Comments Add Comment

नयाँ मन्त्रीको बायोग्राफीः कार्यकर्ताकी पत्नी ताक्नेदेखि संघीयता नस्वीकार्नेसम्म

एक थान मन्त्रीसँग साटियो 'अखण्ड पार्टी' को सिद्धान्त

mantri-sapath

६ माघ, काठमाडौं । प्रेम, युद्ध र राजनीतिमा सबै कुरा जायज हुन्छ भन्ने मान्यतालाई नेपालका एकसीटे साना दलले फेरि एकपटक पुष्टि गरेका छन् । नेपाली जनताको दुःखचाँहि के छ भने हामीले त्यस्ता व्यक्तिलाई मन्त्री मान्नुपरेको छ, जसको बोली र व्यवहारमा न कुनै इमान छ, न समाजमा कुनै इज्जत ।

प्रधानमन्त्री प्रचण्डले विहीबार प्रेमबहादुर सिंह र कुमार खड्कालाई मन्त्री पदमा सपथ खुवाएका छन् । सिंह सरसफाइ मन्त्री बनेका छन् भने खड्का महिला तथा बालबालिका मन्त्री ।

नयाँ मन्त्री बनेका प्रेमबहादुर र कुमार दुवैको विचार संविधान संशोधन गर्ने र मधेसी तथा आदिवासी-जनजाति आन्दोलनकारीको माग पूरा गर्नुपर्छ भन्ने कुराको विपक्षमा रहँदै आएको छ । उनीहरु संघीयता विरोधी हुन् ।

हङ पार्लियामेन्ट भएपछि एक दुर्इ सिटे दलहरूले अवसर पाउँछन्, जुन यो पटक पनि देखियो । एमाले अध्यक्ष केपी अोली नेतृत्वको अघिल्लो सरकारमा ३ र ५ सिटे दललार्इ उपप्रधानमन्त्री नै दिइएको थियो भने एक सिटे बिश्वेन्द्र पासवानमात्र होइन सिंह स्वयम् पनि मन्त्री बनेका थिए ।

प्रेमबहादुरः श्रीमतीका धनी, रक्सीका अम्मली

prem-bahadur-singh

प्रेमबहादुर सिंहका लागि मन्त्री पद नयाँ होइन । २० वर्षको अवधिमा उनी चौथोपटक मन्त्री बनेका छन् । संयोग नै मान्नुपर्छ, उनी दुई पटक कानुनमन्त्री बने भने दुई पटक खानेपानी तथा सरसफाइ मन्त्री ।

नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टीबाट वामपन्थी राजनीति शुरु गरेका कालीकोटका सिंहले पञ्चायतकालमा कर्णालीमा राम्रै वामनेताको छवि बनाएका थिए । वास्तवमा कर्णालीमा एमालेको संगठन विस्तारको श्रेय सिंहलाई समेत जान्छ ।

सिंह मजदूर किसान पार्टी छाडेर तत्कालीन माले हुँदै एमाले बने । एमालेबाट कर्णाली अञ्चल इन्चार्ज बनेका सिंहले आफ्नै कमाण्डमा ०५६ सालमा कर्णालीका पाँचै सीटमा एमालेलाई बिजयी बनाएका थिए ।

तर, त्यसअघि नै सिंह राष्ट्रिय सभामा एमालेको सांसद भइसकेका थिए । वामदेव गौतम उपप्रधानमन्त्री भएको लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा ०५३ मा सिंह एमालेका तर्फबाट पहिलो पटक कानुन मन्त्री बने ।

एमाले फुटेर माले बने पनि सिंह एमालेमै बसे । यसबीचमा उनको व्यभिचारी चरित्रबाट पीडित बनेका हुम्लाका एकजना एमाले कार्यकर्ताले बल्खुको छतबाट हाम फालेर आत्महत्या गर्ने प्रयाससमेत गरे ।

संगठन निर्माणका सिलसिलामा हुम्ला पुगेका बेला सिंहले आफ्नै सहकर्मीकी पत्नीसँग व्यभिचार गरेको भेटिएपछि यस्तो घटना भएको थियो । र, यही घटनाका कारण सिंहले ०५५ सालमा कालिकोटमा कुटाइसमेत खाए ।

ठकुरी बाबुसाहेब मन्त्री सिंहकी जेठी श्रीमती हाल कालीकोटमा छिन् भने माइली श्रीमती थानकोटतिर छिन् । उनी अहिले आफ्नै पार्टीकी एक नेतृसँग मैतिदेवीमा बस्छन् ।

अवैधानिक दलका वैधानिक मन्त्री

मन्त्री सिंहको पार्टी समाजवादी जनता दल निर्वाचन आयोगबाट खारेज भइसकेको छ । पार्टीका नाममा उनी र एकजना एकल महिलामात्रै छन् । उनीहरुको सम्बन्ध पार्टीगत हुँदै भावनात्मक बनेको छ ।

मन्त्री सिंहले ०५६ मा एमालेको सूर्य चिन्हबाट कालिकोटमा सांसदको चुनाव जितेका थिए । तर, त्यसबीचमा ०५९ सालमा राजाले शासन सत्ता हातमा लिएपछि उनले विज्ञप्ति निकालेर शाही कदमको समर्थन जनाए । त्यसपछि एमालेले उनलाई कारवाही गर्‍यो ।

जनआन्दोलनको सफलतापछि पुनर्स्थापित संसदमा एमालेले उनलाई पस्न दिएन । त्यसपछि आफ्नै पार्टी खोलेर समानुपातिक निर्वाचन प्रणालीको फाइदा लिन हिँडेका सिंहलाई अहिलेसम्म राजनीतिक लट्री परिरहेको छ ।

सिंहले ०६४ र ०७० दुबै निर्वाचनमा आफूलाई सांसद हुन पुग्ने करीव २५ हजार मत देशभरमा जुगाड गर्न सफल भए । र, यसैको जगमा टेकेर दुबै पटक उनलाई मन्त्री पदको सफलता पनि मिलेको छ ।

मन्त्री सिंहको सिद्धान्त भनेको के हो भने उनको कुनै सिद्धान्त नै छैन । एक थान मन्त्री पदका लागि सिंह जुनसुकै बेला जसको पनि पक्षमा पल्टिन सक्छन् । प्रायः राजनीतिक मुद्दाको विवादमा उनी बोल्दैनन् । जब संसदमा गणितको खेल हुन्छ, त्यो बेला उनी मन्त्री पदका लागि सौदाबाजी थालिहाल्छन् ।

रक्सी मन्त्री सिंहको अर्को कमजोरी हो । उनी कतिपय सार्वजनिक कार्यक्रममा समेत मातेको अवस्थामा भेटिन्छन् ।

कुमार खड्काः बैंकदेखि मतदातासम्म धोकै धोका

महिलामन्त्री कुमार खड्काका लागि भने यो मन्त्री पद पहिलो र दुर्लभ क्षण हो । भलै उनले अखण्डको नारामा चुनाव जितेर ‘खण्ड-खण्ड अर्थात संघीय नेपाल’ बनाउने संविधान संशोधन प्रस्तावमा सही धस्काउने मूल्यमा यो मन्त्री पद स्वीकार गरेका हुन् ।

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा कांग्रेस सम्बद्ध नेवि संघको राजनीति गर्दा गर्दै लण्डन छिरेका खड्काले त्यहाँ धेरै दुःख गरे ।

केही वर्षको बेलायत बसाइपछि पोखरा फर्किएका खड्काले बाटुलेचौरमा एउटा घर पनि बनाए । उनले बेलायतको बैंकबाट क्रेडिट कार्डबाट पैसा झिक्दै नेपाल पठाएको र पछि बैंकले पोखरासम्म चिठी पठाएको चर्चा त्यसबेला चलेको थियो ।

बेलायतको बैंक ठगेर फर्किएपछि पोखरामा आएर उनले खस क्षेत्री एकता समाज खोलेर जनजाति आन्दोलनको चर्को बिरोध गरे । पहिचान र संघीयताको बिरोध गर्दै उनले अखण्ड नेपाल पार्टी गठन गरे । र, देशव्यापी रुपमा संघीयताको विरोधमा भाषण गर्दै हिँडे ।

अन्ततः खस क्षेत्री आन्दोलनको बलमा उनले एक सीट सांसद पाए । त्यो सीटमा अरुलाई जान नदिई उनले आफैंले त्यो पद कब्जा गरे । अन्ततः यसपटक उनको भाग्यमा मन्त्री पद आइलाग्यो । यद्यपि उनी केही दिन अघिसम्म संविधान संसोधनको बिरोधमा बोलिरहेका थिए ।

बार्गेनिङबाट पाएको मन्त्री पद

मधेस र नेवा प्रदेशका लागि भोट लिएर सांसद बनेका विश्वेन्द्र पासवान, मेघराज निसाध र लक्ष्मण राजवंशीहरु संविधान संशोधनविरुद्ध केपी ओलीको मोर्चामै आवद्ध छन् । तर, अखण्ड पार्टीले भने अब अखण्डतालाई तिलाञ्जली दिएर प्रचण्डको मोर्चालाई साथ दिने भएको छ ।

प्रधानमन्त्री प्रचण्डको जम्बो मन्त्रिपरिषदमा थपिएका दुई नयाँ मन्त्री त्यस्तै पात्र हुन्, जसको विचार, सिद्धान्त र अहिलेको सरकारको उद्देश्य कहिँ कतै मेल खाँदैन । तैपनि उनीहरु मन्त्री बन्न तयार भए ।

उनीहरुलाई मन्त्री नाउनुपर्ने बाध्यता किन आइलाग्यो ? यो खुलेको छैन । यी दुईलाई मन्त्री बनाउँदैमा संविधान संशोधनको पक्षमा संसदमा दुई तिहाई बहुमत पुग्ने पनि होइन । यद्यपि खड्का र सिंहले मन्त्री बन्न नपाए ओलीको मोर्चामा सहभागी हुने धम्की प्रचण्डलाई दिँदै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment