Comments Add Comment

मधेस आन्दोलनले के दियो ? अध्यक्ष नै अध्यक्ष बने, पार्टी बनेन

madhesi-morcha-press-meet

५ माघ, सप्तरी । मधेसमा पहिलो आन्दोलन सुरु भएको आज १० वर्ष पूरा भएको छ । र, आजको ऐतिहासिक सन्दर्भमा मधेस आन्दोलनले के दियो र के दिन सकेन भन्नेबारे विश्लेषण सुरु भएको छ ।

 

इतिहासको त्यो दिन

हुस्सु र कुहिरोसँगै चिसो हावाले सबैजना काँपिरहेका थिए । त्यहीबेला केही युवाले फूर्तिका साथ पूर्व-पश्चिम राजमार्गमा चक्काजाम गरे । सप्तरीको कञ्चनपुर बेरियर (हाल कञ्चनरुप नगरपालिका ५) मा लगभग तीन घण्टा चक्काजाम भयो ।

त्यसको भोलिपल्टै सिरहाको लहान तनावग्रस्त बन्यो । लहानमा चक्काजाम गरी बसेका युवामाथि प्रहरीले अत्यधिक बल प्रयोग गर्‍यो । यसको जवाफमा चक्काजामका कारण रोकिएका दर्जनौं सवारी साधन खरानी बने । यही तनावका बीच गोली चल्यो र गोलीको शिकार बने सिरहा मझौराका रमेश महतो । उनी तत्कालै ढले ।

महतो ढलेलगत्तै उनको लास लुकाउने प्रयास भयो । तत्कालीन नेकपा माओवादीका नेता मातृका यादव यसमा मुछिए ।
यो घटनाले उग्र रुप लियो र तराई/मधेसका सबै जिल्लामा आन्दोलन फैलियो । राजमार्गको दुबै छेउमा रहेका मोटामोटा रुखहरु ढालेर सडक अवरुद्व गरियो ।

यो प्रसङ्ग हो तराई/मधेसमा शुरुवात भएको आन्दोलनको प्रारम्भिक क्षण ।

पहिलो पटक ०६३ साल माघ ४ गते सप्तरीको कञ्चनपुरबाट शुरु भएको चक्काजाम माघ ५ गते लहानमा पुग्दा जताततै तनावको रुप लिएको थियो ।

आजभन्दा १० वर्ष अघि ०६३ साल माघ १ गते जारी भएको अन्तरिम संविधानलाई काठमाडौंमा जलाउँदै गर्दा त्यस बेला एनजीओको रुपमा रहेको मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितलाई पक्राउ गरिएको बिरोधमा उनका समर्थकहरुले चक्काजाम गरेका थिए ।

सिराहामा माओवादी नेता मातृका यादव आइरहेको बखत चक्काजाम नखोल्दा माओवादी कार्यकर्ताकै तर्फबाट चलेको गोलीले रमेश महतोको ज्यान गएलगत्तै रोकिएका धेरै बस, ट्रक, जीप, कारसहितका सवारी साधन जलाइयो ।

यो पहिलो मधेस आन्दोलन माघ २४ गतेसम्म चलेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दोस्रो पटक २४ माघमा सम्वोधन गरे पश्चात आन्दोलन टुंगिएको थियो ।

यो आन्दोलन चलिरहँदा ५४ जनाले ज्यान गुमाए । धेरै अंगभंग भए । यसै दिन अर्थात् माघ ५ गतेको दिनलाई बलिदानी दिवसको रुपमा मनाइँदै आएको छ । यो दिन आजको माघ ५ गतेसम्म आउँदा १० वर्ष पूरा गरेको छ । यसवीचमा तीनवटा मधेस आन्दोलन भइसकेका छन् ।

के दियो बलिदानीले ?

वि.सं. ०६३ साल माघ ५ बाट शुरु भएर १९ दिनसम्म चलेको मधेस आन्दोलन ०६४ सालमा पनि भयो । तीन मधेसी दलले नेतृत्व गरेको यो आन्दोलनमा पनि धेरैले ज्यान गुमाए ।

madhes-aandolan

गत बर्ष चलेको तेस्रो आन्दोलन एकदमै लामो रह्यो । सप्तरीको भारदहबाट प्रारम्भ भएको तेस्रो मधेस आन्दोलन ०७२ ले राजीब राउतसहित ६० जनाभन्दा बढीको ज्यान लियो । ३० असारदेखि २० माघ ०७२ सम्म चलेको यो आन्दोलनका क्रममा धेरै अंगभंग भए ।

नौ बर्षभित्र तीनवटा आन्दोलन भइसकेको तराई/मधेसका जनताले पहिचान पाएको बुद्धिजीवीहरुको धारणा छ ।

मधेस मामिलाका जानकार चन्द्रकिशोर झा मधेस आन्दोलनपछि धेरै परिवर्तन आएको बताउँछन् । उनको भनाइमा मधेसको पहिचान राजनीतिक र संविधानमा पनि स्थापित भइसकेको छ । ‘दलहरु मधेसको विषयमा कुरा गर्न तयार भएको स्थिति छ’ उनी भन्छन्, ‘अन्तर्राष्ट्रियस्तरमा पनि मधेसीलाई चिनाउने काम आन्दोलनले गरेको छ ।’

अर्का मधेस जानकार तुलानारायण साह सामाजिक र राजनीतिक दुबै क्षेत्रमा परिवर्तन आएको बताउँछन् । ‘सामाजिक क्षेत्रमा मधेसीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ,’ उनले भने, ‘मधेसी भनेर हेप्ने, गिज्याउने प्रवृत्तिमा कमी आएको छ र मधेसीको प्रतिष्ठा बढेको छ ।’

राजनीतिक रुपमा पनि मधेस र मधेसी शब्दलाई राज्यले स्वीकार गर्नु आन्दोलनकै उपलब्धी भएको बताउँछन् उनी ।

यद्यपि ०६३ साल माघ ५ गतेदेखि विभिन्नपटक आन्दोलनको नेतृत्व गर्ने सिराहा लहानका कृष्णबहादुर यादव भने आन्दोलनले नेताहरुको मात्रै विकास भएको बताउँछन् । ‘मैले जनतामा खासै परिवर्तन हेर्न पाएको छैन,’ उनले भने, ‘जनताले अधिकार पाइसकेको अवस्था छैन । आन्दोलनले नेता नै धेरै जन्मेको अवस्था छ ।’

बलिदानीले जन्मायो अध्यक्षै अध्यक्ष

माघ ५ गतेसहित पहिलो, दोस्रो र तेस्रो मधेस आन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेल्ने कृष्णबहादुरको कुरालाई मान्ने हो भने मधेस आन्दोलन शुरु भए यता धेरै नेताको जन्म भएको छ । र, धेरै अध्यक्ष नै बनेका छन् ।

leaders-from-madhes

आन्दोलन सकिएलगत्तै मधेसी जनअधिकार फोरम नेपाल दलको रुपमा बाहिर आयो । यो पार्टीमा प्रवेश गर्ने लहर नै चल्यो । कांग्रेस, एमालेबाट प्रवेश गर्नेहरुको लहर चलेपछि पहिलो संविधानसभा निर्वाचनमा फोरम चौथो दल बन्यो ५३ सिट ल्याएर ।

फोरम पार्टी स्थापित हुँदासम्म फोरमसहित सद्भावनाको दुई खेमा गरी तीन पार्टी मात्रै थियो तराई/मधेसमा राजनीति गर्ने । तर अहिलेसम्म आउँदा ११ जना अध्यक्ष छन् । केही लोप भइसकेका छन् भने कसैको अस्तित्व नै हराइसकेको अवस्था छ ।

मधेसमा बलेको आगो र त्यसबेलाको फोरम नेपालको जन झुकाव देखेर पार्टीमा लागेकाहरु अहिले स्वयं नै अध्यक्ष बनेका छन् । त्यसबेला फोरममा लागेका विचय गच्छदार, जयप्रकाश गुप्ता, शरदसिंह भण्डारी, राजकिशोर यादवको आ-आफ्नै पार्टी छ ।

विजय गच्छदारले फोरम लोकतान्त्रिक, राजकिशोर यादव फोरम गणतान्त्रिक, शरदसिंह भण्डारी राष्ट्रिय मधेस समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् ।

त्यसबेला सदभावना (आनन्दीदेवी) र श्यामसुन्दर गुप्ता नेतृत्वको सदभावना थियो । अहिले सदभावनाका तीन खेमा छन् । एकजना अध्यक्ष विलीन भइसकेका छन् भने अर्काे एक जना अध्यक्ष अस्तित्वको खोजीमा छन् ।

सदभावनाकै राजेन्द्र महतो, अनिल झा र विकास तिबारी छुट्टाछुट्टै सदभावनाको नेतृत्व गरिरहेका छन् । महतोले सदभावना पार्टी, झाले नेपाल सद्भावना पार्टी र तिवारीले नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) को नेतृत्व गरिरहेका छन् । सरिता गिरीले अनिल झासँग आफ्नो पार्टी एकीकरण गरेपछि अहिले अलग भएर मुद्दा हालेकी छन् ।

सदभावना पार्टीका अर्का अध्यक्ष श्यामसुन्दर गुप्ता जेल गएर छुटेपछि विलीन भइसकेका छन् ।

सदभावनाकै नेता हृदयेश त्रिपाठी तराई मधेस लोकतान्त्रिक पार्टीमा आवद्ध भएका छन् ।

कांग्रेसबाट अलग भएर तराई मधेस लोकतान्त्रिक पार्टीको गठन गर्ने महन्थ ठाकुरको तमलोपा पार्टी पनि दुई टुक्रा भइसकेको छ । उनको पार्टीमा रहेका महेन्द्र राय यादवले छुट्टै पार्टी गठन गरेका छन् । तराई मधेस सदभावना पार्टीको नेतृत्व गरिरहेका महिन्द्र सर्लाहीमा सदभावना अध्यक्ष राजेन्द्र महतोलाई पराजित गरेका छन् ।

गुप्ताको राजनीति डामाडोल

विसं. ०६३ सालमा मधेसमा आगो बलेकै बेला कांग्रेस परित्याग गरी जयप्रकाश प्रसाद गुप्ता मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरे । मधेसको माहौल हेरेर फोरममा लागेका गुप्ता पहिलो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित पनि भए ।

लगत्तै सरकारमा गएको फोरमबाट उनी कृषि र सूचना तथा सञ्चार मन्त्री बने । सञ्चार मन्त्री भएकै बेला भ्रष्टाचार मुद्दामा जेल परेका उनले जेलबाट बाहिरिएपछि तराई/मधेस राष्ट्रिय अभियानको शुरुवात गरे । त्यसबेला उनलाई फोरम नेपालकै दिग्गज नेताहरुले साथ र सहयोग दिए पनि अहिलेको अवस्थामा उनी एक्लिएका झैं छन् ।

विलीन भएका अर्का गुप्ता

उपेन्द्र यादवसँगै पहिलो मधेस आन्दोलनमै उदाउने भाग्यनाथ गुप्ताको नाम शायद सबैले बिर्सिसकेको हुनुपर्छ । पर्साको बीरगंज निवासी गुप्ता तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका प्रमुख नेता मानिन्थे । तर, अध्यक्ष उपेन्द्र यादवले आफूहरुसँग कुनै सरसल्लाह नै नगरी सरकारसँग २२ बुँदे सहमति गरेको भन्दै ०६४ सालमा भाग्यनाथले अर्काे फोरमको गठन गरे ।

भाग्यनाथको फोरमको अवस्था मधेस आन्दोलनको शुरुवातमा राम्रै रहे पनि यो संगठनको अहिले नाम निशान छैन । गुप्ता स्वयं विलिनको स्थितिमा छन् ।

धेरै नेता हुनु नै राजनीतिक विकास

मधेसमा धेरै नेता हुनुलाई मधेसका जानकारहरु सकारात्मक भन्छन् । ‘आन्दोलनको उपलब्धी यो पनि हो’ राजनीतिक विश्लेषक समेत रहेका तुलानारायण साह भन्छन् ‘पहिला मधेसीले भोट मात्रै खसाल्थे, अहिले राजनीति पनि गर्न थालेका छन् ।’

आरोप, प्रत्यारोप हुनु तथा टुटफुट भएरै नयाँ नेतृत्व आउने बताउँदै उनले हाम्रै मुलुकमा पार्टी गठन गरेर आन्दोलन गर्दै आए पनि मधेसमा आन्दोलनबाट पार्टी बन्नु राम्रो भएको बताए ।

अर्का विश्लेषक चन्द्रकिशोर मधेसमा क्षेत्रीय पार्टीको रुपमा दलहरु निर्माण भएको बताउँदै यस्ता पार्टीलाई स्थापित हुन केही समय लाग्ने बताउँछन् । भारतमा पनि क्षेत्रीय पार्टीहरुलाई स्थापित हुन ४० बर्षसम्म लागेको बताउँदै उनी विस्तारै फिल्टर हुँदै राम्रो पार्टी बन्न सक्ने बताए ।

५ वर्षसम्म मधेसी जनअधिकार फोरममा रहेका कृष्णबहादुर यादव भन्छन्- मधेसी नेताहरुको रबैया देखेर कुनै पार्टीको सदस्यता लिएको छुइनँ, जबसम्म सम्पूर्ण मधेसी दल एकजुट हुँदैनन्, तबसम्म कुनै पार्टीमा जान्नँ

‘क्षेत्रीय दलले नै मुलुकमा राजनीति गर्छ भन्ने पनि होइन,’ उनले भने, ‘२ नम्बर प्रदेशमा कांग्रेस, एमालेबाट पनि मुख्य मन्त्री बन्न सक्छन् ।’

यद्यपि मधेसका नाममा राजनीति गर्न भन्दै खोलिएका धेरै दल हुनु सकारात्मक भए पनि यसले नकारात्मक प्रभाव समेत पारेको उनको भनाइ छ । ‘कम दल हुँदा केन्द्रमा लबिङ्ग गर्न सजिलो हुन्थ्यो,’ उनले भने,’ अहिले दुई खेमामा भएर आ-आफ्नो तरिकाको लबिङ गर्छन् ।’

अहिले पनि विजय गच्छदारको आफ्नै र अन्यको आफ्नै लबिङ्गले मधेसको मुद्दालाई कमजोर बनाएको बताउँछन् उनी ।

उता ०६३ सालदेखि बिभिन्न पटकको मधेस आन्दोलनका कमाण्डर कृष्णबहादुर भने अहिलेका मधेसी नेताहरुले जनताको विश्वास गुमाउँदै गएको बताउँछन् । ‘जनताले दलहरुलाई एकजुट रुपमा हेर्न खोजेका छन्,’ उनी भन्छन्, ‘१० को लाठी एक बोझ हुन्छ भन्ने कुरा जनताले हेर्न खोजेका छन् । तर नेताहरु आफ्नै तालमा छन् ।’

पहिलो मधेस आन्दोलन यता ५ वर्षसम्म मधेसी जनअधिकार फोरम नेपालमा रहेका कृष्णबहादुर यादवले दलहरु टुटफुट हुन थालेपछि पार्टी परित्याग गरेका छन् । ‘मधेसी नेताहरुको रबैया देखेर कुनै पार्टीको सदस्यता लिएको छुइनँ,’ उनले भने, ‘जबसम्म सम्पूर्ण मधेसी दल एकजुट हुँदैनन्, तबसम्म कुनै पार्टीमा जान्नँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment