Comments Add Comment

शुक्लाफाँटामा पहिलोपटक गैंडा स्थानान्तरण गरिँदै

चीनलाई यसै वर्ष गैंडा उपहार

ghaite-gaida-rhino2

३ माघ, चितवन । सरकारले शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गैंडा स्थानान्तरणको तयारी गरेको छ । गत आर्थिक वर्षमा सरकारले बर्दिया र शुक्लाफाँटामा गैंडा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । बर्दियामा केही गैंडा स्थानान्तरण भए पनि शुक्लाफाँटामा भएको छैन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले शुक्लाफाँटामा पनि केही दिनभित्रै गैंडा स्थानान्तरण गरिने अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘हामी छिट्टै पाँच-सात जोडी गैंडा शुक्लाफाटाँमा स्थानान्तरण गर्छौं ।’

बर्दियामा पनि आगामी मार्च महिनामा थप १० जोडी गैंडा सार्ने तयारी भइरहेको उनले जानकारी दिए । महानिर्देशक खड्काका अनुसार गत वर्ष बर्दियामा चार जोडी गैंडा स्थानान्तरण गरिएको थियो ।

चितवनमा चोरी शिकारी भइरहेका बेला बर्दियामा गैंडा स्थानान्तरण गरिएको भन्दै केही अधिकारकर्मीहरुले विरोध गरेका थिए ।

सरकारले कोशी टप्पुमा मात्रै पाइने अर्नाहरुलाई पहिलोपटक चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्दै छ । यही माघ १० गते अर्नाहरुलाई कोशी टप्पुबाट चितवन ल्याउने तयारी भइरहेको छ । त्यसका लागि चितवन राष्ट्रिय निकुञ्जको टोली मंगलबार कोशी टप्पु जाँदैछ । अर्नासँगै बाह्रसिंगे पनि चितवन ल्याइने छ ।

‘अर्ना र बाह्रसिंगेको स्थानान्तरण सकिएपछि थप गैंडा बर्दिया लगिने छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक खड्काले भने ।

चीनलाई यसै वर्ष गैंडा उपहार

नेपाल सरकारले यसै वर्ष चीनलाई गैंडा उपहार दिँदैछ । तत्कालीन वनमन्त्री अग्नि सापकोटाको पालामा नेपाल सरकारले चीनलाई गैंडा उपहार दिने निर्णय गरेको थियो ।

‘दुई देशबीच दुर्लभ वन्यजन्तु आदानप्रदान गर्ने परम्परा अनुसार चीनमा गैंडा चितवनबाटै जान्छ,’ महानिर्देशक खड्काले भने, ‘त्यसका लागि चीनका वन उपमन्त्रीसहितको टोलीले हेरेर गएको छ । अब केहि दिनमा नेपाली टोली पनि चीन जान्छ ।’

नेपालका गैंडाहरुको बासस्थानको अवलोकन गर्न चिनियाँ वन उपमन्त्री सहितको टोलीले केही दिन अघि चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गरेको थियो । यसैगरी नेपाली टोलीले पनि केही दिनभित्रै चीनको भ्रमण गर्दै छ ।

‘नेपालको गैंडाका लागि चीनको वातावरण अनुकुल छ कि छैन र बासस्थान तथा आहारको अवस्था कस्तो छ भनेर हेर्न नेपाली टोली पनि चीन जाँदै छ । त्यसपछि एमओयू हुनेछ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक महानिर्देशक खड्काले अनलाइनखबरसँग भने ।

नेपालमा ६ सय ५ वटा गैंडा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment