६ माघ, चितवन । पुस महिनाको मध्यतिर मेरो ड्राइभर र गाडी लिएर म चितवन राष्ट्रिय निकुञ्जको कोर एरियातर्फ लागें । पुस महिनाको जाडोमा बाघ खोज्दै हिँड्दा निकै गाह्रो भयो ।
बाघलाई फेला पार्न १२-१५ घण्टासम्म हिँडेको हिँड्यै गर्नुपर्यो । जाडोमा भोकै प्यासै बाघको खोजीमा निस्किनुपर्दाको दुःख म शब्दमा उल्लेख गर्न सक्दिनँ ।
त्यति बेला ध्रुवे हात्तीले पनि लखेट्यो । ध्रुवेले धेरैको ज्यान लिइसकेको छ । म भने त्यसको आक्रमणबाट मुस्किलले बाँचें ।
म वाइल्ड लाइफ फोटोग्राफर हुँ । साथीहरुले जंगली जनावरको फोटो खिचेको भनेर मलाई देखाउँथे । त्यसैबाट मलाई वाइल्ड लाइफ फोटोग्राफीमा प्रेरणा मिल्यो ।
एक दिन साँझपख बल्ल-बल्ल बाघ फेला पर्यो । त्यो रोयल बेंगाल टाइगर थियो । अन्दाजी पाँच-साढे पाँच बजेको थियो होला, साँझ परेकाले लाइट पर्फेक्ट थिएन । त्यसैले फोटो राम्रो आएन । त्यसपछि फेरि अरु दिन बाघ खोज्दै हिँड्नुपर्यो ।
बाघको खोजीमा निस्किएको दशौं दिनमा मैले फेला पारें । म एकदमै एक्साइटेड भएँ । त्यतिबेला यति धेरै रमाइलो लाग्यो कि मैले सबै दुःखहरु बिर्सिएँ ।
हेर्नुहोस् बाघका तस्वीरहरु