Comments Add Comment

एनआइसीको नाफा ४३ प्रतिशत बढ्यो, सिटिजन्सको कर्जा निक्षेप अनुपात ‘टाइट’

५ माघ, काठमाडौं । एनआइसी एसिया बैंकले चालु आवको दोस्रो त्रैमाशमा नाफा ४३ प्रतिशतले बढाएको छ भने सिटिजन्स बैंकको ५० प्रतिशतले वृद्धि भएको छ ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले गत आवको पुससम्ममा ५० करोड २० लाख रुपैयाँ नाफा गरेकोमा यस आवको यही अवधिमा नाफा ७२ करोड १४ लाख रुपैयाँ पुगेको छ । बैंकले बिना पुँजी लागत कम पर्ने स्रोतहरुबाट पनि राम्रो आम्दानी गरेको छ । खुद ब्याज आम्दानी ३७ प्रतिशतले बढेको बैंकको शुल्क, छुट लगायतबाट भएको अन्य आम्दानी ४६ प्रतिशतले वृद्धि भएको छ ।

बैंकको निक्षेप संकलन ३५ प्रतिशतले बढेर ७९ अर्ब ७ करोड र कर्जा ४३ प्रतिशतले बढेर ६४ अर्ब ४२ करोड पुगेको छ । बैंकको रियल स्टेटमा कर्जा लगानी ३२ प्रतिशतले बढेर ३ अर्ब ३८ करोड पुगेको छ । यता, १ करोडभन्दा माथीको आवास कर्जामा बैंकको लगानी ५२ प्रतिशतले बढेर १० अर्ब ७८ करोड पुगेको छ । दुवै कर्जा शिर्षकमा कुल कर्जाको तुलनामा २१ प्रतिशत लगानी भइसकेको देखिन्छ । बैंकहरुलाई यी क्षेत्रमा कर्जा लगानी गर्न पाउँने सीमा २५ प्रतिशत नजिक आइसकेको देखिन्छ । बैंकको ओभर ड्राफ्ट कर्जामा पनि ३० प्रतिशतले वृद्धि भएको छ । सेयर कर्जामा आक्रामाक देखिदै आएको बैंकको यो कर्जामा भने २१ प्रतिशतले गिरावट आएको छ ।

राष्ट्र बैंकले यी क्षेत्रमा जोखिम धेरै रहेको भनेर चिन्ता गरिरहेको समयमा बैंकले यी क्षेत्रमा कुल कर्जाको ६७ प्रतिशत कर्जा लगानी गरेका छन् । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १२.४५ प्रतिशत रहेको छ । कुल कर्जामा खराब कर्जाको अनुपात पहिलो त्रैमाशको तुलनामा घटेर ०.७२ प्रतिशतमा आएको छ ।

बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २० प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ र बैंकको पुँजीमा प्रतिफल १८ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८, पुँजी कोष लागत ४.४९ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.६९ प्रतिशत छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

पुससम्ममा बैंकहरुको वित्तीय विवरण अवस्था (रु हजारमा )

banks-pro

सिटिजन्स बैंक

सिटिजन्स बैंकले गत आवको पुससम्ममा ४१ करोड ६३ लाख रुपैयाँ नाफा गरेकोमा यस आवको यही अवधिमा नाफा ६३ करोड १६ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी १९ प्रतिशतले बढेको बैंकको शुल्क, छुट लगायतबाट भएको अन्य आम्दानी ६४ प्रतिशतले वृद्धि भएको छ ।

बैंकको निक्षेप संकलन ३१ प्रतिशतले बढेर ५२ अर्ब ७४ करोड र कर्जा ३९ प्रतिशतले बढेर ३५ अर्ब ५५ करोड पुगेको छ । बैंकको रियल स्टेटमा कर्जा लगानी २७ प्रतिशतले बढेर ५ अर्ब १७ करोड पुगेको छ । यता, १ करोडभन्दा माथीको आवास कर्जामा बैंकको लगानी ४५ प्रतिशतले बढेर २ अर्ब ७६ करोड पुगेको छ । दुवै कर्जा शिर्षकमा कुल कर्जाको तुलनामा १६ प्रतिशत लगानी भएको छ । बैंकहरुलाई यी क्षेत्रमा कर्जा लगानी गर्न पाउँने सीमा २५ प्रतिशत रहेको छ । बैंकको ओभर ड्राफ्ट कर्जामा पनि १४ प्रतिशतले वृद्धि भएको छ । बैंक सेयर कर्जामा आक्रामाक देखिएको छ । बैंकले यो कर्जामा भने १ सय ५ प्रतिशतले वृद्धि गरेर ३ अर्ब ३१ करोड पुर्याएको छ ।

राष्ट्र बैंकले जोखिम धेरै रहेको मानेको यी क्षेत्रमा बैंकले कुल कर्जाको ४९ प्रतिशत कर्जा लगानी गरेको छ । बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.४२ प्रतिशत रहेको छ । कुल कर्जामा खराब कर्जाको अनुपात पहिलो त्रैमाशको तुलनामा घटेर १.३२ प्रतिशतमा आएको छ ।

बैंकको प्रतिसेयर आम्दानी २२.८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१ प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ३४ रुपैयाँ र बैंकको पुँजीमा प्रतिफल १९.८० प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७९.४० प्रतिशत, पुँजी कोष लागत ५.२० प्रतिशत, सम्पत्तिमा प्रतिफल २.१० प्रतिशत छ । बैंकको चुक्ता पुँजी ५ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment