२० जनवरी, मेलवर्न । अष्ट्रेलियाको मेलवर्न सिटी सेन्टर नजिकै शुक्रबार एक व्यक्तिले गराएको कार दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
२६ बर्षीय चालकले मरुन रंगको कार फुटपाथ तथा सपिङमल भित्र तीव्र गतिमा गुडाएका थिए ।
मेलवर्न एम्बुलेन्स सेवाका अनुसार दुर्घटनामा २० जना घाइते भएका छन् । पाँच जना गम्भीर घाइतेलाई प्रहरीको गाडीमा राखेर अस्पताल पुर्याइएको थियो ।
तिव्र गतिमा रहेको कारले बर्क स्ट्रीटमा पैदलयात्रीहरुलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । सपिङ मलबाट बाहिर निस्कदै गरेकाहरुलाई कारले ठक्कर दिएको थियो । थुप्रै मानिसहरु जीवन बचाउन भागाभाग गरिरहेको सीसीटिभी फुटेजमा देखिएको छ ।
प्रहरीका चिफ कमिस्नर ग्राहम यस्टनका अनुसार रोयल मेलवर्न अस्पताल, रोयल चिल्ड्रेन अस्पताल र सेन्ट भिन्सेन्ट अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।
चिफ कमिस्नर यस्टनका अनुसार ३० बर्षका एक जोडी र उनीहरुका बच्चाको दुर्घटनामा निधन भएको छ ।
प्रहरीले यस आक्रमणसँग आतंकवादी कनेक्सन नरहेको दावी गरेको छ । प्रहरीले कार चालकलाई गोली हानेर मारिदिएका छन् । कारमा उनीमात्रै रहेको जनाइएको छ ।
प्रधानमन्त्री म्याकलोम टर्नबलले ट्वीट गरी समवेदना व्यक्त गरेका छन् ।
मेलवर्नका मुख्यमन्त्री ड्यानियल एन्ड्रुजले ‘खराब आपराधिक कृत्य’ भएको प्रतिकृया दिएका छन् । उनले यस दृश्यलाई ‘मुटु छेड्ने’ भनेका छन् ।