Comments Add Comment

गोरखामा अर्को एकीकृत बस्ती निर्माण शुभारम्भ

hitraj-pandey
७ माघ, गोरखा । गोरखाको बगुवा–४ लामाचौरमा एकीकृत बस्ती निर्माणको शुभारम्भ गरिएको छ । ‘मिलन बस्ती, एकीकृत बस्ती’को शुक्रबार एक कार्यक्रमका बीच सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले शिलान्यास गरे ।

उक्त एकीकृत बस्तीमा बगुवा गाविसका चार गाउँलाई स्थानान्तरण गरिने छ । बगुवा गाविसको ४ र ५ नं वडाका रिठ्ठेपानी, धारापानी, नयाँगाउँ र पाण्डेगाउँका १५६ घरधुरीलाई सो एकीकृत बस्तीमा स्थानान्तरण गरिने छ ।

केही निजी र केही सरकारी जग्गा एकीकरण गरेर एकीकृत बस्ती बसाउन लागिएको हो । झण्डै २०० रोपनी क्षेत्रफलमा उक्त बस्ती निर्माण गरिनेछ । प्रत्येक घरधुरीलाई करिब ६ आना जग्गा छुट्टयाइएको छ । उक्त एकीकृत बस्तीमा निर्माण गरिने सबै घरहरु एकै प्रकृतिका र भूकम्पप्रतिरोधी हुने स्थानीयबासी हरिनारायण श्रेष्ठले जानकारी दिए ।

निजी आवास निर्माण गर्न सरकारले उपलब्ध गराएको अनुदान र स्थानीयको लगानीमा बस्ती विकास गरिने बताइएको छ । विभिन्न छ वटा मार्ग रहेको उक्त एकीकृत बस्तीभित्र बालउद्यान, पौडी पोखरी र सभाहलसमेत निर्माण गरिने छ ।

एकीकृत बस्तीलाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गरिने उनको भनाइ छ । गत वर्षको ‘गोरखा भूकम्प’बाट बगुवा गाविसका शतप्रतिशत घर ध्वस्त भएका थिए ।

गोरखाकै लाप्राकमा पनि एकीकृत बस्ती बन्दैछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment