Comments Add Comment

अष्ट्रेलियन सरकारले भत्ता रोक्ने भनेपछि भुटानी शरणार्थी ‘आमा’ले आत्महत्या गरिन्

gauri-adhikari

सिड्नी । भुटानी शरणार्थी पुनर्वास योजनाअन्तरगत परिवारसहित अष्ट्रेलिया पुगेकी गौरी अधिकारीले आत्महत्या गरेकी छन् । ६२ वर्षीया अधिकारीले कायन्र्स अस्पतालबाट डिस्चार्ज भएपछि केही दिन पहिले आत्महत्या गरेकी हुन् ।

एउटा हात नचल्ने, सामान्यतया अस्वस्थ र अंग्रेजी समेत बोल्न नजान्ने अधिकारीलाई सेन्टरलिंक र यसको क्षेत्रीय क्वीन्सल्याण्ड इम्प्लोइमेन्ट सर्भिस (नियटो) ले न्यूस्टार्ट भत्ता रोक्ने आशयसहितको पत्र पठाएको थियो । यसबाट निराश उनले आत्महत्याको बाटो रोजिन्, जसले नयाँ बहस सृजना गरेको छ ।

नेपालको शरणार्थी शिविरमा २२ वर्ष बिताएकी गौरी अधिकारी २०१३ मा शरणार्थीका रुपमा अष्ट्रेलिया आएकी थिइन् । तर, आफ्नो सासु केही समयदेखि अस्वस्थ रहेको ज्वाइँ गंगाराम साउहानले बताएका छन् ।

उनलाई सेन्टरलिंक र नियटोले आठ महिना अगाडिदेखि रोजगारी खोज्न, नभए न्यूस्टार्ट भत्ता रोकिदिने आशयसहितको पत्र पठाउन थालेको थियो । ज्ञानुलाई पठाइएको यस्ता पत्रको केही कपीहरु आफूले पाएको एबीसी न्यूजले जनाएको छ ।

रोजगारी खोजिरहेका वा रोजगारी प्राप्त गर्ने सम्भावना भएका स्वीकृत क्रियाकलापहरुमा संलग्न व्यक्तिहरुलाई अष्ट्रेलिया सरकारले न्यूस्टार्ट भत्ता दिने गर्छ ।

साउहानका अनुसार यो पत्रहरुले एउटा हात नचल्ने, सामान्यतया अस्वस्थ र अंग्रेजी बोल्न नजान्ने अधिकारी ती पत्रहरु आएपछि निकै निराश थिइन् । ‘उहाँले करिब १७ वर्षदेखि औषधि लिइरहनुभएको थियो । त्यसैले उहाँ राति राम्ररी सुत्न सक्नुहुन्थेन र अन्यत्र काम गर्न पनि सक्नुहुन्थेन,’ उनले भने ।

परिवारले सेन्टरलिंक र नियटोसँग सम्पर्क गरेर उनले अशक्त निवृत्तिभरणका लागि निवेदन दिन सक्छिन् कि भनेर नसोधेका पनि होइनन् । तर, सामाजिक कल्याणका लागि २० बुँदे मापदण्ड पूरा गर्न निकै कठिन रहेको साउहान बताउँछन् ।

‘उहाँले अस्पतालबाट पत्र लिएर बुझाउनुभएको थियो । तर, यो प्रमाणले कुनै काम गरेन,’ उनले भने, ‘त्यसपछि डाक्टरले उहाँको अवस्था नाजुक रहेको भनेर अर्को प्रमाणपत्र उपलब्ध गरायो । तैपनि प्रत्येक ३ महिनामा नियटोबाट पत्र आउन छोडेन ।’

मृत्यू हुनुअगाडि अधिकारीले कायन्र्स अस्पतालका मनोविद फिलोमेना होल्डफोर्थसँग दुईपटक भेटेकी थिइन् ।

अधिकारी अत्यन्त निराश र प्रतिक्रियाविहीन अवस्थामा पुगेकाले आफूले उनलाई कायन्र्स अस्पतालको तीव्र मानसिक स्वास्थ्य टोलीलाई सिफारिस गरेको होल्डफोर्थले बताइन् । ‘उनी एक हप्तापछि डिस्चार्ज भइन् र त्यसपछि फेरि मलाई भेट्न परिवारसहित आइन् । त्यतिबेला उनीहरु अलि खुशी देखिन्थे । मैले दोभाषेमार्फत सोधेँ कि तपाईं किन दुःखी हुनुहुन्छ र समस्या के छ ? उनले भनिन्, सेन्टरलिंकले मलाई जागिर र रोजगारदाता खोज्न दवाव दिइरहेको छ ,’ होल्डफोर्थले सुनाइन् ।

त्यो भेटपछि आफूले अधिकारीलाई अशक्त निवृत्तिभरण दिलाउने प्रक्रियालाई तीव्रता दिन प्रयास गरेको उनी बताउँछिन् । ‘त्यसपछि मैले मानसिक स्वास्थ्य टोलीलाई फोन गरेर गम्भीर डिप्रेसनबाट गुजि्ररहेका शरणार्थीहरुलाई मानोचिकित्सक वा क्लीनिकल साइकोलोजिस्टले हस्ताक्षर गरेर छोटो प्रक्रियाबाट अशक्त निवृत्तिभरण दिलाउने कुनै उपाय छ कि भनेर सोधेँ,’ उनी भन्छिन्, ‘तर उनीहरुले भने कि त्यस्तो हामी गर्न सक्दैनौं ।’

यही बीचमा अधिकारीले आत्महत्या गरिन् । यस्तो घटना फेरि दोहोरिन दिनु नहुने होल्डफोर्थ बताउँछिन् । उनले भनिन्, ‘यस्ता संवेदनशील शरणर्थीर् समूहहरुका लागि वकालतको व्यवस्था हुनुपर्छ वा कुनै औपचारिक सरकारी संगठनले उनीहरुको मानसिक स्वास्थ्यको हेरविचार गर्नुपर्छ ।’

मानवीय सेवा विभाग र रोजगारी विभागका प्रवक्ताले एबीसीलाई एक विज्ञप्ति पठाएर मृतकका परिवारजनमा समवेदना दिएका छन् । तर, गोपनियताको कानूनले गर्दा कसैको व्यक्तिगत विवरणमाथि छलफल गर्न नसक्ने बताएका छन् ।

रोजगारी विभागले मानसक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई रोजगारी सेवा मूल्यांकनमा रिफर गर्न सकिने जनाएको छ जसले सबैभन्दा उपयुक्त रोजगारी र सहायता सेवाको सिफारिस गर्छ ।

यस विषयमा नियटो रोजगारी सेवामा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment