Comments Add Comment

पाँच कवि, पच्चीस कविता

पर्वत । धौलागिरी क्षेत्रका पाँच कवि शनिबार कुश्मामा एउटै मञ्चमा जुटेका थिए । प्रगतिशील लेखक संघ पर्वतले कविहरु संगीत श्रोता, गणेशकुमार जिसी, आरके अदीप्त गिरी, ओमप्रसाद घायल र भरत विवश पौडेललाई कविता वाचनका लागि उभ्याएको थियो ।

parwat-kavitaटिकट काटेर कविता सुन्न पोखरा, बाग्लुङ र म्याग्दीबाट समेत उपस्थित श्रोतालाई पाँच कविले पाँच/पाँच कविता सुनाए । सुरुमा मञ्च उक्लिएका आरके अदिप्तले ‘आमाको दुःख’ शीर्षकको कविताबाट वाचन थाल्दै ‘नभेटिने क्षितिज’, ‘स्वास्नी मान्छेको उडान’, ‘नीरमाया र उसको शहर’ र ‘पराजित यात्रा’ शीर्षकका कविता सुनाए ।

यसपछि भरत विवशले ‘जागिरको समीकरण’, ‘घण्टाघर र रानीपोखरी’, ‘मेरो देश’, ‘अझै एउटा कविता लेख्छु’ र ‘परिर्वतन’ शीर्षकका कवितामा राष्ट्रियता, सामाजिक मूल्य र समसामयिक बेथितिका सन्दर्भ उठाए ।

संगीत श्रोताले नारीको सामाजिक उपस्थिति खोज्ने ‘महिलाहरु कहाँ छन् ?’ शीर्षकको कविताबाट वाचन सुरु गरे । यसपछि ‘हेडसर र बसन्ती संवाद’, ‘झोला’, ‘मोदनाथको ठेगाना खोज्दै हिँडेका पृथ्वीनारायणका प्रेतहरु’ र ‘सुई’ शीर्षकका कवितामा उनले वर्तमान समयको विसंगति र विकृत मानवीय मूल्य छताछुल्ल पारे ।

उनीपछिका ओमप्रसादले सामाजिक विभेद र असमानता लगायत भाव दर्शाउने ‘आमा’, ‘नयाँ नेपाल’, ‘भगवानको अवतार’, ‘सम्पादकलाई ज्ञापनपत्र’ र ‘यात्रा’ कविता सुनाए ।

अन्तिम क्रममा उभिएका गणेशकुमारले ‘इच्छापत्र’, ‘शासकको नाममा’, अग्नियात्रा लगायत कवितामा राजनीतिक आडम्वर र छलले निम्त्याएको सामाजिक विडम्बनाको चित्रण थियो । प्रलेस पर्वतका अध्यक्ष अर्जुन पौडेल निर्जनले सिर्जनाको सामाजिक मूल्य स्थापित गर्ने उद्देश्यले संयुक्त कविता वाचन आयोजना गरिएको बताउँदै कार्यक्रमले धौलागिरी क्षेत्रको साहित्यिक दायरा फराकिलो हुने आशा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment