Comments Add Comment

अन्तरदेशीय र संगठित अपराध अहिलेको चुनौतिः प्रधानमन्त्री

अपराध र आतंकवादको सीमा हुँदैनः गृहमन्त्री

prachand-interpol-conference-ktm

५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरदेशीय र संगठित अपराध अहिलेको मुख्य चुनौती भएको बताएका छन् । त्यसैगरी गृहमन्त्री विमलेन्द्र निधीले अपराध र आतंकवादको कुनै सीमाना नहुने बताएका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको २३ औं एसिया प्यासिफिक सम्मेलनको काठमाडौंमा बुधबार उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

तीन पर्यवेक्षकसहित एसिया प्यासिफिक क्षेत्रका इन्टरपोल प्रमुखहरुको उपस्थिति रहेको सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले अहिलेको समयमा अन्तरदेशीय अपराध र संगठित अपराध सबैको लागि चुनौति भएको बताए । यसको नियन्त्रण कुनै देश वा क्षेत्र विशेषलेमात्रै गर्न नसक्ने प्रधानमन्त्रीले बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘अन्तरदेशीय र संगठित अपराध नियन्त्रण गर्न हरेक देशका कानून कार्यान्वयन गर्ने निकायबीच समन्वय हुनु जरुरी छ ।’

प्रधानमन्त्री प्रचण्डले आतंककारीहरु प्रविधिको प्रयोगमा निक्कै अगाडि रहेको भन्दै इन्टरपोलमा आवद्ध प्रहरी संगठनबीच पनि सूचना र प्रविधिको पहुँच र आदानप्रदान जरुरी रहेको बताए ।

नेपालमा हालै संविधान जारी भएको र कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन गर्दा प्रहरी र कानून कार्यान्वयन गर्ने निकायबीच उच्च समन्वय हुने गरी कानून बनाउने बताए ।

अपराध र आतंकवादको सीमा हुँदैनः गृहमन्त्री

सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री विमलेन्द्र निधीले अपराध र आतंकवादको सीमा नहुने बताउँदै यसको चुनौति सामना गर्न इन्टरपोलका सदस्यबीच सूचना आदान-प्रदानको आवश्यकता औंल्याए ।

उनले संगठित अपराध र साइबर अपराध निस्तेज पार्न नेपालको सुरक्षा संगठन सबैसँग समन्वय गर्न तयार रहेको पनि सम्मेलनमा जानकारी दिए ।

उदघाटनमा ३६ देशका प्रतिनिधि सहभागी

interpol-conference-at-ktm

एसिया प्यासिफिकका ५० देशका इन्टरपोल प्रमुख र युरोप तथा अमेरिकाका ३ पर्यवेक्षकको सहभागिता हुने भनिएपनि मंगलबार हायत होटलमा गरिएको सम्मेलनमा उदघाटनमा एसिया प्यासिफिकका ३६ मुलुकका प्रतिनिधिको मात्र सहभागिता रहृयो ।

तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न कार्यपत्र तथा प्रतिवेदन पेश हुने भएकाले आफ्नो कार्यपत्रको समयमा सबै देशबाट उपस्थिति रहने बताइएको छ ।

सम्मेलनमा तीन मुलुकका प्रहरी प्रमुखले सम्बन्धित देशका इन्टरपोल प्रमुखको हैसियदमा सहभागिता जनाएका छन् । श्रीलंका, अफगानिस्तान र ब्रुनाईका प्रहरी प्रमुख अहिले नेपालमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment