Comments Add Comment

प्रचण्डले भने- चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर छौं

prachand-with-interpol-president
६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न आफूहरु आतुर रहेको बताएका छन् । उनले नेपाल प्रहरीको सुदृढिकरणमा सहयोग गरेको भन्दै इन्टरपोलको प्रशंशा पनि गरेका छन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र इन्टरपोलका अध्यक्ष होङ्ग्वीबीच भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल-चीन सम्बन्धलाई थप मजबुत बनाउन चाहेको बताए ।

प्रचण्डले भने, ‘इन्टरपोलले नेपालको प्रहरी संगठनको सुदृढीकरणमा राम्रो सहयोग गरेको छ, यसका लागि म यहाँलाई धन्यवाद दिन चाहन्छु । नेपाल र चीन पुराना असल छिमेकी हौं । हाम्रो सम्बन्धलाई थप मजबुत बनाएर हामी नेपाल र चीनबीच सडक, रेल र हवाई कनेक्टिभिटी बढाउन चाहन्छौं ।’

भेटमा प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको पनि दोहोर्‍याए । उनले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ । हामी चीन र तिब्बतविरुद्ध नेपाली भूमि प्रयोग हुन दिनेछैनौं । हिजो, आज र भोलि पनि नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहने कुरा विश्वास दिलाउन चाहन्छु ।’

इन्टरपोलका अध्यक्ष होङ्ग्वीलाई प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न आतुर रहेको जानकारी पनि गराए । भारतको गोवा भ्रमणका क्रममा त्रिदेशीय रणनीतिक साझेदारी र व्यापारिक सम्बन्धबारे आफू, सिजिनपिङ र नरेन्द्र मोदीबीच निकै सकारात्मक छलफल भएको उनले स्मरण गरे ।

प्रचण्डलाई फ्रान्स भ्रमणको निम्तो 

भेटका क्रममा इन्टरपोलका अध्यक्ष होङ्ग्वीले नेपाल प्रहरी सुदृढ र व्यावसायिक प्रहरी संगठन रहेको बताउँदै नेपाल प्रहरीलाई थप सबल बनाउन इन्टरपोलको तर्फबाट सदैव सहयोग रहने बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

होङ्ग्वीले नेपालको एक चीन नीतिप्रति धन्यवाद व्यक्त गर्दै इन्टरपोलको मुख्यालय फ्रान्सको भ्रमण गर्न प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेका थिए । होङ्ग्वीले आफू इन्टरपोलको अध्यक्षमा निर्वाचित हुँदा नेपालले निकै राम्रो सहयोग गरेको स्मरण समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment