Comments Add Comment

नेपालमा क्यान्सरको उपचार: हामी कहाँ छौं ?

नेपालीको औसत आयु ७० पुगेको समाचारले हाम्रो स्वास्थ्य सेवामा सुधार आएको देखाउँछ । आजकल झाडा पखाला, मलेरिया, टिबी आदि रोगहरू धेरै जसो अवस्थामा नियन्त्रणमा आउँछन् । उच्च रक्तचाप, मुटु रोग, सुगर रोगहरूका निकै आस लाग्दा औषधीहरू आएका छन् ,जसले गर्दा यी रोगहरू ज्यान लिने रोगबाट बिस्तारै दीर्घ रोग भएका हुन् ।

डा. आविस अधिकारी
डा. आविस अधिकारी

अहिलेको स्वास्थ्य विज्ञानको प्रगति हेर्ने हो भने सयौं प्रकारका क्यान्सरहरू मध्ये केही क्यान्सरहरू निको हुन थालेका छन् , धेरै जसो क्यान्सरहरू नियन्त्रणमा राखेर दीर्घ रोग जस्तै हुन थालेका छन् भने केही क्यान्सरहरू अझै पनि ‘ज्यान लिने क्यान्सर’ भनेर चिनिन्छन् ।

भर्खरै प्रकाशित एउटा अध्ययन अनुहार हामी मध्ये ४० प्रतिशतलाई कुनै उमेरमा पुगेर क्यान्सर हुनेछ । महिलामा केही कम (३७.८%) र पुरुषहरूमा अलि कति बढि (४३.३%) रोग लाग्ने सम्भावना भएको क्यान्सरको उपचार जटिल छ, महँगो छ; समय मै पत्ता लगाउन सकिएन, उपचार गर्न सकिएन भने मृत्युको कारण बन्छ ।

यो अमेरिकाको डाटा हो, हामी कहाँ यो अझै बढी छ सायद, किन भने हामीकहाँ धेरै मान्छेले चुरोट, खैनी सेवन गर्छन्, हामीले खानेकुरामा विषादी प्रयोग बढि हुन्छ र हामीकहाँ क्यान्सर हुन नदिने गरि उपचार गर्ने सुविधा नै छैन ।

पश्चिमी देशहरूमा ७०% क्यान्सरका बिरामीहरूले त्यो डरलाग्दो रोगलाई जितेर अगाडि बढ्छन्, हाम्रोमा यो पनि निकै कम छ —न त हामी कहाँ क्यान्सरको उपचारलाई पुग्ने अस्पताल छन् न त पुग्ने गरी विशेषज्ञ नै । ३ करोडको जनसङ्ख्याको लागी ३० जना जति क्यान्सर रोग विशेषज्ञले कसरी पुग्थ्यो र ?

क्यान्सरको उपचारमा लगानी गर्न सरकार कहिल्यै अगाडि आउन सकेन, सायद उसको प्राथमिकताबाट जीवनजल र सिटामोल हट्नै सकेन । नेपालका दुई क्यान्सर अस्पतालहरू, भक्तपुर र भरतपुरमा थोत्रा भएका मेसिन छन् जसले ‘कानो मामा’ बनेरै भए पनि सक्दो गरेका छन् । नेपालमा क्यान्सर उपचारको लागी नभइ नहुने मेसिन (लिन्याक) भरतपुर क्यान्सर अस्पतालको लागी किनिएको नै १५ वर्ष नाघ्यो । त्यस पछि सरकारले क्यान्सर उपचारलाई फर्केर हेरेन । किनिएका ती २ मेसिन पनि अहिले जीर्ण भएका छन् —छिन् मै बन्छन् छिन् मै बिग्रिन्छन् र त्यही बन्ने र बिग्रिने क्रममा बिरामीको स्वास्थ्य पनि अड्किएको हुन्छ ।

निजी अस्पतालहरूले क्यान्सरको उपचारको लागि केही पहलहरू गरेका छन् । केही महिना अघि खुलेको काठमाडौं क्यान्सर सेन्टरले सयौं बिरामीको उपचार गरिसक्यो, हरिसिद्धिमा निकै आशा लाग्दो क्यान्सर अस्पताल खुलेको छ, अहिले सम्‍मकै सबैभन्दा राम्रो उपचार गर्न सकिने गरी विज्ञहरूको टोली छ , भर्खरै लिन्याक मसिन आएकाले रेडियोथेरापी पनि सुरु भएको छ । स्वास्थ्य मन्त्री गगन थापाले काठमाडौं बाहिर पनि नयाँ क्यान्सर अस्पतालहरू खोल्न मद्दत गर्छु भन्नुभएको छ रे । खुलेको दिन नेपालमा क्यान्सर उपचारको लागी एउटा अर्को महत्वपूर्ण दिन हुनेछ ।

हरेक हप्ता नयाँ औषधीहरू आउँदैछन् , हरेक नयाँ औषधीले हामीलाई अलिकति मात्र भए पनि अगाडि लगिरहेका छन् । म आशावादी छु, कुनै दिन यस्तो औषधी आउने छ जसले क्यान्सरलाई सदाका लागी दीर्घ रोग बनाइदिनेछ ।

तर, त्यो दिन नआउँदा सम्म हामीले पनि दुनियाँ सँग-सँगै हिँड्न जरुरी छ । नेपालमा कसैलाई पाठेघरको क्यान्सर हुन्छ भने उनले पनि उत्तिकै निको हुने सम्भावना पाउनु पर्छ, जति एक जना वेलायतमा भएकी महिलाले पाउँछिन् । त्यसका लागी थप क्यान्सर अस्पताल, थप क्यान्सरका डाक्टर र स्वास्थ्यमा सरकारी लगानी बढाउन जरुरी छ ।

(लेखक क्यान्सर बिशेषज्ञ हुन् र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी काठमाडौंमा कार्यरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment