Comments Add Comment

इले, वीरे, एमाले र पिस्कर

संक्रान्ति मानी डाडा है पारी जुन पनि लुकेछ,

अध्याँरो बिच महादेव थानमा बन्दुक भुकेछ

३३ वर्ष पहिले जनवादी गायक जेबी टुहुरेले पिस्करमा भएको दमनको सम्झनामा यो गित गाएका थिए । पिस्कर हत्याकाण्ड भएको ३३ वर्ष पुगेको छ । यो ३३ वर्षमा मुलक पञ्चायती कालरात्री, बहुदलहुँदै गणतन्त्रसमम आइपुगेको छ ।

पिस्कर हत्याकाण्डलेे नेपाली राजनीतिक रङ्गमञ्चमा ओलाङ्गचुङ्गगोलादेखि टिङ्करसम्मका हरेक नेपालीको मुटु दुखाउने हृदय विदारक घाउमा खाटो बस्नु त कता हो कता ! मलमपट्टीसम्म कहिल्यै पाउन सकेन ।

शोषितहरुको सुनौलो सपनाका लागि रगत बगाउनेहरुको आकांक्षा सुकदल खोलाको पहिरो बनेर खसिरहेको छ- निरन्तर । न कसैले सपनाको पहिरोलाई रोक्न सक्यो, न पीडाको आँसुलाई पुच्छन सक्यो ।dinesh-thapa

भनिन्छ, पार्टीको सहिद हुँदैन । माटोको हुन्छ, सहिद । त्यही अमर सहिदको रगतले भिजाएको गाउँ हो, पिस्कर । गरिबी, अभाव, रोग, भोक, अशिक्षाजस्ता मार्मिक पीडा खप्दै समुन्नति र विकासको प्यासी बनेर बाँचिरहेको दुर्गम गाउँ हो, पिस्कर । सिन्धुपाल्चोकको प्रमुख व्यापारिक केन्ऽ बाह्रबिसेबाट करिब ३ घण्टाको हिडाईपछि पिस्कर पुगिन्छ ।

शोषण, उत्पीडन, अन्याय र अत्याचारको जरो किलो उखेल्नको लागि ३३ वर्षअघि नै ब्युँझिएको यो गाउँले परिवर्तन र विकास पाउन सकेको छ भने केवल मोटर नगुड्ने भत्किएको सडक र आफ्नाे आयले नधान्ने बिजुली पाएको छ ।

धेरै २०४० सालमा जन्मिएर अहिले युवा भइसकेका छन् । तर, ती युवाहरु रोजीरोटीको खोजीमा अर्काको भारी बोक्ने, घर बनाउने, पहरा फोर्ने जस्ता कामकोे खोजीमा गाउँ-गाउँ भौंतारिरहन्छन् सँधैभरि ! यो ३३ वर्षको अन्तरालमा काठमाडौंले मात्र होइन, बार्‍हविसे, चरिकोट र लामोसाँघुले समेत काँचुली फेरिसकेको छ । तर पिस्कर ! मुक्ति र उन्मुक्तिका खातिर रगत बगाएर पनि ३३ वर्षअघिको हालत र हविगत अवस्थाबाट गुज्रिरहेको छ ।

राजनीति गर्नेहरुको लागि, भाषण गर्नेहरुको लागि, संगठन निर्माण गर्न हुल जम्मा गर्नेहरुको लागि, भोट माग्ने र चुनाव जित्नेहरुको लागि प्यारो शब्द बन्यो पिस्कर ! झापाको गरामुनिदेखि कञ्चनपुरको चाँदनीसम्म पिस्करका गाथाहरु सुनाइए । सहिदहरुको सम्मानको नाममा मौनधारण गरिए, श्रद्धाञ्जली चढाइए । तर, पिस्करको स्वरुप फेर्ने न खाका बन्न सक्यो, न सहिदको सपनाको सार्थक सम्मानको योजना र कार्यक्रम बन्न सक्यो ।

सोझासीधा थामी जातिले राजनीतिको झोला बोकेरै आफ्नाे केश फुलाए । पार्टीको झण्डा बोकेरै आफूलाई बूढो बनाए । समता समानता र शोषणरहित न्यायपूर्ण समाज निर्माणको अभियानकर्ता बनेर सिङ्गो जिन्दगी बिताउँदा पनि उनीहरुको रित्तो थालमा एक गाँस भात पर्न सकेन, रित्तो पेट छाम्न सकेन, कठ्याङ्ग्रिने जाडोमा पनि एउटा टालो बन्न सकेन उनीहरुको राजनीति । उत्तीसघारी र खर्सुका झाङ्गहरुसँग दिन साट्ने ३३ वर्षअघिकै पृष्ठभूमिमा बाँचिरहेको छ पिस्कर ।

पिस्कर हत्याकाण्डका मूल नाइके भनिएका पशुपति शम्सेर राणालाई सहिदको आलो रगतले पोतिएको कोट लगाएर पटक-पटक सिंहदरबार छिर्ने सौभाग्य सिन्धुपाल्चोकले नै दिएको छ । त्यसो त पिस्करलाई नै युनिभर्सिटी बनाएर राजनीतिका पण्डित बन्न सफल माधव पौडेललाई ललितपुर जिल्लाको सभापति बनायोे ।

त्यस्तै पिस्करको जगमा उभिएर राजनीतिक यात्राको आरम्भ गरेका अमृतकुमार बोहरालाई सांसद, मन्त्री र राष्ट्रिय व्यक्तित्वको रुपमा स्थापित गरिसकेको छ । एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनालदेखि एमालेका चर्चित नेताहरुको भूमिगत कालमा आश्रयको स्थल थियो पिस्कर । तर, पिस्कर अझै दिल खोलेर हाँस्न सकेको छैन, सेवा र सुविधामा बाँच्न सकेको छैन ।

गोलीको वर्षासँगै गाइएका गीतहरु माथिको अर्थपूर्ण सम्बोधनको खोजीमा भौंतारिरहेको छ पिस्कर । हो, पिस्करकै मूलमन्त्र जपेर राजनीतिको सगरमाथा चढ्नेहरुले पिस्करलाई बेवास्ता गरेकोमा चिन्तित देखिन्छन् पिस्करवासीहरु । परिर्वतन र समुन्न्ात समाजको लागि रगत बग्यो, पिस्करमा २०४०मा पञ्चायती शासनब्यबस्थाको अन्तयष्टिका लागि चिहान खने पिस्करबासिले ।

माक्र्सबादको सिद्धान्त बुझेर वर्गसत्रुमाथि प्रहार गर्ने उदेश्यले जनताहरु जागेका थिए/थिएनन् त्यो बिषयको गहन खोज भएका होलान् । तरपनि आजसम्म पिस्करकाण्ड गरीब, शोषण र अत्याचारको स्थानीय जोलो मास्ने अभियानप्रतिमात्र होइन सम्मानपूर्वक जीवन जिउन पनि केन्दि्रत थियो ।

पिस्कर काण्डपछि कम्यूनिस्टको वीउ छरेको थियो पिस्करमा । यो ३३ वर्षे कालखण्डमा पिस्करका थामीहरुले स्थानीय थामी नेतृत्व भने जन्माउन सकेनन् । पिस्करका थामीहरु कहिल्यै नेता बन्न सकेनन्, मात्र कार्यकर्ताको भूमिकामा नै खुम्चिए ।

धेरै वर्षपछि लाजगालले हो वा दबावले पिस्करका लक्ष्मण थामीलाई पहिलो संविधानसभाको निर्वाचनमा एमालले समानुपातिक तर्फ उम्मेदवार बनाएको थियो । तर दुर्भाग्य उनी एक महिनाको लागिमात्र उम्मेदवार भए । उनलाई संविधानसभासद्मा पार्टीले सिफारिस गरेन ।

पिस्करको स्वतन्त्रता संग्राममा ज्यान बलिदान गर्ने इले र विरे त सहितकोटीमा दहरिए नै, उनीहरुको पदचिन्ह पछ्याउने कोही निस्केन । पिस्करकाण्डको ३३ वर्षपछाडि पनि पिस्करबासी राष्ट्रको लागि रगत बगाउन तयार छन् तर त्यो प्रतिवद्धतासँगसँगै उनीहरुको प्रश्न छ, अब केका लागि लड्ने ?

लडाइपछिको व्यवस्थाले पिस्करलाई के दिन्छ ? पिस्कर काण्डले पञ्चायत फाल्न भूमिका खेल्यो, फलत २०४६ सालमा प्रजातन्त्र हुँदै लोकतन्त्र समेत आइसकेको छ । तर प्रजातान्त्रिक कालले पिस्करको मुहारमा कुनै ज्योति छर्न सकेन । पिस्करका थामी समुदायहरुको समस्याहरु वग्रल्ती छन् । पिस्करमा एउटा मावि स्कुल छ तर भवन अभाव छ । स्वास्थ्यचौकी छ तर उपचार पियनले गर्छन । धूलो सडक छ, गाडी गुड्ने संकेत छैन । शैक्षिक अवस्था शून्य छ । सिंगो थामी समुदायबाट एसएलसी पास हुने दुई जनाबाट बढ्न सकेको छैन । बालविबाह प्रथाको कुसस्कार अझै यथावत् छ ।

३३ वर्ष अगाडि पल्कमाया थामी र विर्खमाया थामीहरुले सुखानीको जङ्गल देखेका थिएनन्, इभानको पाखो र माइको बगर नियालेका थिएनन् । खोकु छिन्ताङ्ग, तीनजुरे र हर्रेवर्रेहरु हेर्न भ्याएका थिएनन् सायद । तर शोषणको माखेसाङ्लोले थिलथिलो पारेका जिन्दगीहरु पढेका थिए ।

उत्पीडन र विभेदले बेरिएको अन्यायी समाजका परिणामहरु भोगेका थिए । अनि आफ्नाे कमाइमाथि रजाईं गर्नेहरुले आफैमाथि लात बर्साइरहेको दुःखका श्रृंखलाहरु सङ्गालेका थिए । एकपेट अघाउँदो खाने र शरीर ढाक्ने सपना साँचेका थिए । उनीहरुसँग चन्द्रमा छुने सपना थिएन, कम्प्युटर, इमेल र इन्टरनेट चलाउने महत्वकांक्षा थिएन । हलो जोतेर पसिना बगाउनेहरुको हित हुनुपर्दछ, घन ठोकेर पहरा फोर्नेहरुले खान पाउनुपर्छ ।

ठेला उठेका हातहरुले ठूलाठालुका आलिसान महल मात्र होइन, गरीब र निमुखाको झुपडी सिंगार्न पाउनुपर्छ भन्ने माग थियो उनीहरुको । तर, एक्काइसौं शताब्दीको राज्य, पार्टी र सरकारले उनीहरुकेा ३३ वर्षअघिको मागलाई अहिलेसम्म पनि थाँती राखेको पाउँछन् उनीहरु । गिर्दो अवस्थामा रहेको जीवनस्तरले भन्छ, ‘अझै पिस्कर पञ्चायती कालरात्रीको सकसमा छट्पटाइरहेको छ ।’

२०५२ पछिको माओवादी जनयुद्धले पनि पिस्करलाई उपयोग मात्र गरेको छ । उनीहरुको छोराछोरीलाई बन्दूक बोकाएर माओवादीले आफ्नाे राजनीतिक आकार पनि वृद्धि गरेको छ । बलिदानको नाममा पिस्करका थामीले ज्यान गुमाई सहिदहरुको लाममा आफ्नाे नाम दर्ता गरेको छ । १० वर्षे जनयुद्धमा माओवादीलाई सेल्टर पनि दिएको हो पिस्करले । पिस्करको शत्रु देवीजंग पाण्डेको हत्या गरेर पिस्करवासीलाई राहत पनि दिन खोजेको हो माओवादीले । तर, शोषकको हत्या गरे पनि शोषणको अन्त्य हुन सकेन ।

अन्यायको जालो च्यात्न सकेन । पिस्करको मानेडाँडालाई कुरुक्षेत्र बनाउँदै कौरव पक्षको नेतृत्व गर्ने पशुपति शम्सेरलाई खाँटी राष्ट्रवादी देखेकोमा रुष्ट छन् माओवादीप्रति पिस्करवासीहरु । हिजो अमृत बोहराले पशुपतिसँग हात मिलाएकोमा मात्र होइन, आज राष्ट्रवादीको नाममा प्रचण्डले पशुपति शम्सेरलाई स्यालुट ठोकेकोमा समेत चिन्तित देखिन्छन् पिस्करवासीहरु ।

पञ्चायतकालमा सिस्नोको फाँडो खुवाउँदै थोत्रो फरियाका फेरोहरु ओढाएर बचाएका नेताहरु जिल्ला र राष्ट्र हाँक्न सक्षम भएकोमा गौरव पनि गरेको छ पिस्करले । तर, काठमाडौंका तारे होटलहरुको डिनरसँगै पिस्करको सिस्नु र ढिंडो बिर्सेकोमा चिन्तित छ पिस्कर । मखमली गलैंचा र अग्ला भवनको सेरोफेरोमा रहेर पनि पिस्करका चिसो छिंडी र चुहनिे घरहरु सम्झन सक्नुपर्दछ नेतृत्वले ।

नेपालमा पिस्कर मात्र एउटा गाउँ होइन, जहाँ गरीबहरुको बाहुल्यता छ । शोषणले डसेका अनगिन्ती गाउँ र समुदाय छ नेपालमा । इली र वीरबहादुर थामीले पिस्करलाई मात्र झिलिमिली बनाउने सपनामा प्राण उत्सर्ग गरेको सम्झनु गम्भीर भूल हुनेछ । उनीहरुले तमाम शोषित वर्गको मुक्तिका खातिर आफूलाई मृत्युको मुखमा धकेलेका थिए । त्यसैले पिस्कर त एउटा प्रतिनिधि गाउँबस्ती मात्र हो । विभिन्न आन्दोलनमा मृत्यु हुनेहरुलाई राज्यले शहिदको कोटीमा लामबद्ध गरेको छ तर पिस्कर काण्डाका इले र विरे अहिले पनि राष्टिय शहिद हुन सकेका छैनन् ।

उमेर नपुगी अनुहार चाउरिएका र आयु नसक्दै पोषणको अभावमाअकालमै जीवन गुमाउनेहरुको समूह पनि ठूलो छ मुलुकमा । स्कूल जाने उमेरका डोको, नाम्लो र वनपाखासँग जीवन गुजार्न विवश बालबालिकाहरुको संख्या पनि ठूलै अंकमा पाउँछौं हामी । जीवन धान्नका लागि भारत र अरबी मुलुकतिर पलायन भएका युवाहरुको विशाल जमातले पनि पिस्करकै व्यथा भोगिरहेको छ । त्यसैले नेताहरुलाई धारे हात लगाएर मात्र सहिदहरुप्रति सच्चा सम्मान गरेको ठान्नु गम्भीर भूल हुन सक्छ । पिस्करजस्ता गाउँहरुलाई उज्यालो बनाउनका लागि आ-आफ्नाे ठाउँबाट सार्थक, अर्थपूर्ण, प्रभावकारी र सकारात्मक भूमिका खोज्नु नै प्रत्येक व्यक्तिको नागरिक कर्तव्य हुन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment