Comments Add Comment

परीक्षाका लागि अधिकृत तहका अधिकांश कर्मचारी विदामा

loksewa-aayog-psc

३ माघ, काठमाडौं । लोकसेवा आयोगको परीक्षा तयारीका लागि भन्दै सरकारका अधिकांश अधिकृत तहका कर्मचारीहरु विदामा बसेका छन् । कर्मचारी विदामा बस्दा मन्त्रालयदेखि कतिपय कार्यालयको नियमित सेवा प्रवाहमा समेत असर परेको छ ।

लोकसेवा आयोगले निजामती सेवाभित्रका बिभिन्न सेवा समूहमा उपसचिव तहका लागि परीक्षा लिइरहेको छ । उक्त परीक्षामा सहभागि हुन शाखा अधिकृतमा प्रवेश गरेको पाँच वर्ष पूरा भएका सबैजसो कर्मचारीहरु विदामा बसेका हुन् ।

अहिलेसम्म न्यायसेवा समूहको परीक्षा सकिएको छ । सोमबारबाट परराष्ट्र सेवामा उपसचिवका लागि परीक्षा भैरहेको छ । यस्तै मंगलबारबाट प्रशासन सेवा अन्तर्गतको उपसचिवका लागि परीक्षा हुँदैछ । यसरी विभिन्न समूह अन्तर्गतको उपसचिवका लागि भैरहेको परीक्षामा भाग लिन अधिकृत तहका कर्मचारीहरु धमाधम विदामा बस्न थालेका हुन् ।

सबै सेवा समूहको परीक्षा सकिँदा करिब माघ महिना सकिनेछ । परीक्षाको तयारीमा विदामा बसेका एक अधिकृतले भने, ‘कुनै एक तहमा प्रवेश गरेपछि कार्यसम्पादनमा आधारित बढुवा प्रणाली भए यस्तो समस्या हुँदैनथ्यो, परीक्षा दिइएन भने बढुवा नै हुन्न के गर्ने ?’

ती अधिकृत १५ दिनको विदामा छन् । यसरी अधिकांश कर्मचारी कार्यालयको नियमित कार्यसम्पादन छाडेर विदा लिएर परीक्षाको तयारीमा जुटेका हुन् ।

यस्तै करिब डेढ महिनाअघि सबै मन्त्रालय र कार्यालयका अधिकांश उपसचिव तहका कर्मचारीहरु यस्तै लामो विदामा बसेका थिए । लोकसेवा आयोगले लिएको सहसचिवको परीक्षाका लागि उनीहरु विदामा बसेका थिए । करिब एक महिना लामो विदाबाट उपसचिवहरु फर्किए लगत्तै अधिकृतहरु विदामा बसेका हुन् ।

अब सुब्बाको पालो

यस्तै लोकसेवा आयोगले उपसचिवको परीक्षा सकिएलगत्तै अधिकृत तहका लागि परीक्षा तोकेको छ । अधिकृत तहको परीक्षाका लागि अधिकांश कार्यालयमा नायबसुब्बा तहका कर्मचारीहरु विदामा बस्न थालिसकेका छन् भने केही बस्ने तयारीमा छन् ।

यसरी लोकसेवाको परीक्षामा भाग लिन भन्दै एक बर्षमा करिब ६ महिनासम्म कर्मचारीहरु विदामा बस्ने गरेको सामान्य प्रशासन मन्त्रालय स्रोतले बताएको छ ।

मन्त्रालयका एक अधिकारीले भने, ‘सुरक्षा निकायहरुमा जस्तै एकपटक सेवा प्रवेश गरेपछि कार्यसम्पादनका आधारमा बढुवा प्रणाली आत्मसाथ नगर्दासम्म कर्मचारीहरु लामो बिदामा बस्ने र कामकाज प्रभावित हुने क्रम निरन्तर चलिरहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment