Comments Add Comment

लक्ष्मीले सरापेको देश

त्रासदीले भरिभरिभराउ कुनै हलिउड चलचित्र वा स्टेफेन किंगका उपन्यासलाई माथ गर्ने घटना भयो काभ्रेको एक गाउँमा। लक्ष्मी परियारलाई एक युवा शिक्षकले आफ्नै स्कूलको हाताभित्र भैंसी वा बोका बानेझै बान्यो, निर्घात कुटपिट गर्‍यो। गालीका अनेक अपशब्दको वर्षा भयो। र, गुहुमुत लक्ष्मीको अनुहारभरि लत्पत्याइदियो। उनको मुखभित्र कोचाइदियो। अन्तत: उनको जीवनज्योति निभ्यो।

mitra-pariyar
मित्र परियार

थर मिले पनि म लक्ष्मीको कुनै नातेदार वा छिमेकी होइन। उनी एक अजनवी हुन्। तै पनि त्यो अपराधीले लक्ष्मीको मुखमा दलेको दिशापिसावको छिटाले मेरो मुखसमेत परेको महसुस गर्दैछु – यति टाढा, सात समुद्र पारी पनि !

सत्य हो, अपराध जुन देशमा पनि हुन्छन्। बेलाबेला यस्तै कहालीलाग्दा घटना संचारमाध्यममा आइरहन्छन् अति विकसित र कानूनी राज भएका मुलुकबाट समेत। तर, हाम्रो देशमा कानूनको राज होइन, श्रीपेचविहीन राजाको कानून छ। नयाँ मौसुफहरूको हुकुमले मुलुक चलेको छ। गरिव, दीनदुखी झनझन पीडामा र मार्कामा छन्; असुरक्षामा बाँच्न विवस भएका छन्। तिनको रगतको महत्व वागमतीको फोहोरी पानी जति पनि छैन। यस हिसावले लक्ष्मीको हत्या कुनै अनौठो नलाग्ला।

तर, घटनाको प्रकृति अनि स्थानीयदेखि राष्ट्रिय स्तरमा संवन्धित सबैको प्रवृति पर्गेल्दा यो हत्या सामान्य लाग्दैन। उक्त अपराधले भरखर तीन दशक नाघेकी महिलाको ज्यान लिएको मात्रै होइन, उनका तीन टुहुरा वालकको वर्तमान र भविष्य खोसेको मात्रै छैन। परन्तु, हत्या र हत्यापछिका हर्कतहरूले समस्त नारी जगतको र दलित समुदायको घोर अपमान गरेको छ।

हाल राज्यका शीर्ष स्थानमा महिला आसीन छन्। राष्ट्रपति, सभामुख र प्रधानन्यायधिशको संवेदनालाई छोयो कि छोएन, थाहा भएन। तर, परोक्ष रुपमा उनीहरूको पनि मानहानीको हो लक्ष्मीमाथिको बर्बर हिंसा।

यो जमानामा पनि बोक्सीको आरोपमा सिंगै गाउँ उठेर सार्वजनिक रुपमा यातना दिने र पाशविक हत्या गर्ने कार्यले समग्र नेपाली सभ्यता, संकृति र धर्मलाई गुहु छ्यापेको छ।

धेरै पहिले वेलायतमा पनि बोक्सी वा बोक्सा पहिचान गर्ने र तिनलाई यातना दिएर मार्ने गरिन्थ्यो। सामन्ती राजा रजौटा स्वयम ‘विच हन्ट’ आयोजना गरेर आफूलाई मननपरेका आइमाई वा लोग्नेमान्छे सिध्याइदिन्थे। त्यस्ता कतिपय घटना प्रसिद्द भए र ती अझै उपन्यास, चित्रकला र फिल्महरूमा पस्किने गरिएको छ। शायद अवचेतमा अझै बोक्सी प्रथाप्रति जनविश्वास भएर नै होला जे के रावलिंगका ‘ह्यारी पोर्टर’ उपन्यासहरू विश्वप्रसिद्द बने। त्यसका मुख्य पात्रहरू बोक्सीकला सिकाउने हग्वार्टस विद्यालयका शिष्य र शिक्षक हुन्।

सन् १५४२ मा राजा हेनरी आठौले वेलायतमा बोक्सी प्रथालाई विशेष कानूनद्वारा अन्त्य गरे। तैपनि कतिपय ग्रामीण इलाकामा जनस्तरबाट बोक्सीहरू मार्ने कार्य कायमै रह्यो। पछिल्लो प्रसिद्द घटना क्याम्ब्रिज राज्यको ग्रेट प्याक्स्टन भन्ने ठाउमा घटेको थियो। सन् १८०८ मा एक किसानले आन इजर्ड भन्ने स्थानीय महिलालाई बोक्सी कलाद्वारा आफ्नो गाडा पल्टाइदिएको आरोप लगायो।

त्यसपछि गाउँलेहरूको एक झुन्डले आनलाई अर्धनग्न बनाएर लछार पछार गर्दै मैदानमा लगे। मानिसहरूले उनको मुखमा हिर्काए, ज्यानमा घनले हाने र चिथोरेर रगत निकाले। अर्को आक्रमणमा गाउँलेहरूले त्यस महिलालाई लामो काठमा बानेर पोखरीमा गाडेर मार्ने योजना बनाए। आफ्नो हत्याको पूर्वसूचना प्राप्त गरेकी आन त्यहाँबाट भागिन् र मुद्दा हालिन्। आखिरमा ९ जना गाउँलेमाथि सजायँ भयो।

२०० सय वर्ष अघिकी आनको जस्तो सुखान्त लक्ष्मीको कथा भएन। उनीमाथि स्कूलमा अपमान र आक्रमण भएपछि स्कूलका हेडमास्टरले समेत प्रहरीलाई खबर गरेनन्। पछि आएको प्रहरीले घटनाको सामन्यीकरण गर्दै मिलापत्र गरेर अपराधीलाई त्यसै छाडिदियो। जब लक्ष्मीको ज्यानै गयो, फेरि पनि अपराधी उम्काउने र सोझो लोग्नेलाई फसाउने प्रपञ्चहरू भैरहेको सुन्छु। मृत्‍युपरान्त भए पनि न्यायको आशमा लक्ष्मीको लाश अस्पतालको कुनै कुनामा लडिरहेको छ।

हाम्रो धर्म-संस्कृतिले महिलाको अपमान र अत्याचार परापूर्व कालदेखि गर्दै आएको छ। लक्ष्मी एक हिन्दू भगवानको नाम हो। लक्ष्मीको एक प्रसिद्द मानवीय अवतार सीता थियो। आफ्नो श्रीमान रामसँग वनबास जाँदा दुष्ट रावणले हरेर लंका पुर्यायो। भीषण युद्दपछि सत्य अर्थात् रामचन्द्रको जीत भयो र उनले आफ्नी पत्नी फर्काए। परन्तु अयोध्यायका जनचासोका कारण उनले सहजै सीता अपनाउन सकेनन्। आफ्नो सतित्व सावित गर्न सीता आगोमा हाम फालिन्। आगोले डढाउन नसकेको उनको शरीर अन्तत: जमिनमुनी भासिएर पृथ्वी मातासँग एकाकार भयो। यो कथा वच्चावच्चालाई समेत थाहा छ।

उक्त कथाको तिलस्मी पक्षलाई हटाएर विशुद्ध व्यवहारिक चक्षुले नियाल्दा प्रष्ट हुन्छ सीताले धेरै अपमान र अत्याचार सहनु पर्‍यो। कथालाई यसरी पनि बुझ्न सकिन्छ कि पहिला सीतालाई आगोमा फ्याँकियो। जब उनी उम्केर भागिन्, उनलाई जिउँदै जमिनमा गाडियो।

मेरो तर्क सती प्रथाले सत्य हो कि जस्तो देखाउँछ। सन् १९२० मा कानूनी रुपमा अन्त्य नगरुन्जेल कति हिन्दू नारी म्रितक श्रीमानको चितामा जिउँदै जलाइए। कोही भाग्न  खोज्यो भने ढुंगाले हिर्काएर भए पनि मारिने चलन थियो।

रामायणकी सीता रुपकी लक्ष्मी हत्या गरिए पनि आदर्श नारीमा दर्ज भइन्। लोकले उनको पूजा गर्छ। त्यसको एक कारण थियो उनको शक्तिसंगको सामीप्य। उनी मिथिला राजा जनककी छोरी मात्र थिइनन्, राजा रामचन्द्रकी पत्नी थिइन्। र, अर्को कारण जात। अजन्मा भनिए पनि उनी उच्च क्षत्रीय जातकी मानिन्थिन्।

laxmi-pariyar-kavreकाभ्रेकी लक्ष्मीको राजनैतिक, सामाजिक, पृष्ठभूमि ठीक उल्टो थियो। सत्ता र शक्तिसँग उनको कुनै पहुँच थिएन। तसर्थ उनी मर्दा कसैलाई मतलव भएन।

पशु लक्ष्मी (गार्इ) मारेको निहुमा कैलाली जिल्ला बन्द भयो। तर, मान्छे लक्ष्मी मारिँदा न काभ्रे बन्द भयो, न राजाधानीमा कुनै जुलुस निस्कियो। न कुनै सत्ता वा प्रतिपक्षका नेता कार्यकर्ताले मुख खोले। न कुनै लेखकको आँशु पत्रिकाका पानामा चुहियो।

रुखबाट लडेर मरेकालाई समेत ‘सहिद’ घोषणा गर भनेर आवाज उठाउनेहरूका आवाज एकाएक बन्द भए।  लक्ष्मी मानव भए पो मानव अधिकारवालाले पनि विरोध गर्दा हुन, न्यायको माग राख्दा हुन्।

उल्टो, सुन्दैछु हत्यारा पो सत्ता र शक्तिको नजिक छ रे। गरिव दुखीको दिन फिराउन भनेर सत्र-अठार हजार नागरिकको हत्याद्वारा स्थापित नेता र दलको नेतृत्वको सरकार छ। उसैको मान्छे हो रे त्यो हत्यारा। हुन त ठूला दलमा सबै प्रकारका मान्छे हुन्छन्।

माओवादी कार्यकर्ताले दलित मार्यो भन्ने कुरा उक्त दलको नीति र विचार हेर्दा अजिव लागे पनि अचम्मको विषय भने होइन। त्यस्ता अपराधी सबै दलमा हुन्छन, र सबै अपराधीको हरेक कार्यमा नेताको नियन्त्रण सम्भव पनि हुन्न।

परन्तु, लोकलाजको कुनै वास्ता नगरी माओवादीहरू अझै पनि हत्यारा उम्काउने र निर्दोष लक्ष्मीको श्रीमानलाई दन्डित तुल्याउने कसरतमा लागेका छन् भन्ने समाचार छ। न्यायलयमा पुगिसकेको कुरामा धेरै अड्कलबाजी गर्न नमिल्ला। तर, कतिपय माओवादीमा लागेका दलित नेता कार्यकर्ताले पनि यो कुरा अस्वीकार गर्न सकेका छैनन्। कांग्रेसी र एमालेले पनि आफ्ना कार्यकर्ता जोगाउने अनेक हत्कन्डा गर्दै आएका छन्। तर, ‘जनयुद्द’ हाँकेको पार्टी, उत्पीडितको रगत र पसिनाले सिँचित र समाजवाद-उन्मुख पार्टीले यस्तो कुकर्म गर्दा हत्यारा लामा त उम्केला, तर उत्पीडितका वीच नेता छविलालको छवि के होला भन्ने सोच किन आएन ?

यस्तै हो भने अन्य भ्रस्ट दल, राजा र राणाले संचालन गरेका सत्ता र क्रान्तिकारीको सत्तामा के फरक भयो ? उत्पीडित जनता तिनका पछाडि अब किन हिँड्ने ?

बोक्सीको आरोपमा अपमानित र हत्या भए पनि लक्ष्मीलाई मार्ने र न्यायबाट वन्चित गर्न खोज्ने मुख्य दोषी जातीय प्रथा हो। शदियौंसम्म हिन्दू राज्यले मुलुकी ऐनमार्फत संस्थागत गरेको जातीय विभेद नीतिको दुष्परिणाम हो यो।

लोकतन्त्र, गणतन्त्र, समावेशी सहभागिता, धर्म निरपेक्षता, संघीयता जस्ता आधुनिक नारा अत्यन्तै गुलिया लाग्छन्। तर, ती सबै ‘तन्त्र’हरू जातिवादमा अल्झेका छन्, जसले गर्दा तल्ला वर्ग, तल्ला भनिएका जातिलाई परिवर्तन हर्ष न विस्मात भएको छ।

आज जातीय र छेत्रीय अधिकारवालाहरूले कथित पहाडे उच्च जातिको सदियौंदेखिको राज्यसत्तामा एकाधिकारका विरुद्द निक्कै प्रभावशाली आन्दोलन गरेका छन्। त्यो धेरै हिसावले गतिलो छ। सधैं एकै जातको मात्रै शासनसत्ता कायम हुनाले पनि दलित लगायत पिछडा वर्गको यो हविगत भएको हो आजसम्म।

तर दु:खको कुरा, ती मधेसी, जनजाति अगुवाले पनि लक्ष्मी हत्याबारे दुई शब्द खर्चेनन्। यसले देखाउँछ, उनीहरू पनि आफ्नै क्षेत्रमा हिरो बन्ने दाउमा छन्। उनीहरू पनि दलित जस्ता धेरै तल पारिएकालाई उकास्ने मनस्थितिमा छैनन्।

नेवा: राज्य माग्नेलाई डर होला आफू भित्रका च्यामे, पोडे जस्ता कथित उच्च जातिले अधिकार खोजे भने के गर्ने? मधेसी नेतालाई चिन्ता होला धेरै दलितको कुरा गर्‍यो भने, दलितले साच्चै परिवर्तन मागे भने आफ्नो गोडा कसले धोइदिन्छ ? मुसहर र चमारले घर, पसल र मन्दिरमा पसेर बिटुलो पारे भने मिथिला र भोजपुरा सभ्यताको, हिन्दू धर्मको के हालत हुन्छ ? पहाडे सत्ताको सत्तोसराप गर्ने मधेसी नेताहरू खुलेआम आफू मधेस र उत्तरी भारतको सामाजिक संरचनामा उच्च वा प्रभावसाली जात भएकोमा गर्व गर्दछन्। आखिर मधेश प्रदेस भएर पो के, नभएर पो के मधेसी अछूतलाई?

काभ्रे तम्सालिंग बन्यो रे भने पनि लक्ष्मीको परिवार र आफन्त त अछूतै त रहने छन्। आखिर उनको हत्या एक तामांग गाउँमा भयो। उनको हत्या कुनै बाहुनले होइन तामांग जातिले गरेको हो। उनको मुद्दा लुकाउन खोज्ने स्थानीय प्रहरी प्रमुख मधेसी थिए। हुन त यसलाई ‘एकाद’ घटना भनिएला। तर, दलितमाथिको अपराध देशका सबै भागमा हुँदै आएका छन्, मिडियामा थोरै मात्रै देखिए पनि।

लक्ष्मी हत्या काण्डले नेपालका दलित अगुवाहरूको नाडी छाम्ने पनि अवसर दियो। राजाधानी नजिकै त्यो स्तरको जातीय हिंशा हुन्छ। किन्तु, कही कतै आक्रोश देखिएन। धेरै दलित मन्त्री, सांसद बनेका छन्। कति त निक्कै बौद्दिक पनि छन्।

दलित अधिकारबारे दलित भेलाहरूमा उनीहरूको कुर्लाइ, उनीहरूको क्रान्तिकारी भाषाण निक्कै आकर्शक हुने गर्छन्। तर, लक्ष्मीमाथि त्यत्रो अन्याय हुँदा समेत उनीहरूले सार्वजानिक रुपमा विरोध गर्ने हिम्मत गर्न सकेनन्।

पक्कै हो, लोकतान्त्रिक दलहरू आफै सामन्ती छन्। उच्चजातीय नेताको पूर्ण पकड हुन्छ पार्टीमा। तिनले उठ भने उठ्ने हो, हिड भने हिंड्ने हो, ताली ठोक भने ठोक्ने हो। यो दलको निर्दलीय संस्कारले गर्दा निर्वाचित व्यक्तिहरू समेत आफ्नो समाज, आफ्नो धर्म, आफ्नो संस्कृती र अधिकारका कुरा उठाउन सक्दैनन्। तसर्थ समावेशिताको उपयोगितामाथि नै प्रश्न चिन्ह उठ्न थालेको छ।

केही दलित अगुवा मन्त्री र सांसद बन्दा तिनको नीजी स्वार्थ त पूरा होला। तर, तिनको सहभागिताले संवन्धित समाजले के प्राप्त गर्‍यो त भन्ने महत्वपूर्ण हुन्छ। यस्तो जघन्य अपराध हुँदा समेत संसदमा, मिडियामा दुइचार कुरा उठाउन सक्दैनन् भने अरु के अपेक्षा राख्ने उत्पीडितले यस्ता हुतिहारा अगुवा र अभियन्ताबाट ? उल्टो, मैले फेसबुकमा लक्ष्मीको हत्याबारे कुरा उठाउँदा केही माओवादी दलितले निर्लज्ज तरिकाले हत्यारा आफ्नो पार्टीको हुँदै होइन भन्दै चरम अन्धभक्ति प्रदर्शन गरे। कतिले त त्यो व्यक्ति विपक्षी दलको हो भनेर दिउँसै रात पार्ने प्रयत्न पनि गरे।

लक्ष्मीको अन्त्य गरिएको जिवनप्रति, वच्चाहरूको खोसिएको भविश्यप्रति अलिकति पनि माया र सहानुभूति भेटिन तिनका अभिव्यक्तिमा। तिनैले फेरि केहीपछि एक माओवादी मन्त्रीलाई अर्घाखाँचीका आन्दोलित जनताले भाषणै नगरी भगाइदिँदा अघोर दु:ख व्यक्त गरे, ज्यान दिएर नेता बचाउन तयार रहेको भन्दै आफ्नो स्टाटस भरे। निश्चितरुपमा आफ्नो दलप्रति बफादार देखिनु असल कार्यकर्ताको गुण हो। परन्तु योखाले व्यवहारले त ती पदहरूमा दलित गए पनि गैरदलित पुगे पनि वस्तुत: खासै धेरै फरक के भयो र?

आजको स्वतन्त्र मिडियाको दुनियाँमा विरोधका स्वर सुनिनु अत्यन्त आवश्यक छ। यसै पनि जसले जुलुस निकाल्यो, तोडफोड गर्‍यो उसैको कुरा सुन्छ राज्य। त्यो कार्य दलित अगुवाले नगरे कसले गर्ने ? बाहुनले आएर गरिदिन्छ आन्दोलन छुवाछुत र भेदभाव विरुद्द ?

केही बुज्रुक दलितले सम्झाए कि हल्ला गर्दैमा हुने होइन रे। भित्रभित्र दलित मन्त्री र सांसद लक्ष्मीलाई न्याय दिलाउन कृयाशील छन् रे। नेतासँग भेट हुँदा कुरा उठाए रे। त्यो सब भएका हुन् भने प्रसंशीय छन्। तर, साँच्चै संवेदनशील हो भने त सार्वजानिक रुपमा पनि बोल्ने हिम्मत गर्नुपर्ने होइन र ? दलित अगुवाले साँच्चै केही गर्दैछन् भने त्यो कुरा बाहिर आउनुपर्‍यो नि । जनताले पत्तो पाउनु पर्‍यो नि।

आजको स्वतन्त्र मिडियाको दुनियाँमा विरोधका स्वर सुनिनु अत्यन्त आवश्यक छ। यसै पनि जसले जुलुस निकाल्यो, तोडफोड गर्‍यो उसैको कुरा सुन्छ राज्य। त्यो कार्य दलित अगुवाले नगरे कसले गर्ने ? बाहुनले आएर गरिदिन्छ आन्दोलन छुवाछुत र भेदभाव विरुद्द ? सार्वजानिक रुपमा सशक्त आवाज उठाउन सके सरकार, प्रहरीलगायत सबै जातीय हिंशाप्रति थोरै संवेदनशील हुने थिए। विभेद गर्नेहरू केही हदसम्म निरुत्साहित हुन्थे। दलितलाई कुट्न उठेका केहि हातहरू, मार्न उठेका केही हतियारहरू शायद रोकिन्थे।

शायद २०० वर्ष अघि भागेर ज्यान बच्चाएकी वेलायती आन जस्तै भविष्यका लक्ष्मीहरूले ज्यान जोगाउन सक्ने, न्याय पाउन सक्ने परिस्थिति बन्दै जाने थियो होला हाम्रो मुलुकमा पनि।

र, सधैं उत्पीडनमा परेका कामी, दमाई र सार्कीहरू, पोडे र च्यामेहरू, मुसहर, चमार र डोमहरू आफ्नो पक्षमा बोल्ने कोही रहेछ भन्ने बुझेर अन्याय अत्याचार विरुद्द आवाज उठाउन, संगठित हुन लालायित हुँदा हुन् ! यस्तो अवसर गुमाए दलित अगुवाले आफ्नो अस्वाभाविक कायरता प्रस्तुत गरेर। बालीघरे मानसिकता बोकेका दलित भोलि प्रधानमन्त्री, प्रधान न्यायधीश र गृहमन्त्री नै बनेछन् भने पनि दलितले न्यायको कुनै अपेक्षा नगरे हुन्छ।

हाम्रा धेरै नेता छन्, कार्यकर्ता छन्, एनजीओ चलाउँछन्। तर, ती सबैले अलिकति भए पनि साहास र आँट देखाउन सक्नुपर्‍यो। परी आए आफ्नै संगठनका मान्छेका, प्रवृतिका विरुद्द पनि आवाज उठाउनुपर्‍यो। अनि न दलितमैत्री नीति बन्छन्, शासकहरूका आँखा खुल्छन्।

वेलायतको बोक्सी काण्डजस्तै सबै मुलुकमा धर्म र संस्कृतिसित गाँसिएका अन्धविश्वास थिए, छन्। त्यहाँका   साहसी नरनारीले लडेर नै परिवर्तन ल्याएका हुन्

माओवादीजस्तो पार्टीमा झन यो सम्भव छ। हिजो उसले दलितलाई बन्दुक बोकाएर बाहुनको घरमा, मन्दिरमा प्रवेश गराएको थियो। त्यो ज्यादै क्रान्तिकारी कदम थियो समाज परिवर्तनका खातिर। अहिले उक्त दलको त्यो स्पिरिट केही सेलाएको प्रष्ट छ। तर, त्यसभित्र कृयाशील दलितले केही जोड गर्न सके पुन: छुवाछुत र भेदभावविरुद्द नेतृत्वले अरु बढी ध्यान दिने छ।

अचेल मिडियामा नआए पनि कुराहरु सामाजिक संजालमार्फत छिट्टै फैलिन्छन्। यो उत्तरआधुनिक दुनियाँमा फगत सत्ता र शक्तिको पूजा गरेर आफ्नो स्वार्थ मात्रै पूरा गर्नेहरू पहिचान गर्न त्यति असजिलो छैन। दलित अगुवा भनिसकेपछि त्यो समुदायले अलिकति आशा र अपेक्षा पक्कै राखेको हुन्छ।

वेलायतको बोक्सी काण्डजस्तै सबै मुलुकमा धर्म र संस्कृतिसित गाँसिएका अन्धविश्वास थिए, छन्। त्यहाँका   साहसी नरनारीले लडेर नै परिवर्तन ल्याएका हुन्।

हामीले सय वर्ष पहिले सतीप्रथा हटायौं। तर महिलामाथिको उत्पीडन र अत्याचार अहिलेसम्म छँदैछ समाजमा। अझ तल्लो जात भनेका महिलामाथि त बलात्कार, कुटपिट, र हत्यासम्म भैरहेका छन् दिनानुदिन। संविधान र कानूनका निर्जिव अक्षरले समाधान पक्कै गर्दैनन् धर्म-संस्कृतिसँग जोडिएका जातीय समस्या। लक्ष्मीको केसले हाम्रा अगुवामा संवेदना र हिम्मतको खडेरी उदांगो पारिदियो। संभवत: दलित आन्दोलन उठ्नै नसक्नुका पछाडि यो प्रमुख कारण हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment