Comments Add Comment

रक्सौल-परवानीपुर र कुशाहा-कटैया अन्तरदेशीय ट्रान्समिसनको काम अन्तिम चरणमा

transmission-substation-2
८ काठमाडौं, माघ । भारतबाट थप विद्युत् आयात गर्नका लागि महत्वपूर्ण मानिएको रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ ।

यसै महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ भने हाल आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत रहेको सो आयोजनाले जनाएको छ ।

वीरगन्ज औद्योगिक कोरिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारण लाइन निर्माण गरिएको रक्सौल परवानीपुर प्रसारणलाइन आयोजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले राससलाई बताए ।

विद्यमान ३३ केभी प्रसारण लाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारण निर्माण सम्पन्न भएपछि भारतबाट थप ५० मेगावाट विद्युत् आयात गरिने छ । यसले वीरगन्ज औंद्योगिक कोरिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना नेपाल विद्युत् प्राधिकरणको छ ।

आयोजनाको सबैभन्दा विवादित बनेको चारवटा टावरको फाउण्डेसन निर्माण सम्पन्न भएको छ । कुल आठ दशमलव पाँच किलोमिटर क्षेत्रमा तार तान्न बाँकी रहेको छ । भारतीय ठेकेदार मोहना इनर्जीले दैनिक दुई सत्रमा काम गरेर भए पनि यसै महिनाको अन्त्यसम्ममा प्रसारण लाइन निर्माणको काम सम्पन्न गर्ने जानकारी आफूलाई दिएको आयोजना प्रमुख मुखियाले बताए ।

परवानीपुर क्षेत्रमा केही स्थानीयवासीले प्रसारण लाइन निर्माणमा अवरोध गर्दा आयोजना केही समय ढिला हुन पुगेको हो । गृह मन्त्रालयले शान्तिसुरक्षा प्रदान गरेपछि अहिले आयोजनाले गति लिएका छन् ।

गत पुस २० गते ऊर्जा मन्त्री जर्नादन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनास्थलको निरीक्षण गरी तोकिएको समय भन्दा पहिल्यै आयोजना सम्पन्न गर्न निर्देशनसमेत दिइसकेका छन् ।

आयोजनालाई छिटो सम्पन्न गराउन वीरगन्जका उद्योगी व्यवसायीले पनि सक्दो सहयोग गरेका छन् । वीरगन्ज उद्योग वाािणज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले आफूहरुले आयोजना निर्माणका लागि सहजीकरण गरिरहेको र आइपर्ने समस्या समाधान लागि उद्योगीव्यावसायी लागिपरेको बताए ।

कुशाहा– कटैया निर्माण सम्पन्न हुँदै

यस्तै अर्को महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइन कुशाहा– कटैयाको काम भने लगभग सम्पन्न भइसकेको छ ।

transmission-substation-rak
करिब तीन किलोमिटर क्षेत्रमा प्रसारण लाइन स्तारोन्नति मात्रै गर्न बाँकी रहेको र सो कार्य चार दिनभित्र सकिने सो आयोजनाका प्रमुखसमेत रहनुभएका मुखियाले भने ।

‘‘ रक्सौल–परवानीपुर प्रसारण लाइन भन्दा केही दिन पहिले कुशाहा– कटैया प्रसारण लाइन निर्माण सम्पन्न हुन्छ । त्यसले नेपालको ऊर्जा आयातमा अर्को महत्वपूर्ण ढोका खोल्नेछ ’’ आयोजना प्रमुख मुखियाले भने ।

सो प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखिएको छ । आयोजनाको काम भारतीय ठेकेदार कम्पनी मोहना इनर्जीले नै गरिरहेका छन् ।

ऊर्जा मन्त्रालयले विशेष चाँसो दिएका कारण आयोजनाले गति लिएको र मुलुकको ऊर्जा सङ्कट समाधानका लागि सहयोगी हुने विश्वास लिएको छ । हाल १३२ केभी क्षमताको प्रसारणलाइन कुशाहा– कटैयाबाट एक सय मेगावाट विद्युत् आयात भइरहेका छन् ।

यस्तै भारतबाट हाल ३४० मेगावाट विद्युत् आयात भइरहेको छ । यही माघ १७ गतेबाट थप ४० मेगावाट विद्युत् थप आयात हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment