Comments Add Comment

सांसदले लत्याए निर्वाचन क्षेत्र विकास निर्देशिका, मनपरि ढङ्गले बाँडे पैसा

Baitadi-map८ माघ, बैतडी । बैतडीमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका योजना निर्देशिका विपरीत छनोट गरिएका छन् ।

सांसदले आफ्नै गोजीबाट कार्यकर्ता पाल्ने हिसाबले योजना छनोट गरेको स्थानीय बासिन्दाले आरोप समेत लगाएका छन् । गत वर्षहरु जस्तै यो वर्ष पनि माननीयले आफ्ना कार्यकर्ता पोस्ने हिसाबले योजना छनोट गरेको पाटनका कपिल केसीले बताए ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदले तीन करोडका योजना छनोट गर्ने र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फका सांसदले ५० लाख बराबरका योजना छनोट गर्नसक्ने प्रावधान रहिआएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका भएपनि सो निर्देशिका अनुसार सांसदले योजना छनोट गर्न नमान्ने गरेको जिल्ला विकास समितिका कर्मचारीले बताएका छन् । निर्देशिका अनुसार रु तीन करोडका योजनामा कम्तीमा ४० लाखको एक योजना हुनुपर्ने र अन्य योजना  १० लाखका हुनुपर्ने हुन्छ ।

यस्तै, योजना बढीमा २५ वटा हुनुपर्ने हुन्छ । निर्वाचन क्षेत्र विकास कार्यक्रममा योजनाको सङ्ख्या २० हुनुपर्ने, एउटा योजना कम्तीमा  १० लाख र अन्य योजना  एक लाखभन्दा कमका हुन नहुने प्रावधान रहेको जिल्ला विकास समिति, बैतडीका कार्यक्रम अधिकृत अम्बादत्त अवस्थीले बताए । तर निर्देशिकामा त्यसो भए पनि सांसदले छनोट गरेको योजनामा निर्देशिका विपरीत योजना आएका उनले बताए।

बैतडीमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रममा दुवैमा सांसदले योजना छनोट गर्दा निर्देशिका लत्याएको पाइएको छ ।

योजनाको सङ्ख्या निर्देशिका अनुसार भएपनि त्योभित्र धेरै ठाउँका मन्दिर, विद्यालय, सडकलगायतलाई बजेट छुट्याएर योजना छनोट गरेको छ । जिल्ला विकास समितिले सार्वजनिक गरेका निर्वाचन क्षेत्र विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका योजनामा धेरै विद्यालयलाई एकै योजनामा समेटेर बजेट छुट्याएको छ ।

योजना कार्यान्वयन गर्दा एकै योजनाबाट धेरै विद्यालयका बजेट दिनुपर्ने हुन्छ । यस्तै, मन्दिरका योजनामा धेरै गाविसका योजनालाई एकै योजना समेटेर निर्देशिका छलेको पाइएको छ ।

यस्तै, सांसदले योजना छनोट गर्दा गाउँपरिषद्, इलाका परिषद्, जिल्ला परिषद्ले पारित गरेको योजनालाई प्राथमिकता दिनुपर्ने भए पनि धेरैजसो योजना नेताले मनलाग्दी हिसाबले छनोट गरेका छन् ।

बैतडीमा प्रत्यक्ष निर्वाचित सांसदका निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत रु छ करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत अढाइ करोड गरी साढे आठ करोडका योजना छनोट गरिएका छन् ।

बैतडी क्षेत्र नं १ मा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत चालु आवमा सांसद आरजु राणा देउवाले रु ५० लाख छुट्याएकाले ५० लाख थप बजेट आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment