Comments Add Comment

युएईका ऊर्जामन्त्रीले भने- नेपालको हाइड्रोमा लगानी गर्छौं

uae-urja-minister

३ माघ, अबुधावी । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई)का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीलाई आग्रह गरेका छन् । युएईका ऊर्जामन्त्री मजौरीले पनि नेपालमा हाइड्रो पावरमा लगानी गर्न आफूहरु इच्छुक रहेको बताएका छन् ।

वर्ल्ड फ्युचर इनर्जी समिट २०१७ मा भाग लिन युएई पुगेका ऊर्जामन्त्री शर्माले समकक्षी मजौरीलाई अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा पुगेर भेटवार्ता गरेका थिए ।

करिब ४५ मिनेट भएको भेटमा मन्त्री शर्माले कम्तीमा आगामी एक सय वर्षसम्मको लागि नेपालमा हाइड्रो पावर विकासको राम्रो सम्भावना रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न युएई सरकारलाई आग्रह गरेको उनका स्वकीय सचिव बसन्तराज शर्माले जानकारी दिए ।

हाइड्रो पावरका अतिरिक्त नेपालमा कृषि र पर्यटनमा लगानी गर्न आफूहरु इच्छुक रहेको मन्त्री मजौरीले बताएका थिए । त्यसको लागि दुवै पक्षबीच औपचारिक प्रक्रिया शुरु गर्नसमेत सकिने बताएको स्वकीय सचिव शर्माले बताए ।

हाइड्रो र सोलारलाई एकीकृत गर्न नेपाललाई सुझाव

मन्त्री मजौरीले दीगो ऊर्जा विकासका लागि हाइड्रो पावर र सोलार पावरलाई एकीकृत गरेर अघि बढाउन नेपाललाई सुझावसमेत दिएका थिए ।

नेपाली राजदूतावासका सहचारी केशवराज पोख्रेलले नेपालमा जल ऊर्जा उत्पादनको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी भएको जानकारी दिए ।

अबुधावीमा जारी वर्ल्ड फ्युचर इनर्जी समिटमा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले भाग लिएका छन् । समिटमा पेट्रोलियम र  हाईड्रो ऊर्जालाई क्रमशः सौर्य ऊर्जा र वायोग्याँसले विस्थापित गर्दै लैजाने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।

यस्तै समिटमा सन् २०५० सम्ममा वायोग्यास र सौर्य ऊर्जाको उत्पादन बढाएर ९० प्रतिशत पुर्‍याउने र अन्य ऊर्जालाई १० प्रतिशतमा सीमित पार्ने लक्ष्य कार्यन्वयनका विषयमा गहन छलफल गर्ने कार्यक्रम छ ।

एक सातासम्म चल्ने इनर्जी समिटमा एक सय ५० राष्ट्रका प्रमुख, सरकार प्रमुख तथा मन्त्रीहरुले भाग लिएका छन् ।

यसैबीच प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री शर्मा अबुधावीस्थित नेपाली राजदूतावास, नेपाली जनप्रगतिशिल मञ्च युएई र नेपाली विजनेस काउन्सीलले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा समेत सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment