Comments Add Comment

शिक्षकको तलबबाट जग्गा, सञ्चय कोषले भवन

एउटा सरकारी स्कुलको पुनर्जीवन कथा

bagiswori-school-2
३ माघ, काठमाडौं । निजी स्कुलहरुले एकपछि अर्को राम्रो नतिजा ल्याइरहेका बेला सरकारी स्कुलहरुले भने दिन प्रतिदिन विद्यार्थी गुमाइरहेका छन् । कतिपय सरकारी स्कुलमा त जति कक्षा कोठा छन्, त्यति नै विद्यार्थी हुने अवस्थासमेत आइरहेको छ ।

एक समय भक्तपुर च्यामासिंहको वागीश्वरी स्कुलको अवस्था पनि यो भन्दा फरक थिएन । तर, अहिले यो विद्यालयको कथा फेरिएको छ । बागेश्वरी आफैंले नयाँ जीवन त पाएको छ नै, नजिकै रहेका अरु सामुदायिक स्कुललाई पनि जीवनदान दिन लागेको छ ।

यसमा स्कुलमा कार्यरत सबै प्रशंसाका पात्र हुन् नै, मुख्य श्रेय भने कृष्णप्रसाद धन्छालाई जान्छ ।

***

अनलाइनखबरको टोली च्यामासिंहस्थित स्कुलमा पुग्दा प्रधानाध्यापक धन्छा स्टाफहरुसँग छलफलमा व्यस्त थिए । सामुदायिक विद्यालयको पढाइको गुणस्तर खस्किरहेका बेला वागीश्वरी गरेको प्रगतिबारे कुराकानी सुरु गर्नुअघि प्रधानाध्यापक धन्छाले आफ्नो स्कुलले वरपरका सामुदायिक विद्यालयलाई समेत कसरी सुधार गरिरहेको छ भन्ने सुनाए ।

krishna-prasad-dhancha
वागीश्वरी नजिकै चण्डेश्वरी निमावि छ । सो स्कुलमा ०६१/०६२ मा विद्यार्थीको संख्या शुन्यमा पुगिसकेको थियो । चण्डेश्वरी विद्यालयलाई जोगाउन वागीश्वरीको आफ्ना केही शिक्षकहरुलाई त्यहाँ पठायो र, त्यहाँ केही शिक्षकहरुलाई बागीश्वरीमा ल्याएर विद्यार्थीलाई कसरी सिकाउन सकिन्छ, सामुदायिक विद्यालयले कसरी निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा व्यवहारिक रुपमा सिकायो ।

अहिले चण्डेश्वरी निमावि सामुदायिक विद्यालयमा करिब २ सय विद्यार्थी अध्ययनरत छन् । बागीश्वरीका प्रधानाध्यापक धन्छा भन्छन्, ‘अहिले त्यहाँको सिकाइको गुणस्तर सुधि्रएको छ । त्यहाँ प्रि-नर्सरीमा मात्रै ६० देखि ७० जना विद्यार्थीहरु छन् ।’

यतिमात्र होइन, आर्थिक बर्ष २०७०/०७१ मा जिल्ला शिक्षा कार्यालय भक्तपुरले वागेश्वरी स्कुल नजिकैको सिद्धीशारदा प्राविलाई वागेश्वरीमा गाभ्न पत्र पठायो । सिद्धि शारदा प्राविमा विद्यार्थी संख्या शून्य भएपश्चात त्यहाँको सम्पत्ति समेत वागीश्वरीले प्रयोग गर्नेगरी मर्ज गर्ने पत्र आयो, तर वागीश्वरीले मानेन ।

बरु स्कुलले उल्टै जिल्ला शिक्षालाई पत्र लेखेर भन्यो, मर्ज होइन, स्कुल सुधार्नु पर्छ । तिमी सक्दैनौं भने हामीलाई यो जिम्मा देऊ । प्रधानाध्यापक धन्छा गत वर्षको त्यो घटना स्मरण गर्दै भन्छन्, ‘जिल्ला शिक्षाले विद्यालय सुधारदेऊ भन्यो ।’

त्यसपश्चात वागीश्वरीले त्यहाँका शिक्षकलाई आफ्नो विद्यालयमा ल्याएर अध्यापन विधी र तरिका सिकायो । नयाँ भर्ना सुरु भएपश्चात वागेश्वरीमा आएका विद्यार्थीलाई लगेर सिद्धि शारदा प्राविमा भर्ना गरिदियो, आफ्नै केही शिक्षक पनि खटायो ।’

पहिलो वर्ष करिब ६० जना भर्ना भएको यो स्कुलमा अहिले १२० जना विद्यार्थी अध्ययनरत छन् । अहिले वागेश्वरीले २ जना बाहेक आफ्नो शिक्षक फिर्ता बोलाएको छ । र, सिद्धिसारदाकै शिक्षकबाट अध्ययन अध्यापन गराइरहेको छ ।

‘सकेसम्म नजिकको सामुदायिक स्कुल ब्युँताउन कोसिस गरिरहेका छौं’ वागेश्वरीका प्रधानाध्यापक धन्छा भन्छन्, ‘शिक्षा विभागले मर्‍यो भनेको विद्यालयलाई १/२ बर्षमै सशक्त विद्यालयको रुपमा देखाइदिएका छौं, यसमा हामीलाई गर्व लाग्छ ।’

आफैं झण्डै मरिसकेको थियो वागेश्वरी

अहिले एकपछि अर्को सामुदायिक स्कुलहरुलाई जीवनदान दिइरहेको वागेश्वरी आफैं कथा पनि एक समय त्यस्तै थियो । ०४१ सम्म प्रस्तावित मावि रहेको यो स्कुल २०५८ सालसम्म पुग्दा उच्चमाविसम्म भयो । तर, प्राथमिक तहमा विद्यार्थीको संख्या भने घट्दै गएर झण्डै शून्यको हाराहारीमा पुगिसकेको थियो ।

माथिल्लो कक्षाहरुमा त विद्यार्थी ठीकै थिए । प्राथमिक तहमा लगातार आरोलो लागिरहेको थियो । अवस्था यस्ता आयो कि एल केजीमा मात्र ७ जना विद्यार्थी भए ।

तर, ०६६ सालबाट सुरु भएको सुधार अभियानले छोटो समयमा नै ठूलो फड्का मारेको छ । र, यो शैक्षिक सत्रमा त्यही कक्षामा ९८ जना बालबालिका अध्ययनरत छन् र उनीहरुलाई तीन सेक्सनमा विभाजन गरिएको छ ।

कसरी सम्भव भयो यो सुधार ? हेडसर धन्छा भन्छन्- सबै शिक्षकको साझा प्रयासबाट यो सम्भव भएको हो ।’

अहिलेका हेडसर धन्छा त्यतिबेला सहायक हेडसर थिए । सबै शिक्षकहरु सहभागी स्टाफ मिटिङमा अब विद्यालय डुब्नै आँट्यो केही गर्‍यौं भन्ने चर्चा भयो । त्यो दिन स्मरण गर्दै धन्छाले अनलाइनखबरसँग भने, ‘मन्टेश्वरी विधिबाट पढाउने र प्राथमिक तहबाटै क्रमशः सुधार गरेर जाने निर्णयमा पुग्यो ।’

नयाँ विद्यार्थीको भर्ना नगन्य बन्दै थियो । मन्टेश्वरी विधिबाट कक्षा सुरु गर्न निजी स्रोतका शिक्षकहरु थपियो ।

भौतिक पूर्वाधारमा पनि सुधार भयो, बच्चाहरुका लागि खेलौना किनियो । स्कुलले विद्यार्थीका लागि खाजाको व्यवस्था लियो । र, ब्रोसर बोकेर शिक्षकहरु घरदैलो अभियानमा निस्किए ।

उनीहरुले अभिभावकसँग भने, मन्टेश्वरी विधिबाट पढाउँछौं । पुरै अंग्रेजी भाषामा पढाउने हो । तपाईँका छोराछोरीलाई हामी कम खर्चमा राम्रो शिक्षा दिन्छौं ।’

तर, पहिलो वर्ष खासै उत्साह आएन । उनी भन्छन्, त्यतिबेलै एउटा कक्षामा २० जनाभन्दा बढी विद्यार्थी भर्ना नगर्ने र एउटा कक्षमा दुई जना शिक्षक र एकजना हेरचाह गर्ने कर्मचारी राख्न थालियो । शैक्षिक सामाग्री, कक्षाकोठाको डेकोरेशन समेत आकर्षक बनाउनुका साथै कक्षालाई मौसम अनुसार तातो र चिसो राख्ने प्रविधि जडान गरियो ।

यतिले मात्रै पुगेन । विद्यालयको पढाइप्रति अविभावकको विश्वास जगाउनु थियो । त्यसका लागि विद्यालयले उक्त विद्यालयका सबै शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा त्यही स्कुलमा भर्ना गर्नुपर्ने अभियान चलाए ।

विडम्बना, सरकारी स्कुलमा छोराछोरी पढाउनुपर्छ भन्ने डरले केही निजी स्रोतका शिक्षकहरुले जागिरै छाडे । स्थायी दरबन्दीका केही शिक्षक पनि सरुवा भएर अन्यन्त्रै गए । तर धन्छाको टिमले हार मानेन । लगातार लागिरहे ।

उनी भन्छन्, ‘हामीलाई जसरी भए पनि शिक्षकका छोराछोरीहरु पनि त्यहीँ पढ्छन् र पढाइ राम्रो छ भन्ने सन्देश अविभावकलाई दिनु थियो ।’ नभन्दै यसको प्रभाव विस्तारै देखिन थाल्यो ।

भिडियो

विसं. ०६८ सालबाट क्रमश विद्यार्थी संख्या बढ्दै गयो । सुधार अभियानसँगै प्राथमिक तहमा थालिएको अंग्रेजी माध्यमको पढाइ ०७० सालबाट पुरै विद्यालयमा लागू भएको छ । त्यसपछिका एसएलसी परीक्षामा वागेश्वरी उच्च माविबाट करिब सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । वागेश्वरीबाट एसएलसी दिने विद्यार्थीले ९२ प्रतिशतसम्म अंक ल्याएका छन् ।

वागेश्वरीको सफलताको कथा यतिमा मात्रै सकिएको छैन । ६/७ वर्षअघि विद्यार्थीहरु भर्ना हुनै छाडेको यो स्कुलमा अहिले विद्यार्थी संख्या ३ हजार ३ सय ७६ जना पुगेको छ ।

भर्नाका समयमा मेरा बच्चा जसरी पनि भर्ना लिइदिनु पर्‍यो भनेर आउनेहरुको कमी छैन । तर, प्रवेश परीक्षामा उत्तीर्ण नभएकाहरुलाई भर्ना लिने गरिएको छैन ।

विद्यालयले शिक्षकहरुलाई विभिन्न संघ संस्थाको सहयोगमा शिक्षण सिकाइ तालिमहरुमा पठाउने गरेको छ । र, शिक्षण विधिमा स्वीकृत भएका नयाँ विधिहरु अपनाएको छ । हामीले प्रधानाध्यापक धन्छासँग कुराकानी गरिरहँदा ३२ जना शिक्षक जावलाखेलमा नयाँ शिक्षण विधि सिक्न ५ दिने तालिममा व्यस्त थिए ।

वागीश्वरी माविले खुल्ला मावि र उच्चमाथिका पढाइ कक्षाहरु समेत सञ्चालन गर्न थालेको छ । नियमित स्कुल आउन नसक्ने विद्यार्थीहरुलाई साँझ २ घण्टा पढाउने गरिएको छ । यो खुल्ला विद्यालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन् ।

यो स्कुलको अर्को विशेषता भनेको नो बन्दहड्ताल पनि हो । कुनै पनि निहुँमा हुने वन्द हड्तालमा वागीश्वरीलाई छुँदैन, पढाइ चलिरहन्छ । यतिसम्म कि सरकारले दिने अचानक सार्वजनिक विदामा पनि स्कुल सञ्चालन हुने गरेको छ ।

ल्होसार, भोटो देखाउने जात्रा, क्रिसमस जस्ता विदाहरु मान्ने नगरेको धन्छा बताउँछन् । उनी भन्छन्, क्यालेण्डरमा उल्लेख भएको बाहेकको विदा स्वीकार गर्दैनन् । जबसम्म स्कुलबाट विदाको सूचना जाँदैन, विद्यार्थीहरु स्कुल आउँछन् ।’

वागीश्वरी यसअर्थमा पनि पृथक छ । जहाँ विद्यार्थीहरुलाई किताबी ज्ञानमात्र होइन, देशको राजनीतिक घटनाबारे समेत जानकारी गराइन्छ । हेडसर धन्छा भन्छन्, सकेसम्म राष्ट्रिय स्वाधीनतामा आधारित रहेर विद्यार्थीको शैक्षिक विकास गरिरहेका छौं ।’

अनि शिक्षकको तलबबाट जग्गा किन्यौं

bagiswori-school-1

झण्डै मरिसकेको विद्यालयले जाएको सफलता र पुनर्जीवनको कथा जति लोभलाग्दो छ, त्यससँगै केही पीडाहरु पनि छन् । विद्यालय सुधार र सुदृढिकरण अभियान चल्दै गर्दा आर्थिक अभावले पिरोल्न थाल्यो । कक्षाकोठा थप्न जमीन थिएन । घडेरी किन्न पैसा थिएन । विद्यालयले त्यसका लागि केही संघ संस्था र सरकारी निकायसँग सहयोग पनि माग्यो । तर, हात लाग्यो शून्य ।

निकै जोसिँदै धन्छा भन्छन्, अन्त्यमा शिक्षकहरुकै चौमासिक निकासा रकम घडेरी किन्न लगानी गर्‍यौं ।’

शिक्षकहरुले आफ्नो तलब स्कुलको जग्गा किन्न दिए त ? प्रधानाध्यापक धन्छाका अनुसार केही समयका लागि ऋणका रुपमा तमसुक गरेपछि करिब ४० लाख पैसा उठ्यो । यसले जग्गा त मिल्यो तर, भवन बनाउन फेरि पैसा पुगेन । हेडसरले तिनै शिक्षकसँग अर्को तमसुक गरे, शिक्षकहरुको सञ्चयकोषको पैसासमेत ऋण सापटी लिने ।’

धन्छा भन्छन्, स्कुल सुधार्ने सबैको साझा अभियान थियो । त्यसरी शिक्षकको सञ्चयकोषबाट ६० लाख ऋण लिएर भवन बनायौं ।’ व्यवस्थापन समितिले उच्च माविका विद्यार्थीले तिरेको पैसा प्राथमिक तहको विद्यालय सुधार गर्न खर्च गर्ने निर्णय गर्‍यो ।

उनी भन्छन्, सार्वजनिक विद्यालय सुधार्न सकिन्छ भन्ने अठोट लिएर अगाडि बढ्नुपर्छ, हामीले गरेको त्यति हो ।’

कुराकानीको अन्त्यमा वागेश्वरीका हेडसर धन्छाले भने, निजी स्कुल बन्द गराएर होइन, उनीहरुसँग प्रतिस्पर्धा गरेर सामुदायिक स्कुललाई बलियो सामुदायिक संस्थाका रुपमा अगाडि बढाउन सकिन्छ । यसका लागि स्वार्थविहीन अठोट भए पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment