Comments Add Comment

नेपाली फुटबल सधैं किन भारतसँग हारिरहन्छ ?

kumar-thapa_810

५ माघ, काठमाडौं । राष्ट्रिय टिमबाट सन् १९९८ मा डेब्यू गरेका कुमार थापाले ५ वर्ष मिडफिल्डरको जिम्मेवारी निभाए । तर, तत्कालीन एन्फा अध्यक्ष गणेश थापासँगको मनमुटावपछि उनी राष्ट्रिय टोलीमा र्फकन सकेनन् । एन्फाबाट गणेश थापाको विदाइसँगै कुमारले १५ वर्ष रि-इन्ट्री मारे, प्रशिक्षकका रुपमा ।

एसियाली फुटबल महासंघबाट ए लाइसेन्स कोचिङ कोर्स गरेका कुमार थापाले चौथो साफ महिला च्याम्पियनसीपमा नेपाली टोलीको प्रशिक्षकको जिम्मेबारी सम्हाले । उनले नयाँ प्रयोगहरु पनि गरे, जसले सुरुवाती खेलमा सुदख नजिता दिलायो पनि तर, विगतमा जस्तै भारतको दबदबालाई भने तोड्न सकेन ।

यसअघि फाइनल खेल्दै आएको भारतसँग यो पटक सेमिफाइनलमै भेट भयो र नेपाल फेरि पनि हार्‍यो । आखिर अरु देशविरुद्ध गोलको वर्षा गर्ने नेपाली महिला फुटबल टोली भारतसँग किन सँधै हार्छ ? अब भारतलाई हराउन नसक्ने नै हो ? प्रशिक्षक थापा भन्छन्, ‘महिला फुटबलमा रोल मोडलको जरुरी छ ।’

भारतसँगको त्यो खेल

समूह चरणमा १७ गोलसहित नेपालले तीनवटै खेल जित्दा अर्को समूहमा रहेको भारत बंगलादेशसँग बराबरीमै रोकियो । परिणाम, यसअघिका तीन संस्करणको फाइनलमा भिडेका नेपाल र भारतको भेट सेमिफाइनलमा नै तय भयो ।

पहिलो हाफको अन्त्यतिर गोल खानुअगाडि नेपालले राम्रो फुटबल खेलेको थियो । बल पोजिसन लिने र विपक्षीलाई गोल गर्न नदिने रणनीति एक हदसम्म सफल देखिएको थियो । ‘पहिलो हाफमा हामीले सन्तोषजनक खेलेका हौं, दुवैतर्फ २/४ वटा प्रहार भएको थियो । तर लास्टमा गोल खायौं’ कुमारले भने ।

प्रशिक्षक थापाका अनुसार नेपाली टोलीले सुरुवाती १० मिनेटभित्र गोल खायो भने त्यसपछि दबावमा आएर ५/६ गोल खानसक्थ्यो । भन्छन्, पुरुष टिममा जस्तो फाइटिङ स्पिरिट हुँदैन । रणनीति बनाउँदा मैले त्यसैमा ध्यान दिएको थिएँ ।’

kumar-thapa-5

तर, नेपाली खेलाडी, त्यसमा पनि मध्यपंक्तिका शारिरिक रुपमा सानो हुनुले पनि नेपाललाई घाटा भएको उनको बुझाइ छ । ‘उनीहरुले लङ बल खेलेका थिए, त्यसलाई हामीले मार्क गर्न सकेनौं र काउन्टरमा गोल खायौं’ पहिलो गोलबारे थापाले भने ।

पहिलो हाफमा ४-२-३-१ को फर्मेसनमा खेलेको नेपालले दोस्रो हाफमा स्ट्राइकर थप्यो र ५-३-२ को रणनीति अपनायो । ‘१ गोल खाएपनि, ५ गोल खाएपनि हार हारै हो, त्यसैले मैले स्ट्राइकर बढाएर आक्रामक खेल्ने रणनीति बनाएँ, थापा भन्छटन् ।

दोस्रो हाफको सुरुमै सावित्रा भण्डारीले पहेँलो कार्ड पाइन, जुन अनावश्यक भएको थापाको दाबी छ ।

तर, पहँलो कार्ड पाएपछि पनि सावित्रालाई स्ट्राइकमा खेलाइराख्ने निर्णय गलत सावित भएको स्वीकार गर्दै थापा भन्छन्, सावित्रालाई मिडफिल्डमा खेलाउन पाएको भए बिपक्षीलाई मार्क गर्न हम्मे पथ्र्यो र अरु स्ट्राइकरहरुले खुलेर खेल्न सक्थे कि ।’

५८औं मिनेटमा आफ्नै कमजोरीले अर्को गोल खाएको नेपालले ७५ औं मिनेटमा एक गोल फर्कायो । उसले टिममा केही उत्साह थपे पनि ढिला भइसकेको थियो । त्यसमाथि ७ मिनेटपछि नै अर्को गोल खाएपछि रेफ्रीले हृवीसल बनाउनु अघि नै साफ यात्रा सकिएको महशुस आफूले गरेको थापाले सुनाए ।

भारतलाई हराउनै नसक्ने हो त ?

२०१० यता चारवटा साफ र एउटा साग गेम्समा गरी नेपालले पाँच प्रमुख प्रतियोगितामा भारतसँग हारेर उपाधिबाट बिमुख भएको छ । यसपटक इतिहास बन्ने अपेक्षा गरिएपनि त्यसो हुन सकेन । आखिर यसको कारण के हो त ?

‘सागको फाइनल खेलेको १० महिनापछि मलेसियासँग एउटा अन्तर्राष्ट्रिय खेल खेल्यौं’ प्रशिक्षक कुमार भन्छन्, ‘घरेलु फुटबल एक साताको लिग र ८/१० दिनको प्रधानसेनापति ट्रफीले धानेको छ, अनि फुटबलको स्तर बढेको आश गर्न मिल्छ ?’ थापाले अघि भने, अलिकति पुस् गर्ने हो भने हामी भारतलाई हराउने मात्र होइन एसियामै उत्कृष्ट बन्न सक्छौं ।’

नेपाली महिला टोलीलाई साफ च्याम्पियन बनाउनका लागि कुमारले केहि योजनाहरु पनि सुनाए । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण भनेको महिला फुटबलको घरेलु प्रणाली बलियो बनाउने । बिभागीय टोलीहरुमा सीमित रहेको नेपाली महिला फुटबल देशभर बिस्तार गर्ने । महिलाको १४ बर्षमुनीको टोली छ र एकैपटक राष्ट्रिय टोली छ । बीचमा अन्य उमेरसमूहको टोली भएमा राष्ट्रिय स्तरमा आउनेबेलासम्म धेरै खारिन सक्ने बताउँछन् प्रशिक्षक थापा ।

हुन त उनी विभागीय टोली सशस्त्र प्रहरीको प्रशिक्षण टोलीमा पनि आवद्ध छन् । तर, अहिलेकै शैलीको विभागीय टोलीको बर्चश्वले पनि महिला फुटबलको विकास हुनेमा उनलाई शंका छ । ‘राष्ट्रिय टोलीका २० मध्ये १९ खेलाडी विभागबाट छन्, घरेलु प्रतियोगितामा पनि उनीहरुकै बर्चस्व हुन्छ, त्यसले हाम्रो स्तर सुधार्दैन, सबै क्षेत्रका टोलीलाई उत्तिकै प्रतिस्पर्धी बनाउन सक्नुपर्छ’ उनी भन्छन् ।

नेपाली टोलीलाई विदेशी प्रशिक्षणको व्यवस्था गर्न सके पनि स्तरोन्नतिमा सघाउ पुग्नेमा थापा विश्वस्त छन् । एसियाली स्तरमै पनि जापान, अष्ट्रेलियाजस्ता देशहरुमा अभ्यासको अवसर पाएमा टोलीले धेरै सिक्ने उनको धारणा छ ।

यति मात्र होइन, उनी नेपाली महिला टोलीमा रोल मोडलको टड्कारो देख्छन् । ‘महिला फुटबलमा हाम्रो त्यस्तो रोलमोडल नै जन्मिन सकेन जसलाई हेरेर हरेक केटीहरुले त्यस्तै बनुँ भन्ने सपना पालुन’ प्रशिक्षक थापाको मत छ ।

sabitra-bhandari

दक्षिण एशियाकै अरु मुलुकमा हेर्ने हो भने यस्ता रोल मोडलहरुले एकेडेमी बनाएर किशोरीहरुलाई फुटबलमा आकषिर्त गरिरहेका छन् । भारतीय टोलीमा त व्यवसायिक खेलाडीहरु नै छन्, जो इंग्लिस प्रिमियर लिग पनि भन्छन् ।

नेपाली टोलीमा यस्तो रोलमोडल बन्न सक्ने कोही त छ ? थापाले त्यो सम्भावना सबित्रा भण्डारीमा देख्छन् । क्षमतावान उनलाई उचित प्रशिक्षण जरुरी छ ।

तर, यस्तै अवस्था कायम रहने हो भने भोलिका दिनमा भारतलाई हराएर उपाधि जित्ने त परको कुरा, साफमा लिग चरणका खेलहरुमा पनि मुस्किल हुने देख्छन् उनी । उनी भन्छन्, ‘हामीसँग क्षमता छैन भन्न खोजेको छैन, तर क्षमताको सही व्यवस्थापन हुनुपर्छ । अन्याथा भारतलाई हराउने सपना सपनामै सीमित हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment