Comments Add Comment

नेपाली फुटबल सधैं किन भारतसँग हारिरहन्छ ?

kumar-thapa_810५ माघ, काठमाडौं । राष्ट्रिय टिमबाट सन् १९९८ मा डेब्यू गरेका कुमार थापाले ५ वर्ष मिडफिल्डरको जिम्मेवारी निभाए । तर, तत्कालीन एन्फा अध्यक्ष गणेश थापासँगको मनमुटावपछि उनी राष्ट्रिय टोलीमा र्फकन सकेनन् । एन्फाबाट गणेश थापाको विदाइसँगै कुमारले १५ वर्ष रि-इन्ट्री मारे, प्रशिक्षकका रुपमा ।

 

एसियाली फुटबल महासंघबाट ए लाइसेन्स कोचिङ कोर्स गरेका कुमार थापाले चौथो साफ महिला च्याम्पियनसीपमा नेपाली टोलीको प्रशिक्षकको जिम्मेबारी सम्हाले । उनले नयाँ प्रयोगहरु पनि गरे, जसले सुरुवाती खेलमा सुदख नजिता दिलायो पनि तर, विगतमा जस्तै भारतको दबदबालाई भने तोड्न सकेन ।

यसअघि फाइनल खेल्दै आएको भारतसँग यो पटक सेमिफाइनलमै भेट भयो र नेपाल फेरि पनि हार्‍यो । आखिर अरु देशविरुद्ध गोलको वषर्ा गर्ने नेपाली महिला फुटबल टोली भारतसँग किन सँधै हार्छ ? अब भारतलाई हराउन नसक्ने नै हो ? प्रशिक्षक थापा भन्छन्, ‘महिला फुटबलमा रोल मोडलको जरुरी छ ।’

भारतसँगको त्यो खेल

समूह चरणमा १७ गोलसहित नेपालले तीनवटै खेल जित्दा अर्को समूहमा रहेको भारत बंगलादेशसँग बराबरीमै रोकियो । परिणाम, यसअघिका तीन संस्करणको फाइनलमा भिडेका नेपाल र भारतको भेट सेमिफाइनलमा नै तय भयो ।

पहिलो हाफको अन्त्यतिर गोल खानुअगाडि नेपालले राम्रो फुटबल खेलेको थियो । बल पोजिसन लिने र विपक्षीलाई गोल गर्न नदिने रणनीति एक हदसम्म सफल देखिएको थियो । ‘पहिलो हाफमा हामीले सन्तोषजनक खेलेका हौं, दुवैतर्फ २/४ वटा प्रहार भएको थियो । तर लास्टमा गोल खायौं’ कुमारले भने ।

 

kumar-thapa-5

प्रशिक्षक थापाका अनुसार नेपाली टोलीले सुरुवाती १० मिनेटभित्र गोल खायो भने त्यसपछि दबावमा आएर ५/६ गोल खानसक्थ्यो । भन्छन्, पुरुष टिममा जस्तो फाइटिङ स्पिरिट हुँँदैन । रणनीति बनाउँदा मैले त्यसैमा ध्यान दिएको थिएँ ।’

तर, नेपाली खेलाडी, त्यसमा पनि मध्यपंक्तिका शारिरिक रुपमा सानो हुनुले पनि नेपाललाई घाटा भएको उनको बुझाइ छ । ‘उनीहरुले लङ बल खेलेका थिए, त्यसलाई हामीले मार्क गर्न सकेनौं र काउन्टरमा गोल खायौं’ पहिलो गोलबारे थापाले भने ।

पहिलो हाफमा ४-२-३-१ को फर्मेसनमा खेलेको नेपालले दोस्रो हाफमा स्ट्राइकर थप्यो र ५-३-२ को रणनीति अपनायो । ‘१ गोल खाएपनि, ५ गोल खाएपनि हार हारै हो, त्यसैले मैले स्ट्राइकर बढाएर आक्रामक खेल्ने रणनीति बनाएँ, थापा भन्छटन् ।

दोस्रो हाफको सुरुमै सावित्रा भण्डारीले पहेँलो कार्ड पाइन, जुन अनावश्यक भएको थापाको दाबी छ ।

तर, पहँलो कार्ड पाएपछि पनि सावित्रालाई स्ट्राइकमा खेलाइराख्ने निर्णय गलत सावित भएको स्वीकार गर्दै थापा भन्छन्, सावित्रालाई मिडफिल्डमा खेलाउन पाएको भए बिपक्षीलाई मार्क गर्न हम्मे पथ्र्यो र अरु स्ट्राइकरहरुले खुलेर खेल्न सक्थे कि ।’

५८औं मिनेटमा आफ्नै कमजोरीले अर्को गोल खाएको नेपालले ७५ औं मिनेटमा एक गोल फर्कायो । उसले टिममा केही उत्साह थपे पनि ढिला भइसकेको थियो । त्यसमाथि ७ मिनेटपछि नै अर्को गोल खाएपछि रेफ्रीले हृवीसल बनाउनु अघि नै साफ यात्रा सकिएको महशुस आफूले गरेको थापाले सुनाए ।

भारतलाई हराउनै नसक्ने हो त ?

२०१० यता चारवटा साफ र एउटा साग गेम्समा गरी नेपालले पाँच प्रमुख प्रतियोगितामा भारतसँग हारेर उपाधिबाट बिमुख भएको छ । यसपटक इतिहास बन्ने अपेक्षा गरिएपनि त्यसो हुन सकेन । आखिर यसको कारण के हो त ?

‘सागको फाइनल खेलेको १० महिनापछि मलेसियासँग एउटा अन्तर्राष्ट्रिय खेल खेल्यौं’ प्रशिक्षक कुमार भन्छन्, ‘घरेलु फुटबल एक साताको लिग र ८/१० दिनको प्रधानसेनापति ट्रफीले धानेको छ, अनि फुटबलको स्तर बढेको आश गर्न मिल्छ ?’

kumar-thapa-7

थापाले अघि भने, अलिकति पुस् गर्ने हो भने हामी भारतलाई हराउने मात्र होइन एसियामै उत्कृष्ट बन्न सक्छौं ।’

नेपाली महिला टोलीलाई साफ च्याम्पियन बनाउनका लागि कुमारले केहि योजनाहरु पनि सुनाए । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण भनेको महिला फुटबलको घरेलु प्रणाली बलियो बनाउने । बिभागीय टोलीहरुमा सीमित रहेको नेपाली महिला फुटबल देशभर बिस्तार गर्ने । महिलाको १४ बर्षमुनीको टोली छ र एकैपटक राष्ट्रिय टोली छ । बीचमा अन्य उमेरसमूहको टोली भएमा राष्ट्रिय स्तरमा आउनेबेलासम्म धेरै खारिन सक्ने बताउँछन् प्रशिक्षक थापा ।

हुन त उनी विभागीय टोली सशस्त्र प्रहरीको प्रशिक्षण टोलीमा पनि आवद्ध छन् । तर, अहिलेकै शैलीको विभागीय टोलीको बर्चश्वले पनि महिला फुटबलको विकास हुनेमा उनलाई शंका छ । ‘राष्ट्रिय टोलीका २० मध्ये १९ खेलाडी विभागबाट छन्, घरेलु प्रतियोगितामा पनि उनीहरुकै बर्चस्व हुन्छ, त्यसले हाम्रो स्तर सुधार्दैन, सबै क्षेत्रका टोलीलाई उत्तिकै प्रतिस्पर्धी बनाउन सक्नुपर्छ’ उनी भन्छन् ।

नेपाली टोलीलाई विदेशी प्रशिक्षणको व्यवस्था गर्न सके पनि स्तरोन्नतिमा सघाउ पुग्नेमा थापा विश्वस्त छन् । एसियाली स्तरमै पनि जापान, अष्ट्रेलियाजस्ता देशहरुमा अभ्यासको अवसर पाएमा टोलीले धेरै सिक्ने उनको धारणा छ ।

kumar-thapa-4

यति मात्र होइन, उनी नेपाली महिला टोलीमा रोल मोडलको टड्कारो देख्छन् । ‘महिला फुटबलमा हाम्रो त्यस्तो रोलमोडल नै जन्मिन सकेन जसलाई हेरेर हरेक केटीहरुले त्यस्तै बनुँ भन्ने सपना पालुन’ प्रशिक्षक थापाको मत छ ।

दक्षिण एशियाकै अरु मुलुकमा हेर्ने हो भने यस्ता रोल मोडलहरुले एकेडेमी बनाएर किशोरीहरुलाई फुटबलमा आकषिर्त गरिरहेका छन् । भारतीय टोलीमा त व्यवसायिक खेलाडीहरु नै छन्, जो इंग्लिस पि्रमियर लिग पनि भन्छन् ।

नेपाली टोलीमा यस्तो रोलमोडल बन्न सक्ने कोही त छ ? थापाले त्यो सम्भावना सबित्रा भण्डारीमा देख्छन् । क्षमतावान उनलाई उचित प्रशिक्षण जरुरी छ ।

तर, यस्तै अवस्था कायम रहने हो भने भोलिका दिनमा भारतलाई हराएर उपाधि जित्ने त परको कुरा, साफमा लिग चरणका खेलहरुमा पनि मुस्किल हुने देख्छन् उनी । उनी भन्छन्, ‘हामीसँग क्षमता छैन भन्न खोजेको छैन, तर क्षमताको सही व्यवस्थापन हुनुपर्छ । अन्याथा भारतलाई हराउने सपना सपनामै सीमित हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment