Comments Add Comment

पाँच वर्षभित्र सुरक्षित सिन्धुपाल्चोक बनाउने पहल सुरु

sindhupalchok-rananiti८ माघ, सिन्धुपाल्चोक । भूकम्प र अन्य प्राकृतिक प्रकोपबाट अतिप्रभावित सिन्धुपाल्चोकलाई आगामी पाँच वर्षभित्र सुरक्षित जिल्लाको रुपमा विकास गर्नका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले पहल सुरु गरेको छ । जिल्ला दैवी प्रकोप उद्वार समितिले पञ्चवर्षीय रणनीतिक कार्ययोजना सार्वजनिक गर्दै जिल्लालाई सबै प्रकारका जोखिमबाट मुक्त गराउने अभियानको सुरुवात गरिएको छ ।

विनाशकारी भूकम्पपछि जिल्लामा विपद् जोखिम न्यूनीकरणका कार्यक्रम संचालन गरिरहेका विभिन्न १६ संघसंस्थाको सहयोगमा जिल्ला दैवी प्रकोप उद्वार समितिले जिल्लाको विपद् जोखिम न्यूनीकरण रणनीति सार्वजनिक गरेको हो । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवी प्रकोप उद्वार समितिका संयोजक अन्तरबहादुर सिलवालले विपद् जोखिम न्यूनीकरण रणनीति सार्वजनिक गरेका थिए ।

विभिन्न नौ आधारहरु तय गर्दै पाँच वर्षभित्र सिन्धुपाल्चोकलाई विपद् उत्थानशील जिल्लाका रुपमा स्थापित गर्ने रणनीति बनाइएको छ । संकटासन्नताको पहिचान गरी स्थानीय निकायमा प्राविधिक क्षमताको विकास गर्दै विपद् जोखिम न्यूनीकरणलाई जिल्ला विकास समिति तथा नगरपालिका र गाविसका विकास योजनामा मूलप्रवाहीकरण गरिने जिल्ला दैवी प्रकोप उद्वार समितिका फोकल पर्सन अनिरुद्र नेपालले जानकारी दिए ।

विपद् जोखिम न्यूनीकरण रणनीतिमा विपदसम्बन्धी ज्ञान तथा सीपमा अभिवृद्धिका लागि आपतकालीन पूर्वतयारी र क्षमता विकासका कार्यक्रम गरि सुरक्षित सिन्धुपाल्चोकको कल्पना गरिएको छ ।

सहरी क्षेत्रमा बढ्दै गएको जोखिमलाई न्यून गर्न विपद जोखिम न्यूनीकरण र भवन निर्माण संहिता लागू गरि उत्थानशील सिन्धुपाल्चोक बनाइने रणनतिमा उल्लेख छ । ‘विपद् व्यवस्थापन रणनीति सिन्धुपाल्चोकलाई नमूना जिल्लाका रुपमा स्थापित गर्न आधार बन्नेछ’ सेभ द चिल्ड्रेनका विपद् व्यवस्थापन विज्ञ विष्णुप्रसाद खरेलले भने ।

जोखिम संवेदनशील भू-उपयोग योजना लागू गरि व्यवस्थित कृषि, स्वास्थ्य, खानेपानी, जीविकोपार्जनको लक्ष्य राखिएको प्रमुख जिल्ला अधिकारी सिलवालले बताए । ‘सुरक्षित र व्यवस्थित सिन्धुपाल्चोकका लागि पञ्चवषर्ीय रणनीति सार्वजनिक भएको छ’ प्रजिअ सिलवालले भने, ‘हामीले जिल्लाका सवै गाविस र नगरपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति नै गठन गरिसकेका छौं ।’ विपद् जोखिम न्यूनीकरण गर्न जिल्लाका सबै गाविसमा विपद् व्यवस्थापन कोष नै खडा गरिएको सिलवालले जानकारी दिए ।

भूकम्पपछि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(यूएनडीपी) र चाइल्ड रीच नेपालले जिल्लामा आपतकालिन कार्य संचालन केन्द्रका लागि प्रीफ्याव भवन निर्माण गरी आवश्यक उपकरणहरु जडान गरेको छ । सेभ द चिल्ड्रेन, वल्र्ड भिजन, अक्सफार्म, केयर नेपाललगायतका संस्थाहरुले जिल्लामा आपतकालिन कार्य संचालन केन्द्रका लागि विभिन्न सामग्री तथा उपकरणहरु प्रदान गरेका छन् ।

सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका इन्जिनीयर टंक गौतमले सुरक्षित भवन संरचना निर्माणबारे तल्लो स्तरका समुदायसम्म अभियान सञ्चालन सुरु भएको बताए । ‘अब निर्माण हुने निजी तथा अन्य भवनहरु समेत भूकम्प र अन्य जोखिमबाट सुरक्षित हुने गरी निर्माणका लागि हामीले अभियान सुरु गरेका छौ’ प्रमुख गौतमले भने ।

०७२ बैशाख १२ को विनाशकारी भूकम्पमा जिल्लाका ३५ सय ७० ले ज्यान गुमाएका थिए । १५ सय भन्दा बढी घाइते भएका थिए भने ९९ प्रतिशत घर संरचना ध्वस्त भएका थिए । भूकम्पीय सुरक्षा अपानाउन नसक्दा नै गत सालको भूकम्पमा जिल्लाले ठूलो जनधनको क्षति ब्यहोर्नुपरेको थियो । ‘घर संरचना निर्माणमा भूकम्पीय सुरक्षा अपनाइएको भए यति धेरै क्षति ब्यहोर्नुपर्ने थिएन’, विपद व्यवस्थापन विज्ञ विष्णुप्रसाद खरेलले भने ।

के हो आपतकालिन कार्यसंचालन केन्द्र ?

जुरे पहिरोपछि जिल्लामा संचालनमा ल्याइएको आपतकालिन कार्य संचालन केन्द्र (डीइओसी)का लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र चाइल्ड रीच नेपालले पि्रफ्याव भवन निर्माण गरिदिएको छ । यतिबेला सोही भवनमा जिल्ला आपतकालिन कार्य संचालन केन्द्र छ ।

आपतकालिन कार्य संचालन केन्द्रले विपदसम्बन्धी सबै किसिमका सूचनाहरु संकलन गर्दछ । विपद्सम्बन्धी सूचनाहरु जिल्ला दैवी प्रकोप उद्धार समितिमा पेस गर्दछ । विपदपछि संभावित क्षतिलाई रोक्नका लागि उपयुत्त रणनीति तयार गरि कार्यान्वायन गर्नु नै आपतकालीन कार्य संचालन केन्द्रको मुख्य कार्य हो । जिल्लाका सवै गाविस र नगरपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति गठन भइसकेको छ । डीइओसीका कर्मचारी स्थानीय विपद व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रहन्छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रससँग नियमित सम्पर्क रहन्छ । डीइओसीमा तीनै सुरक्षा निकाय र रेडक्रससँग सम्पर्क हुने एउटा साझा फ्रिक्वेन्सी नै छ । सुरक्षा निकाय र रेडक्रसलाई एक-एक वटा ‘ह्याण्डसेट’ दिइएको छ । त्यही ह्याण्डसेटबाट डीइओसीसँग उनीहरुले नियमित सम्पर्कमा रही सूचना आदानप्रदान गर्ने गरेका छन् ।

आपतकालिन कार्य संचालन केन्द्रमा दुई जना सूचना व्यवस्थापन अधिकृतसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीमा संचार शाखामा काम गरेको अनुभवप्राप्त प्रहरीहरु कार्यरत छन् । यूएनडीपी र युरोपीयन कमिसन मानवीय सहायता कार्यक्रम (ईको)को आर्थिक सहयोग तथा सेभ द चिल्ड्रेन र टुकी संघ सुनकोसीले दुई जना सूचना व्यवस्थापन अधिकृतको व्यवस्था गरेको छ । आपतकालिन कार्य संचालन केन्द्रमा पूर्व तयारी, खोज तथा उद्धार र राहतका सामग्री पनि रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment