Comments Add Comment

एमालेलाई गृहमन्त्री निधिको प्रश्नः झापादेखि कञ्चनपुरको भूभाग नेपाल होइन ?

bimalendra-nidhi

६ माघ, सप्तरी । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले संविधान संशोधनको मागलाई विदेशीको भन्नु हास्यास्पद भएको बताएका छन् । संशोधन राष्ट्रिय हितमा नरहेको प्रमुख विपक्षी एमालेको दाबी खण्डन गर्दै उनले भने, ‘यो माग सम्पूर्ण नेपालीको हो । र, संशोधन भए समग्र नेपालको पक्षमा हुनेछ ।’

तराई मधेस पनि नेपालकै भू-भाग रहेको र त्यहाँका बासिन्दा पनि नेपाली नै रहेको भन्दै उनले जसरी एमालेले आफूलाई मधेस विरोधी कित्तमा उभ्याएर राष्ट्रियताको रटान लगाइरहेको छ, यसले एमाले स्वयंको भलो नगर्ने बताए ।

सप्तरीको नर्घाे गाविसमा बिहीबार कांग्रेस क्षेत्र नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री निधीले संविधान संशोधनको माग मधेसीको मात्रै हो भनेर देख्नु एमालेको भूल रहेको बताए । संशोधन हिमाल र पहाडका जनताका साथै आदिवासी, जनजाति, पिछडिएका सबैलाई चाहिएको बताए ।

‘के झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीदेखि कैलाली, कञ्चनपुरसम्मको भू-भाग नेपालको होइन ?’ उनले भने, ‘हो भने यस क्षेत्रका बासिन्दाले उठाएको माग कसरी विदेशी माग हुन सक्छ ?’

उनले हिम्मत भए तराई मधेसका जिल्लाहरु नेपालको होइन भनेर भन्न एमालेका नेताहरुलाई चुनौति दिए । ‘एमालेका नेताहरुमा यस्तो हिम्मत छ ? यदि छैन भने नेपाली जनताको मागलाई विदेशको माग भनेर किन भनिरहेका छन् ?’

संविधान संशोधन गर्ने सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वयं हस्ताक्षर गरेको बताउँदै निधीले एमाले आफ्नो वचनबाट पछि हटेको सुनाए । ‘एमाले जसरी पछि हटेको छ, त्यसको भपाई एमाले स्वयंले नै गर्छ’ उनले भने ।

सीमांकन, नागरिकता, भाषा र राष्ट्रियसभाको सिट निर्धारणबारे संसदमा संशोधन विधेयक पेश गरिएको बताउँदै उनले यो पारित हुने बताए । ‘संविधान संशोधन विधेयक पारित हुन्छ, हुन्छ’ कांग्रेस केन्दि्रय सदस्य समेत रहेका निधीले भने, “कांग्रेसले दिएको वचन पूरा गर्छ । यसमा कुनै शंका नगरौं ।”

नवलपरासीको दाउन्नेदेखि बर्दियासम्मको मधेसका जिल्लालाई मधेसमै राख्ने र पहाडी जिल्लालाई पहडमा मिसाउने सहमतिमा एमाले अध्यक्ष ओलीले पनि हस्ताक्षर गरेको भन्दै उनले अहिले आएर नखडा देखाउन थालेको बताए ।

निधीले संविधानलाई घर बनाउने शुरुवात भनेका छन् । जसरी शुरुमा जसरी एक तल्ले घर निर्माण हुन्छ र त्यसपछि तल्ला थपिदैं जान्छ संविधान पनि उस्तै रहेको बताए ।

रटाए नौ मन्त्र

गृहमन्त्री निधीले जुनसुकै समस्या आउँदा पनि आफ्ना कार्यकर्तालाई नहड्बडाउन आग्रह गर्दै सबैलाई नौ वटा मन्त्री हमेश स्मरण गर्न आग्रह गरे । ‘तपाईंहरुको बीचमा कुनै द्वन्द्व हुन्छ अथवा कुनै झगडा हुन्छ भने यी नौ वटा मन्त्रलाई स्मरण गर्नुहोला, सबै समस्याको समाधान हुन्छ ।’

नौ वटा मन्त्रको पहिलो नम्बरमा राष्ट्रियता, दोस्रेामा लोकतन्त्र, तेस्रोमा समाजवाद, चौथोमा गणतन्त्र, पाँचौमा संघियता, छैठौंमा धर्म निरपेक्ष, सातौंमा समावेशिता, आठौंमा मिश्रति निर्वाचन प्रणाली र नवौंमा अहिंसा र शान्ति रहेको उनले बताए । उनले यी सबै मन्त्र कार्यक्रममा सहभागी भएका सबैलाई भन्न समेत लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment