

यहाँ प्रस्तुत छन् केही गल्ति हुन नदिने टिप्सहरु । यस्ता विषयलाई नपछ्याउँदा निकै चलाख लगानीकर्ता पनि डुबेका छन् ।

१. खराब लगानी बेच्न नहिच्किचनुस्

हरेक व्यक्तिमा माया मोह हुन्छ । तपाईंले केही सेयर पहिलोपटक किन्दा त्यसबाट केही समय राम्रो प्रतिफल पनि मिल्यो होला ।

त्यस विपरीत कुनै सेयरको मूल्य धेरै घटेर तपाईलाई धेरै नोक्सान पनि भयो होला । तर तपाइर्ं त्यसलाई बेच्न चहानुुहुन्न किनभने त्यसको मूल्य पछि गएर बढ्ला अनि आफ्नो पैसा उठाएर बेचौंला भन्ने तपाईंको सोचाइ बनेको हुन सक्छ ।

कहिलेकाँही यही अपेक्षाले तपाईंको अन्य योजनामा पनि तुषरापात हुन सक्छ । त्यसैले खराब लगानीलाई बेच्न नहिच्किचाउनुस् ।

२. अनावश्यक विविधीकरण नगर्नुस्

लगानी विविधीकरण गर्नु राम्रो हो । तर आफूले व्यवस्थापन गर्न सक्नेभन्दा धेरै सेयरमा लगानी भने गर्नु हुँदैन । आफूसँग भएको ज्ञान र क्षमताअनुसार लगानी व्यवस्थापन नगर्ने हो भने अनावश्यक हैरानीका साथै नोक्सान पनि हुनसक्छ ।

त्यसैले धेरै कम्पनीको सेयर किन्नुभन्दा उत्कृष्ठमध्ये केहीमा लगानी गर्नु उपयुक्त हुन्छ । लगानी विविधीकरण गर्दा आफूसँग ज्ञान भएका क्षेत्रका कम्पनीहरुको सेयरमा लगानी गर्नु ठिक हुन्छ ।

एकै बर्ग वा प्रकृतिको कम्पनी र उत्तिकै प्रतिफलदर दिने खालका कम्पनीहरुमा भन्दा प्रतिफलदर फरक-फरक हुने कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ ।

३. सन्तुलन कायम गरिरहनुस्

विभिन्न कम्पनीको सेयरमा लगानी गर्दा त्यसलाई समयअन्तरालमा सन्तुलित पनि गर्दै जानुपर्छ । आफ्नो जोखिम बहन गर्ने क्षमताअनुसार नै लगानीलाई सन्तुलित गरिरहनुपर्छ ।

यस्तो सन्तुलन गर्न सकिएन भने तपाईले आफ्ना लगानीहरुको विविधीकरणबाट पाउने प्रतिफलभन्दा धेरै गुमाउने अवस्था आउन सक्छ ।

लगानीलाई सन्तुलित गर्ने यस प्रक्रियामा अनावश्यक मानिएका सेयर बिक्री गर्न सकिन्छ । यसो गर्दा नयाँ सेयर किन्नु परेमा पनि लगानी उपलब्ध हुन्छ ।

४. जोखिमबहन क्षमता कहिल्यै नबिर्सनुस्

सेयरको भाउ दिनानुदिन बढिरहेको छ भने सबैलाई त्यस्ता सेयर किन्न मन लाग्नु स्वभाविक हो । त्यसैले पनि होला सेयर बजारलाई आश र त्रासको बजार पनि भनिन्छ ।

मूल्य बढिरहेको सेयर होल्ड गरिरहँदा पछि मूल्य घट्यो भने त्यसको जोखिम बहन गर्न सक्छु कि सक्दिन भनेर सबै लगानीकर्ताले ध्यान दिनुपर्छ ।

कति मूल्यसम्म बढेमा त्यो सेयरको प्रतिफल सुरक्षित गर्ने र कति तलसम्म मूल्य घट्दा पर्खने पहिले नै तय गर्नुपर्छ । आफ्नो जोखिम बहन क्षमता अनुसार नै यस्तो मूल्य बिन्दु तय गर्नुपर्छ ।

५. भीडको पछि नलाग्नुस्

लगानी गर्ने कुरा सोचे जति सजिलो छैन । किनकी लगानी भनेको खर्च गर्ने बिषय मात्र नभएर प्रतिफल सुनिश्चित गर्ने कला पनि हो ।

हरेक मानिसमा आफुले गरेको लगानी डुब्छ कि भन्ने डर पनि हुनसक्छ । हामी डर बढेपछि आफ्नो सोचलेभन्दान पनि धेरैको अनुशरण गरेर सेयर किनबेचको निर्णय गर्न थाल्छौं ।

यो मानवीय स्वभाव सेयर बजारमा पनि लागु हुन्छ । त्यसैले आफन्त, सहकर्मी, छिमेकी वा जो कोहीको यस्तो समूह हुन सक्छ जसलाई हामी पछ्याइरहेका हुन सक्छौं ।

तर त्यो समूह वा समूहका मानिसहरु न त तपाईंको वित्तीय अवस्था र लक्ष्यबारे परिचित हुन्छन् न त उनहिरुको छनोट सँधै सही नै हुन्छ भन्न सकिन्छ ।

धेरैको पछि लागेर गरिएको यस्तो लगानी सही अर्थमा सुरक्षित र उत्कृष्ठ लगानी निर्णय नहुन सक्छ । बरु यो भेडा प्रवृत्ति हुन सक्छ अर्थात् आफ्नो विवेक प्रयोग नगरी भेडाले जस्तै एउटाले जे गर्‍यो सबैले त्यही गर्ने । यस्ता प्रवृत्तिले अरुसँगै तपाईं पनि जोखिममा पर्ने सम्भावना हुन्छ ।

६. रिसाएको बेला निर्णय नलिनुस्

तनावको समयमा कुनै पनि निर्णय लिनु हुँदैन् । तनावमा मानिसले सही र गलत छुट्याउन सक्दैन ।

तनावमा मानिसले आफू र अरु दुवैलाई हानी गर्न सक्छ । निर्जीव बस्तुको रुपमा रहने सेयर प्रति रिस उठ्यो भन्दैमा हतासमा निर्णय गर्नु हुँदैन ।

किनभने ती निर्जीव बस्तु (सेयर) मा भावना हुदैन् । ती सेयर तपाइर्ंले अरुलाई बिक्री गर्नुस् वा आफैंसँग राख्नुस् तिनीहरुलाई केही फरक पर्दैन् ।

नेपालीमा उखान नै छ ‘रिस खाँ आफु बुद्धि खाँ अरु’ । त्यसैले रिस, आवेग वा तनावमा लिइएको निर्णयले तपाईलाई भने समस्या पर्न सक्छ ।

आफ्नो आवेग शान्त नहुञ्जेल केही निर्णय नगर्नुहोस् । आवेग शान्त भएपछि सोच्नुस्, त्यो सेयरको तपाईंलाई आवश्यकता छ/छैन्, त्यसमा केही सम्भावनाहरु छन/छैनन् । अनि मात्र निर्णय गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment