Comments Add Comment

भित्रिए नेपालका आफ्नै बुलेट, भारतमा ग्यास लिन जान तयार

भारतीय बुलेटको एकाधिकार तोडिँदै

nepali-gas-bullet-3
६ माघ, काठमाडौं । पहिलोपटक नेपाली नम्बर प्लेटका ग्यास बुलेट ढुवानीका लागि तयार भएका छन् । दुई तिहाइ छुट पाउने घोषणाअनुसार भारतमा तयार गरेर ल्याइएका बुलेट नेपाल भित्रिएका छन् । अब नयाँ बुलेटहरु केही दिनमै भारतमा ग्यास ढुवानीका लागि जानेछन् ।

झण्डै २ महिना भन्सार प्रक्रियाको अन्यौलताका कारण नाका रोकिएका बुलेटको जाँचपास भएको छ । अब नेपालभित्रै नेपाली नम्बर प्लेटका बुलेट आइपुगेको र ढुवानी थाल्न अन्तिम तयारी भइरहेको एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

कति बुलेट अाउँदैछन् ? 

मसिर १७ गते नै वीरगन्ज नाकामा दुई नेपाली ग्यास बुलेट आइपुगेका थिए । तर, भन्सार छुट प्रक्रियामा अन्यौल हुँदा जाँचपास गर्न ढिलाइ भएको थियो ।

झण्डै ३५० वटा बुलेट भारतमा तयार भएर नेपाल भित्रिने तयारीमा छन् ।अन्य ४ सय २५ बुलेट भारतमा निर्माणाधीन छन् । च्यासिसमा बुलेटको लागि ट्यांक जोडेर भित्र्याउन ग्यास उद्योगीहहरु लागेका छन् ।

‘भन्सार प्रक्रियामा आएका सबै अन्यौलता हटेका छन् । अब बुलेट नेपालमा सहज रुपमा भित्रिन थाले’ अध्यक्ष घिमिरेले भने ।

लगानी कसको कति ? 

nepali-gas-bullet-1
एउटा बुलेटलाई उद्योगीले करिब ७० लाख रुपैयाँ लगानी गरेका छन् । अहिलेसम्म नेपालमा भारतीय बुलेटहरुबाटै ग्यास आयात भइरहेको छ । अब नेपाली बुलेट भित्रिन सुरु भएकाले २०१७को नोभेम्बरसम्म सबै आयातमा भारतीय बुलेटको प्रयोग हट्नेछ ।

त्यसपछि ग्यास आपूर्तिमा भारतीय बुलेटको एकाधिकार समाप्त हुनेछ । ५४ उद्योगले ७ सय ७५ बुलेट खरिदका लागि झण्डै साढे ५ खर्ब खर्चिएका छन् ।

उद्योगीको खर्च बचत

भारतीय बुलेटको प्रयोग हटेपछि वर्षमा झण्डै ३ अर्ब रुपैयाँ बराबरको भाडा उद्योगले बचत गर्न सक्नेछन् । ४० वर्षदेखि भारतीय ट्रान्सपोर्टरका ५ सय बुलेटहरु ग्यास बोकिरहेका छन् ।

आर्थिक वर्ष २०७३/०७४ को बजेट नै नेपाली बुलेट खरिदमा दुईतिहाइ भन्सार छुटको घोषणा भएको थियो । भारतीय नाकाबन्दीमा भारतीय बुलेटहरुमा निर्भर हुनुपर्दा आपूर्ति नराम्रोसँग प्रभावित भएको थियो ।

त्यसपछि सरकारले उद्योगीलाई नेपाल बुलेट ल्याउन भन्सार छुटको ब्यवस्था गरेको थियो । नयाँ आएका बुलेटहरु ग्यास ढुवानीको अनुमति लिने प्रक्रियामा छन् ।

आयल निगमका एलपीजी विभाग प्रमुख दीपक बरालले नयाँ बुलेटलाई अनुमति माग्नासाथ भारतीय आयल कर्पोरेशनमा ढुवानीका लागि पत्र लेखिने बताए ।

१० वर्षलाई पर्याप्त

nepali-gas-bullet-2
नेपाल भित्रिएका बुलेटहरु १८ मेटि्रक टन क्षमताका हुन् । अहिले भित्रिने बुलेटले अबको १० वर्षसम्म मागअनुसार आपूर्ति गर्न सक्ने ग्याय उद्योग संघका अध्यक्ष घिमिरेले बताए ।

‘आयल निगमले अनुमति दियो भने नयाँ बुलेट भोलिबाटै ढुवानीका लागि जान्छन्’ घिमिरेले भने,’हामीले अनुमति लिने प्रक्रिया थालिकसकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment