Comments Add Comment

रेखाको चलचित्रमा ४ निर्देशकको संयोग, फेरिएला कथा भन्ने शैली ?

rekha-thapa-film-4-director
नायिका रेखा थापाले सोमबार चलचित्र ‘रुद्रप्रिया’को घोषणा गरिन् । यो बर्ष लगातार ३ बाहिरी ब्यानरका चलचित्रमा अभिनय गरेपछि रेखा फेरि रेखा फिल्मस्कै ब्यानरबाट चलचित्र बनाउन कस्सिएकी हुन् । रेखाले बाहिरी ब्यानरको चलचित्र किन खेलिन्, यसमा आ-आफ्नै खालको अड्कलबाजी होला ।

रेखाको चलचित्रले महिलाको कथा उठान गर्छन् । तर, ४ वटा गीत र ४ वटा फाइटकै वरिपरि उनी घुमेको पाइन्छ । रेखाको चलचित्रमा कथा नहुने, उनको स्टारडमले मात्र चलचित्र चल्छन् भन्ने आलोचना पनि हुँदै आएका छन् ।

सायद, यहि भएर हुनसक्छ उनले चलचित्र ‘कसले चोर्‍यो मेरो मन फेरि’को निर्माण छाडेर, ‘रुद्रप्रिया’मा हात हालिन् । चलचित्र क्षेत्र बदलिएको छ । कथा, मेकिङ र प्रस्तुती फेरिएको छ । रेखा पनि केहि समय यता, चलचित्रको मेकिङ र कथा भन्ने शैली फेर्न चाहन्थिन् । सायद, यहि भएर उनले ‘कसले चोर्‍यो मेरो मन फेरि’को निर्माण पछाडि सारेकी छिन् ।

रेखाले बनाउन लागेको ‘रुद्रप्रिया’मा एउटा गजबको संजोग छ । यो चलचित्रमा ४ निर्देशक छन् । तर, ४ निर्देशकलाई फरक फरक भूमिका दिइएको छ । सुदर्शन थापा आफैमा लभ स्टोरी चलचित्र बनाउन खप्पिस निर्देशक हुन् । उनी आफै माघ २१ गतेबाट ‘म यस्तो गीत गाउँछु’को छायांकन सुरु गर्दैछन् । सुदर्शनले बनाएको ‘मेरो एउटा साथी छ, प्रेमगीत’ जस्ता लभ स्टोरी चलचित्रले खुबै चर्चा पाए । रेखाको चलचित्रमा भने सुदर्शन नायकको रुपमा देखिदैछन् । दर्शकले चलचित्र ‘अझै पनि’मा उनलाई नायकको रुपमा देखिसकेका छन् ।

अर्का, नायक छन् अर्पण थापा । जसले ‘मुखौटा’ नामक असफल चलचित्र निर्देशन गरे । उनी, धेरै चलचित्रमा अभिनेताको रुपमा देखिएका छन् । रेखाले अर्पणलाई यो चलचित्रमा लिनुको कारण मल्टिप्लेक्सका दर्शकलाई तान्न हो भन्ने प्रष्ट हुन्छ । कारण, अर्पणलाई सिंगल भन्दा मल्टिप्लेक्स हलका दर्शकले बढी चिन्छन् ।

चलचित्रको निर्देशन, सुदिप भूपाल सिंहले गर्दैछन् । जसले ‘माला’ जस्तो स्तरिय चलचित्र निर्देशन गरेका थिए । चलचित्र असफल हुँदा उनको कामको मुल्यांकन खास हुन सकेन । तर, उनले पहिलो चलचित्रबाट नै निर्देशनमा क्षमता देखाइसकेका थिए । उनले निर्देशन गरेको दोश्रो चलचित्र ‘सयपत्री’को छायांकन नै सकिएको छैन । विविध कारणले यसको छायांकन रोकिएको छ ।

सुदिप रेखाको ‘रुद्रप्रिया’का क्याप्टेन हुन् । उनको निर्देशनमा अन्य ३ निर्देशकले अभिनय गर्नेछन् । चलचित्रमा आबद्ध चौथो निर्देशक हुन्, रेखा थापा । जसले, चलचित्र ‘हिम्मतवाली’ निर्देेशन गरिन् । यसपछि, रेखाले फेरि निर्देशनमा हात हाल्ने सोच बनाएकी छैनन् । तर, उनले चलचित्र निर्देशन गरिसकेकी छिन् । चलचित्र ‘रुद्रप्रिया’मा रेखा नायिकाको रुपमा रहनेछिन् ।

यसअघि, चलचित्र ‘अझै पनि’मा ३ निर्देशकले काम गरेका थिए । निर्देशक सुदर्शन थापा नायक थिए भने, निर्देशक रामशरण पाठकले यसको कथा लेखेका थिए । निर्देशक आलोक नेम्वाङले चलचित्र निर्देशन गरेका थिए ।

रेखाको चलचित्रमा भने ४ जना निर्देशक छन् । जसमा, ३ जना पर्दामा देखिनेछन् भने एक जना पर्दा पछाडि । अब, हेरौ ४ जना निर्देशकले मिलेर काम गरेको चलचित्रको स्तरियता कस्तो हुनेछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment