Comments Add Comment

जनवादी गायक रामेशको नजरमा कम्युनिष्ट नेता को-कस्ता ?

ramesh-810

गायक तथा संगीतकार रामेश श्रेष्ठले जनताको दुःख र अधिकारको गीत गाउँदै आएका छन् ।

सार्वजनिक मञ्चमा जाँदा उनी कुनै दलविशेष भन्दा पनि जनतालाई नै केन्द्रमा राखेर गीत गाउँछन् । ‘संघर्ष हो जीवन’, ‘आऊ मिलाऔं हाम्रा हातहरु’ जस्ता गीतबाट सबैमा हुटहुटी भर्छन् ।

देशको अवस्था बुझेर गीत गाउने जनवादी गायक रामेशले यहाँका राजनीतिक पात्रहरुलाई कसरी हेर्ने गरेका छन् ? यसबारे जान्न खोज्दा उनी खुलेर व्यक्त भए ।

स्वयम्भूस्थित स्वर्णिम स्कूलमा रहेको सार्थक जन संगीत प्रतिष्ठानको कक्षमा समकालीन नेपाली राजनीतिका कम्युनिष्ट नेताबारे विश्लेषण गर्दै उनले निराशा र आशाको कुरा एकसाथ गरे । उनले भने, ‘हामीले विश्वास गर्ने पात्रहरु नेपालको राजनीतिमा देखिएन । तर, सधैं यस्तै अवस्था त नरहला नि !’

विदेशी शक्ति र प्रचण्ड

रामेशको बुझाइमा एउटै साहुले धेरै वटा पसल खोले जस्तै एउटै शक्तिले थुप्रै पार्टी खोल्न लगाएर देशमा चलखेल गरिरहेको छ ।  ‘एउटै शक्तिले सबैलाई सञ्चालन गर्दो रै’छ’, उनले भने, ‘पाँच वटा दोकान खोल्दिएर कुनैमा एउटा चिजलाई महँगो भन्न लगायो, अर्कोलाई त्योभन्दा सस्तोमा दे न, खत्तम भइहाल्छ भनेर खेलाउने प्रवृत्ति छ ।’

त्यसै अनुसार माओवादी लगायत पार्टीहरु अहिले खेलौना बनिरहेको रामेश बताउँछन् ।

ramesh-shresth3

प्रचण्डले आफ्नो निम्ति पार्टीलाई प्रयोग गरेको टिप्पणी गर्दै उनी विश्लेषण गर्छन्, ‘उनी आफ्नो निम्ति जे पनि गर्न सक्ने मान्छे रहेछन् । अरुलाई प्रयोग गर्न सिपालु र पछिल्लो अवस्थामा आएर विदेशी शक्तिको इशारामा चल्न थाले ।’

प्रचण्डमा कुशल नेतामा हुने गुण नभएको उनको मूल्याङ्कन छ । प्रचण्डले एक दशक लामो द्वन्द्वको औचित्य पुष्टि गर्न नसकेको संकेत गर्दै उनले जनतामा जगाइएको बलिदानी भावना अहिले आएर केही व्यक्तिको निम्ति मात्र रै’छ भन्ने साबित भएको बताए ।

पहिलो संविधानसभा निर्वाचनमा रामेशले माओवादीका लागि भोट पनि मागेका थिए । परिवर्तनकारी शक्ति भएकाले एक पटक भोट दिऔं भनेको उनी बताउँछन् । त्यसबेला आफूले ‘माओवादीले पनि धोका दिएमा जनताले डबल सजाय दिनुपर्ने’ भनेको सम्झँदै रामेश भन्छन्,  ‘अन्तत: यही अवस्था आएको छ ।’ जनताको आशामाथि कुठाराघात हुनुमा उनी प्रचण्डलाई नै कारक मान्छन् ।

प्रचण्ड तत्काल जे विचार आयो त्यही गर्ने अस्थिर चित्तको नेता भएको रामेशको विश्लेषण छ । उनी भन्छन्, ‘मधेसीलाई देख्दा मधेसी उठाउँछन्, पहाडे देख्दा पहाडेलाई उठाउँछन् । मन्दिरमा गयो भने ढोग्छन्, बाहिर आएर हामी कम्युनिष्ट त नास्तिक हौं भन्छन् ।’

बाबुराम भट्टराई र शक्तिहीनता

बाबुरामको विश्लेषण गर्नुअघि उनले रमाइलो प्रसंग सुनाए ।

‘मैले कुनै बेला अन्तर्वार्ता दिँदा अहिलेसम्मका कुनै पनि दलले देश र जनताको लागि काम नगरेकोले देशमा अब नयाँ शक्ति चाहिन्छ भनेको थिएँ । बाबुराम त फ्याट्टै नयाँ शक्ति पार्टी लिएर आउनुभयो । कतिपयले मलाई तपाईंले भनेको नयाँ शक्ति यही हो कि क्या हो भनेर पनि सोधे । हा.. हा.. हा.. ।’

तर, आफूले खोजेको नयाँ शक्ति त्यस्तो नभएको उनले सुनाए । नाममा मात्र नयाँ शक्ति भएको भन्दै उनले भने, ‘बाबुरामलाई पढेलेखेलेको र भिजन भएको नेता भन्छन् । तर, कस्तो भिजन हो, हामीले देखेनौं । हामीले त भाषण मात्र सुन्यौं ।’

उनले प्रश्न गरे, ‘उनीहरुको कुरामा कति लटपटिने हो ?’

गफले मात्र जनतालाई विश्वास नहुने, काम गरेर देखाएपछि मात्रै पत्याउने आधार हुने उनी बताउँछन् । बाबुरामको समूहले देशमा केही गर्न नसक्ने उनी ठोकुवा गर्छन् । विगतमा र्फकंदै उनी विश्लेषण गर्छन्, ‘बाबुराम प्रधानमन्त्री हुँदा हिसिलाजीले जुन प्रकारको रोल खेल्नुभयो, त्यही नै सबभन्दा दुःखद कुरा थियो ।’

मान्छेहरु पार्टी छोड्दै हिँड्नुले नै नयाँ शक्तिको शक्ति झल्काएको उनले टिप्पणी गरे । अमुक पार्टी र नेताले केही गर्छ भन्ने लागेमा जनता उसको पक्षमा उठ्न बेर नलाग्ने उनको धारणा छ ।

ramesh-shresth1

मोहन वैद्यलाई क्रान्ति भनेकै थाहा छैन

क्रान्तिकारी कुरा गरे पनि मोहन वैद्य क्रान्तिको अर्थ नबुझ्ने नेता हुन् भन्ने रामेशको टिप्पणी छ ।

मूल माओवादीबाट फुटेर आफू चाहिँ साँचो अर्थमा माओवादी सिद्धान्तमा हिँड्ने र सर्वहाराको रक्षक भनेर दाबी गरे पनि वैद्यले सर्वहाराको लागि के गरे भनेर उनी प्रश्न गर्छन् ।

पार्टीबाट फुट्दा पनि अवसर नपाएर मात्र फुटेको उनको बुझाइ छ । ‘सम्पत्ति प्रचण्डहरुले मात्र थुपारे, हाम्रो भागमा केही नपरेर बाँच्न गाह्रो पर्‍यो भन्दै उनीहरु रिस, डाहा र ईष्र्याले फुटेका हुन्, यो त उनीहरुकै व्यवहारबाट हामीले देखिरहेका छौं’, उनले भने ।

वैद्यमा क्रान्तिकारिता पनि उनी देख्दैनन् । मूल पार्टीले छोडेको क्रान्तिकारी धार आफूले बचाएको दाबी गरे पनि क्रान्ति भनेको परिवर्तन भन्ने कुरा नबुझेकैले त्यो समूहको केही काम नदेखिएको रामेश बताउँछन् । ‘क्रान्तिकारिता छ भने त कामबाट त्यो देखाउन सक्नुपथ्र्यो’, उनले भने, ‘उनीहरु स्वयंसेवक दल बनाएर जनतालाई सेवा गर्न सक्थे । गाउँघरमा जनतालाई कति दुःख र अभाव छ ।’

केपी शर्मा ओलीको विवेक आयो

एक समय झापाली माले पार्टीमै आबद्ध भई पार्टीका लागि जनवादी गीत गाएका उनी नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पछिल्लो समयमा चेत आएको नेता मान्छन् ।

पहिले देशको स्रोत-साधन भारतीय हितमा पार्न दौडिएका नेता (ओली) अहिले त्यही भारत विरुद्ध अडान राख्नु उदाहरणीय भएको उनको ठम्याइ छ ।

ओलीले राष्ट्रियताको बारेमा लिएको अडान सकारात्मक रहेको र त्यही भएर राम्रो कुरामा जनताले पनि साथ दिएको उनले बताए । ‘उनको पार्टी एमाले पनि यही अडानमा गएकोले अहिले एमालेप्रति जनताको अलिकति नरम भावना छ’, गायक रामेशले भने ‘अब पछि के गर्ने हुन्, त्यो त हेर्नै बाँकी छ ।’

तर, सँगै त्यो पार्टीभित्र लोभी-पापीहरुको झुन्ड पनि रहेकोले शुद्धीकरण नगरेमा भोलि पार्टीलाई नै सिध्याउने उनी चेतावनी दिन्छन् ।

चित्रबहादुर केसीले ठीक गरेका छन्

केसीको अडान पनि आफ्नो ठाउँमा ठीक देख्छन् रामेश ।

राष्ट्रियताको निम्ति संघीयता र धर्मनिरपेक्षताको विरोध गरेको उनलाई चित्त बुझेको छ ।

यो संघीयता नै चाहिँदैन, पाँच विकास क्षेत्रलाई नै प्रदेशको रुपमा शक्ति विकेन्दि्रत गरेर त्यहीँका जनतालाई मालिक बनाउने केसीको विचार विवेकसम्मत मान्छन् उनी । ‘धर्मनिरपेक्षता ल्याएर धार्मिक रुपले नेपालीहरुलाई इसाईकरण गर्ने जुन प्रवृत्ति छ, त्यसको विरोधमा उत्रेर उनले ठीक गरेका छन्,’ उनले भने ।

पार्टीको रुपमा राष्ट्रिय जनमोर्चालाई नमाने पनि व्यक्तिगत रुपमा केसीलाई हामीले मान्नुपर्ने उनको राय छ ।

ramesh-shresth2

सीपी मैनाली बोल्छन् मात्रै

‘अनि सीपी मैनाली चाहिँ कस्ता नेता हुन् नि ?’

एक समय झापाली मालेमा जनवादी कलाकार भएर पार्टीलाई उकास्न कस्सिँदा सँगै रहेका नेताबारे रामेशले आग्रही भाव राखेनन् ।

मैनालीले बोले अनुसार काम गर्न नसकेको उनको आकलन छ ।

‘उनले गर्न चाहिँ खोजेको हो, बोल्न चाहिँ बोल्छन् । तर, जनताको मान्छे हो भने त कामले पो देखाउनुपर्‍यो त,’ यी नेताबारे रामेशको मूल्यांकन छ ।

नेताहरुमा बढ्ता बोल्ने रोग रहेको दोहोर्‍याइरहे उनले । बोले अनुसार गर्न सकिएन भने त्यसको केही अर्थ नरहने उनले बताए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ र एक गाग्री पानी

रामेशको नजरमा विप्लव वर्गीय कुरा गरेर जनता भुल्याउने नाटक गर्ने नेता हुन् ।

विप्लवको कर्मबारे उनको एक लाइन छ, ‘नेपालीहरुको सुखको कुरा गर्ने अनि नेपाल बन्द गर्ने ।’

‘नेपाल र नेपालीको हितको कुरा गरे पनि त्यसको लागि केही गरेको देखिँदैन’, विप्लव समूहबारे उनको विश्लेषण छ, ‘जनताको नाममा जनतालाई नै दुःख दिएका छन् । कर्मले नै जनता मारिराखेका छन् ।’

वर्गीय कुरा गरे बन्दमा उनीहरुले निम्न वर्गीय मान्छेलाई नै सताएको उनले देखेका छन् ।

‘उनीहरुले बन्दमा कुन वर्गको मान्छेको ट्याक्सी जलाए ? गरिबको ट्याक्सी जलाएर, आत्मा रुवाएर, परिवारलाई बिजोग बनाएर कस्तो क्रान्ति भयो त्यो ?’ उनले प्रश्नमाथि प्रश्न गरे ।

क्रान्ति भनेको परिवर्तनको सानो रुपमा भए पनि देखिनुपर्ने उनको मान्यता छ ।

उनले भने, ‘गाग्रीको पानी कस्तो छ भनेर थाहा पाउन एक थोपा पानी जाँचे पुग्छ, पूरै समुद्र र पोखरी उठाएर प्रयोगशालामा लगिँदैन ।’

सोही अनुसार को कस्तो छ र जनताको पक्षमा छन् कि छैनन् भनेर उनीहरुको व्यवहारबाटै थाहा हुने उनले टिप्पणी गरे ।

कम्युनिष्टको भविष्य

कम्युनिष्ट नेताहरुको रुप-रेखा सरसर्ती केलाइसकेपछि रामेशलाई सोधियो, नेपालमा कम्युनिष्टको भविष्य कस्तो छ ?

उनले कम्युनिष्ट नेताहरुमा रहेको अस्थायी चरित्र औंल्याउँदै जवाफ दिनु उचित सम्झिए । त्यो चरित्रबारे उनले धाराप्रवाह भने, ‘सबै आफूलाई कम्युनिष्ट भन्छन् । जबसम्म नेपालमा कम्युनिष्टप्रति आस्था राख्ने जनता हुन्छन्, तबसम्म यिनीहरु आफूलाई कम्युनिष्ट भन्छन् । भोलि कम्युनिष्टप्रति जनताको आस्था खुइलिनासाथै यिनीहरु नै म कम्युनिष्ट त हैन है भन्न थाल्छन् ।’

जनताको लागि काम गरेमा कम्युनिष्टको भविष्य राम्रै हुन्थ्यो होला भन्ने उनको आकलन छ ।

तर, कम्युनिष्टको हँसिया-हथौडा जडित लाल झण्डा नै बदनाम भएकोले स्थिति चुनौतीपूर्ण देख्छन् । ‘जुन काम पञ्चायतले गर्‍यो, त्यही काम यिनीहरुले गरे’, कम्युनिष्टको खुइलिँदो साखबारे उनले भने, ‘जुन शाही राजालाई गाली गर्थे, यिनीहरुले पनि झण्डाको नामबाट त्यस्तै कुकर्म गरेकोले झण्डा त बदनाम भइसक्यो अब ।’

यस्तो अवस्थामा उनको प्रश्न छ, ‘अब यिनको विश्वास कसले गर्ने ? यिनीहरुलाई कसले साथ दिएर भविष्य राम्रो होला त अब ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment