Comments Add Comment

संस्मरणः हामीले पढेको के काम !

नचाहिने कुरामा समय खेर फालेकोमा चुकचुक लाग्छ

ram-prasad-dhital-810‘हरिगोविन्द सर स्कूल आएका छैनन् रे । आज भने सरको ‘खौ’ बाट बचिने भइयो !’

खुसीको सीमा नै हुन्थेन ।

 

हरिगोविन्द सरको ‘खौ’ बाट बच्ने कक्षामा कमै थिए । मुठी पारेर माझी औंलाको बीच भागलाई चुच्चो पारी तालुमा हान्नुलाई ‘खौ’ भनिन्थ्यो । शिक्षक र विद्यार्थीको मुखमा प्रख्यात त्यो शब्दको अर्थ नेपाली शब्दकोषले समेटेको रहेनछ ।

हरिगोविन्द सरको खौ मात्र होइन, ईश्वर सरको ‘झाप्पु’ को स्वाद पनि कम थिएन । पाँचैं औंला फैलाएर पिठिउँमा झ्याम्म दिएपछि भोग्नेको मात्र होइन, सुन्नेको पनि मुटुको चाल एक पटक टक्क रोकिन्थ्यो । एकाएक चकमन्न छाउाथ्यो ।

एक दिन खाएको खौ र झाप्पुको ‘ह्याङओभर’ भोलि/पर्सिपल्टसम्म हुन्थ्यो । जतिसुकै दादागिरी गर्ने र ‘मै हुा’ भन्नेहरु पनि दुई जना सरको ‘मर्मत’ भेटेपछि थच्चिन्थे । हरिगोविन्द सरको खौ र ईश्वर सरको झाप्पु सम्झेर म जस्ता उनका कति चेला अझै झस्किँदै होलान् ।

यस्तै त्रासबीच गुज्रिन्थ्यो, गणितको कक्षा । बीजगणितका हिसाब कहिल्यै बुझ्न सकिएन । ‘होमवर्क चेक’ गर्दै आउादा आफू बसेको अन्तिम बेञ्चमा पालै नआइपुग्ने ! होमवर्क नगरेपछि पछाडि बस्नुको विकल्प पनि थिएन । तैपनि मुटुमा ढ्याङ्ग्रो बज्थ्यो, सर होमवर्क जाँच्दै कतै पछाडिसम्म आइपुग्ने त होइन ?

नभन्दै कहिलेकाहीँ त पालो आइपुग्थ्यो । धेरैजसो दिन चाहिँ सरले होमवर्क जाँच्नुका साथै पढाउनुपर्ने पनि भएकाले बचिन्थ्यो । कहिले त पछाडिको बेन्चबाटै होमवर्क जाँच्ने काम सुरु हुन्थ्यो । नआएको, बिर्सेको, सञ्चो नभएको, घरमा काम परेको बेहोराका बहाना बेकार हुन्थे ।

अंग्रेजीको हालत पनि लगभग त्यस्तै । बुझ्नु न सुझ्नुसँग रटेर के हुन्थ्यो ! ‘इसप वाज एन एनसेन्ट ग्रिक स्लेभ…’, कृष्णा मिसको एकोहोरो ‘गनगन’ पछाडिको बेन्चमा सुन्नै मुश्किल पर्ने, बुझ्न त परकै कुरा !

यो भयो डेढ दशकअघि विद्यालयमा पढ्दाताकाको कुरा ।

अहिले पत्रकारिता, लेखन, सम्पादन लगायत पेशा बनेको छ । बडा कष्टसँग कण्ठस्त गरेका ‘अलजेब्रा’ का सूत्रहरूले खोइ त पेशाका लागि काम दिएको ? संस्कृत तथा नेपाली साहित्य र पत्रकारिताको अध्ययन गरेकोले गणितका यी सूत्र आवश्यक नै परेनन् ।

त्यसो भए आवश्यकै नपर्ने विषय किन पढाइयो, सूत्र घोकाइयो ? अझ भनूँ, किन कलिलो दिमागलाई सास्ती दिइयो ? जीवन साध्यका लागि आवश्यकै नपर्ने ज्यामितिका ती साध्यहरू किन रटाइयो ? आवश्यकै नपर्ने विज्ञानका सूत्र र सम्झनै गाह्रो हुने वैज्ञानिकका नाम कण्ठ गर्न किन बाध्य बनाइयो ?

साइन्स, म्यानेजमेन्ट, इञ्जिनियरिङ, संस्कृतको ज्योतिषतर्फ सिद्धान्ततर्फ अलजेब्रा  (बीजगणित) पढ्न नपर्ने होइन । तर, उच्च शिक्षा लिँदा पढ्नुपर्छ भन्दैमा भारी बोकाउनु कत्तिको उपयुक्त होला ? सानो छोरा विद्यालय जान थालिसकेको छ । देख्छु, उसलाई पनि मन्द गतिमा पहिले उसको बाबालाई बोकाए जस्तै भारी बोकाइादै छ । किनभने १५ वर्षपछि पनि हाम्रो शिक्षाको तौरतरिका उस्तै छ ।

अब त सरकारी पढाइ प्रभावकारी नभएको भन्दै माध्यम नै अंग्रेजी बनाउने रे ! आमाको दूध चुस्दै गरेका बालकहरूलाई अंग्रेजी रटाउने रे ! अंग्रेजी माध्यम नभएकोले नै पढाइ गुणस्तरहीन भएको भन्ने कस्तो मानसिकता ! नाच्न नजान्ने आागन टेढो ! १२, १५ वर्ष अंग्रेजी नै पढेका युवायुवती आफूले पढे अनुसारको काम पाउन नसक्दा चीन, कोरिया, जर्मनी लगायतका मुलुक भासिन बाध्य भइरहेका छन् ।

ती मुलुकमा अंग्रेजी पढेर आएको भन्दै उनीहरूलाई सम्मान गरिन्छ त ? चीनमा काम गर्न चिनियाँ, जर्मनीमा जान जर्मनी र कोरियामा श्रम बेसाउन कोरियाली भाषा अनिवार्य जानेकै हुनुपर्छ । खाडी राष्ट्रमा जानेहरूले पनि ती देशका भाषा बोल्न सक्नुपर्छ । अंग्रेजीले काम गर्दैन । फेरि आफ्नो मातृभाषा र राष्ट्रभाषा बिस्तारै मासेर अंग्रेजी लाद्नुको उद्देश्य के ?

अहिले राखिएका विद्यालयका पाठ्यक्रम हेर्छु । ती सबै आवश्यक छन् ? तिनीहरूको कलिलो दिमागले सबै थेग्न सक्छ ? प्राथमिक निम्न माध्यमिक र माध्यमिक तहमा पढ्ने कलिला दिमागका बालबालिका र किशोर-किशोरीलाई किताबको भारीका साथै दिमागको भारी किन बोकाउनुपरेको होला ? जीवन चलाउन हिसाब, अंग्रेजी, विज्ञानका आवश्यक ज्ञान लगायत प्राकृतिक पक्षको ज्ञान आवश्यक पर्छ ।

मानिस र अन्य प्राणीप्रति यथोचित व्यवहार गर्न नैतिक शिक्षाको आवश्यकता पर्छ । अंग्रेजीकै सन्दर्भमा पनि भाषा कम संस्कृति ज्यादा सिकाउने पढाइ चलिरहेको छ । १५ वर्ष पढ्दा पनि काम नलागेर पश्चिमा मुलुक जाँदा ‘टोफल’, ‘आईएलटीएस’ को जाँच दिनुपर्ने बाध्यता छ । भाषाभन्दा अंग्रेजहरूको संस्कृति सिक्ने माध्यम बनेको छ, पाठ्यक्रम ।

‘पच्चीस अमेरिकी सैनिकमध्ये इराकी सैनिकले २० लाई मारे भने कति बाँकी हुन्छन् ?’

‘पाँच ।’ram-prasad-dhital

सद्दाम हुसेन र अमेरिकाबीच द्वन्द्व चल्दाताका इराकमा बालबालिकालाई गणित यस्तै शैलीले पढाइन्थ्यो रे ! हिसाब पनि सिकाउने र अमेरिकीहरूप्रति सानै उमेरदेखि आक्रोश भर्ने इराकी नीति थियो त्यो ।

उच्च मावि र स्नातक तह पूरा गरेकाहरुमा पनि सैद्धान्तिक ज्ञान सिके पनि व्यावहारिक ज्ञान शून्य नै देखिन्छ । जीवन चलाउन दैनन्दिन आवश्यक पर्ने सीप वा आफूभन्दा ठूला वा सानालाई कसरी व्यवहार गर्ने भन्ने मामिलामा उनीहरू कमजोर छन् ।

मानिसलाई व्यावहारिक ज्ञानको आवश्यकता कति पर्छ भन्ने लोककथाको सार यस्तो छ –

पण्डितजी कतै प्रवचन दिएर घर फर्किँदै थिए । बाटोमा ठूलो नदी तर्नुपथ्र्यो । आफूसँग भएका इतिहास र पुराणका ठेली बोकेर उनी डुंगामा बसे । माझी डुंगा खियाउन लाग्यो । बाटो काट्ने उपयुक्त माध्यम ठानेर पण्डितजीले माझीसँग कुराकानी गर्न थाले ।

‘बाबु, तैंले पुराण सुनेको छस् ?’

‘छैन’, माझीले उत्तर दिए ।

‘ओहो तेरो चौथाइ जिन्दगी त्यसै बितेछ ।’ पण्डितले फेरि सोधे, ‘नीति त सुनेको होलास् नि !’

माझीले छैन भन्दै मुन्टो हल्लाए ।

‘तेरो आधा जिन्दगी नै खेर गएछ नि !’, पण्डितले भने ।

नदीको मध्य भागमा पुगेपछि बेजोडको आाधी चल्यो । पानीसहितको हुरीले डुंगा जोगाउनै मुस्किल भयो । दुवै आत्तिए । डुंगामा बसे पनि बच्न नसकिने स्थिति थियो । माझीले सोधे, ‘पण्डितजी, पौडन जान्नुभएको छ ?’

‘छैन’, नीलो-कालो हुँदै पण्डितले जवाफ दिए ।

‘त्यसो भए तपाईंको पूरै जिन्दगी खेर जाने भयो’, यति नभन्दै माझी डुंगाबाट हामफालेर ज्यान जोगाउनतिर लागे ।

हाम्रो पढाइ पनि यस्तै त भइरहेको छैन ? विभिन्न डिग्री हातमा छ, तर व्यावहारिक ज्ञान छैन । आज स्नातक पढ्दै गरेका छोरा-छोरीलाई घरमा गाह्रोसाह्रो पर्दा तातोपानी तताएर खानेसम्म ज्ञान छैन । आकस्मिक घटना भइहाल्यो भने प्राथमिक उपचार गर्न सक्ने कति जना हुन्छन् ?

सबैलाई ज्ञानको ज्योति दिने शिक्षक विद्यार्थीले गृहकार्य नगरेको निहुामा अंगभंग हुनेगरी पिट्छन् । बिरामीको सेवा गर्न बसेकी नर्स बिरामीले भनेको मानेन भनेर झर्कोफर्को गर्छे । छोरो दुनियाँको सामु ‘हाई हाई’ हुने स्थानमा पुग्छ । तर, उसलाई त्यो स्थानसम्म पुर्‍याउन दिनरात नभनी मिहिनेत गर्ने बाबुआमालाई घरबाट निकालेर वृद्धाश्रम पुर्‍याउँछ । यस्ता अनगिन्ती उदाहरण छन् ।

नचाहिने कुरा रटीरटी पढेर समय खेर फालेकोमा अहिले चुकचुक लाग्छ । अनि जीवनको आरोह अवरोहमा आवश्यक पर्ने कति कुरा पढ्न नपाएको र पाए पनि राम्ररी नपढेकोमा पश्चाताप !

मेरा परिचित एक मौसमविद् छन् । बाटोमा मुसा रुझे झैं निथ्रुक्क पर्दै आएको धेरै पटक भेटेको छु । मौसमविद्लाई नै मौसमको बारेमा ज्ञान नहुने कस्तो पढाइ ?

हाम्रो सिकाइ र जनचेतनाको अवस्था कस्तो रहेछ भनेर गत वर्षको भूकम्पले पनि देखाइदियो । सुरक्षित स्थलमा खेलिरहेका नानीहरू भूकम्प आउने बित्तिकै घरभित्र पसे । तीमध्ये कति बिते, कति घाइते भए, लेखाजोखा नै छैन ।

कक्षा ९/१० मा ऐच्छिक विषय कृषि लिएको थिएा । त्यसअघि पूर्व व्यवसायिक शिक्षा विषय पनि पढियो । टेस्ट र एसएलसीमा ‘प्राक्टिकल’ मा २५ मा २२, २३ आयो पनि । मैले घरमा भएको सानो बारीमा पनि कहिल्यै कुटोसम्म चलाएको छैन । ‘छोरोले कृषि पढेको’ भन्दै बुबा अलि अगाडिसम्म व्यंग्य गर्नुहुन्थ्यो ।

स्कूल भवन वरिपरिका झाडी फाँडेर र वृक्षारोपण गरेर अनि किताबी ज्ञान लिएकै भरमा ज्ञान नहुने रहेछ । ज्ञानका लागि त अभ्यास चाहिने रहेछ । माहुरीपालनबारे पनि पढे जस्तो लाग्छ, तर घरमा आएर बसेको माहुरीको मह काढ्ने कसरी ? दुई वर्षदेखि सोचमै छु । हात चाट्न त परको कुरा ।

नचाहिने कुरा रटीरटी पढेर समय खेर फालेकोमा अहिले चुकचुक लाग्छ । अनि जीवनको आरोह अवरोहमा आवश्यक पर्ने कति कुरा पढ्न नपाएको र पाए पनि राम्ररी नपढेकोमा पश्चाताप !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment