Comments Add Comment

प्रिय पुस्तक: बेढंगका लाग्ने कुरामा यतिविघ्न रुचि

yubraj_810म रंगकर्मी भएको नाताले किताबहरुले मेरो काममा निकै बल प्रदान गर्छन् । मलाई लाग्छ, एउटा रंगकर्मी, चित्रकार, फिल्ममेकरको भाषा, विम्ब, विचार धेरै फराकिलो हुनुपर्छ । त्यसरी फराकिलो पार्न साहित्यिक कृतिहरुले ढोका खोलिदिन्छन् ।

सबै किसिमका कलात्मक अभिव्यक्ति पोएटिक (काव्यिक) हुनुपर्छ जस्तो लाग्छ । पोएटिक भनेको कविता मात्रै हैन । नाटक, पेन्टिङ र फिल्म जस्ता कुरा पोएटिक अर्थात् एउटा लयमा हुनुपर्छ । त्यो लय साहित्यले बढोत्तरी गर्छ भन्ने मलाई लाग्छ । म पनि नाट्य कर्ममा साहित्यबाट लय भेट्छु ।

 

हरेक क्षेत्रको आफ्नो साहित्य हुन्छ । साहित्यले कुनै पनि क्षेत्रमा लाग्ने मान्छेलाई आफ्नो काममा झन् सिर्जनशील र ऊर्जावान् बनाउँछ । चाहे त्यो किसान होस्, धावक होस् वा मेकानिक नै किन नहोस्, आफ्नो क्षेत्र र त्यहाँभित्रका उदाहरणीय व्यक्तित्वको बारेमा पढ्न पाउँदा उनीहरु उत्प्रेरित हुन्छन् ।

म पनि किताबबाट प्रेरित भइरहेको हुन्छु । जसरी एउटा विरुवालाई हुर्किन मल र पानी चाहिन्छ, त्यसैगरी किताब मेरो लागि तिर्खा हो ।

हरेक विधामा मेरो मन पर्ने किताब फरक-फरक छन् । पहिलो रोजाइमा नाटककै कृतिहरु पर्छन् । टेनिस विलियम्सको ‘क्याट अन अ हट टिन रुफ’ (१९५५) एकदमै मन पर्ने नाटक हो । त्यसमा एउटा परिवारको रियालिस्टिक कथा छ । तर, रियालिस्टिकभित्र पनि पात्रहरुको असंगति (अब्सर्डिटी) लाई राज्यसँग जोडिएको छ ।

ट्रासी लेट्सको नाट्य कृति ‘ओसागा अगस्ट काउन्टी’ अर्को बुलन्द लागेको नाट्य कृति हो । त्यो किताब धेरै रुचि लागेर एमाजोनबाट मगाएरै पढेको थिएँ । मभित्र एकदम गढेर बसेको छ ।

मलाई मन परेको अर्को किताब इटालीका नाटक निर्देशक ज्याकिज लिकक ‘मुभिङ बडी’ हो । रंगकर्मीहरुको लागि निकालिएको त्यो किताबले शरीरको व्याख्या गर्छ । सामान्यतया मानव शरीर लगायत भौतिक कुरा केही हैन भनिन्छ । तर, किताबले कुनै पनि मान्छेको बाल्यकाल, उसको दृष्टिकोण, संस्कृति, राजनीतिक परिस्थिति जस्ता कुरा उसको शरीरमा प्रतिविम्बित भइरहेको हुन्छ भन्छ

नाटकमा मुख्य पात्रलाई क्यान्सर हुन्छ । पछि त्यो नाटक मञ्चन गर्दा लेखककै बुवालाई मुख्य भूमिकामा खेलाइएको थियो । संयोग कस्तो भने, उनी वास्तविक जीवनमै क्यान्सरका रोगी थिए । नाटक खेल्दाखेल्दै बीचमै उनको मृत्यु भएको थियो ।

मलाई मन परेको अर्को किताब इटालीका नाटक निर्देशक ज्याकिज लिकक ‘मुभिङ बडी’ हो । रंगकर्मीहरुको लागि निकालिएको त्यो किताबले शरीरको व्याख्या गर्छ । सामान्यतया मानव शरीर लगायत भौतिक कुरा केही हैन भनिन्छ । तर, किताबले कुनै पनि मान्छेको बाल्यकाल, उसको दृष्टिकोण, संस्कृति, राजनीतिक परिस्थिति जस्ता कुरा उसको शरीरमा प्रतिविम्बित भइरहेको हुन्छ भन्छ । मान्छे जसरी बस्छ, त्यसले समेत उसको मनोविज्ञान बताउँछ भनिएको छ ।

उपन्यासमा मलाई एकदम मन पर्ने फ्रान्ज काफ्काको ‘द मेटामोर्फोसिस’ हो । दुःखजिलो गुजारा चलाउने एउटा साधारण परिवार छ, जसमा छोरा ग्रेगर साम्सा सेल्सम्यान छन् । उनैको कारुणिक जीवनको कथा छ उपन्यासमा । राति सामान्य रुपमा सुतेका उनी भोलिपल्ट बिहान उठ्दा आफूलाई अजीवको कीरामा रुपान्तर भएको पाउँछन् ।

उपन्यास पढिरहँदा मलाई त्यो पात्रको उकुसमुकुसपूर्ण भोगाइले आफूभित्र विचित्रको भाव पैदा भयो । पढ्दै गर्दा शरीरमा असहज महसुस भयो । म नै साङ्लो जस्तो लाग्यो । एक किसिमले मलाई  ‘साइको’ बनायो । एउटा रचनाले त्यति प्रभाव पार्छ भनेर ‘मेटामोर्फोसिस’ उदाहरण बन्यो ।

अकस्मात् कीरामा रुपान्तर भइसकेपछि पनि उसलाई दैनिक जीवनका हरेक घटना थाहा हुन्छ । यति बज्यो, घरमा पाहुना आए भन्ने लगायतका सबै कुरामा जानकार हुन्छ । अब म उठ्नुपर्छ भनेर अचेतन मनमा लागे पनि यथार्थमा भने ऊ कीरा भएकोले त्यसो गर्न सक्दैन ।

यो उपन्यास राजनीतिक रुपमा पनि जोडिएको छ भन्छन् । दोस्रो विश्वयुद्धपछि पश्चिमा मान्छेहरुमा आएको विचलनलाई ‘मेटामोर्फोसिस’ को चरित्रले चित्रण गर्छ भनियो । त्यो समयको ‘मेटामोर्फोसिस’, ‘मिथ अफ सिसिफस’ जस्ता कृतिलाई माइलस्टोन मानिन्छ ।

ghimire-yuvraj-1नेपालीमा मलाई एकदम मन पर्ने छोटो र थोरैमा धेरै भन्ने लेखक विपी कोइराला हो । ‘मोदीआइन’ मलाई यस्तो दमदार लाग्छ, त्यति सानो किताबमा विपीले कति धेरै कुरा भनेका छन् । ‘मेटामोर्फोसिस’ पनि त्यस्तै सानो आकारको भईकन असाध्यै प्रभावशाली छ ।

मेरो पनि सपना छ, मैले यदि कुनै दिन किताब लेखेँ भने त्यस्तै एक सय ५० पेजको हाराहारीमा लेख्नेछु । ५-६ सय पेजको लेख्दिनँ जस्तो लाग्छ । किनकि सानो कृतिको गहकिलो प्रभाव मैले चाख्न पाएँ । कविता त्यस्तै थोरैमा धेरै भन्ने कुरा हो ।

मलाई मसिना कुराले निकै छुन्छन् । भारतीय लेखक उदय प्रकाश त्यस्तै मसिना विषय लेख्ने साहित्यकार हुन् । उनले झिनो कुरालाई कति मजाले प्रभावशाली रुपमा लेख्छन् । उनको ‘तिरिछ’ कथासंग्रहले निकै लोभ्याएको थियो ।

त्यहाँभित्रको एउटा कथामा नेलकटरलाई मान्छेको सम्बन्धसँग जोडिएको छ । जीवनका धेरै महत्वपूर्ण र मन परेका कुरा पनि हामीले नचाहँदा नचाहँदै एकैछिनमा बिर्सिन्छौं भन्ने कुरा इंगित गरिएको छ । उदय प्रकाशको सबभन्दा राम्रो लाग्ने पक्ष उनले बीचबीचमा छ्वास्स राजनीतिक कुरा पनि मिसाउँछन् ।

धेरैले सामुअल वेकेटको ‘वेटिङ फर गोदो’ मन पर्छ भन्छन् । तर, मलाई चाहिँ उनैको ‘इन्डगेम’ नाटक मन पर्छ । मञ्चमा दुई पात्र हुन्छ । जसमध्ये एक जना अपांगता भएको व्यक्ति छ । जो कुर्सीमा हल न चल गरी बसेको छ, कोठामा उज्यालो आउँछ भनेर पर्खिरहेको छ । अर्को व्यक्ति चाहिँ उसको सहयोगी हुन्छ । यो सबै कुरा असंगत देखिन्छ, तर जीवनभन्दा पर लाग्दैन ।

मैले नाटक गर्दा ‘फेमिली अब्सर्ड’ नै गर्न रुचाउँछु । त्यसले मान्छेको दैनिक जीवनको राजनीति देखाओस् भन्ने सोच्छु । ‘मेटामोर्फोसिस’ मन परेको कारण पनि एउटा क्यारेक्टरलाई लिएर व्यक्ति र उसको परिवारको दुर्दशा देखाउन सकिन्छ भन्ने हो

मलाई असंगत कुरा वास्तविकताभन्दा पर छैन भन्ने कहाँनेर लाग्छ भने, मान्छेले अञ्जानमै बाटोमा हिँडिरहँदा नाकभित्र औंला हालेर कोट्याउँछ । तर, एकैछिनमा अरु बटुवाहरुले देखे कि भनेर ऊ सजग हुन्छ ।

कुनै पनि मान्छेलाई चेतन मनले समाजको नीति, नियम र शिष्टतामा बाँधिन बाध्य गराइरहेको हुन्छ । तर, उसको जिन्दगीको चरम खुसीको क्षण र फ्रस्टेसनमा उसको अचेतनले प्राकृतिक प्रतिक्रिया जनाइहाल्छ, जुन समाजको चश्माबाट हेर्दा असंगत र अवास्तविक देखिन्छ ।

यस हिसाबले त्यो असंगत प्रतिक्रिया र व्यवहार नै खासमा स्वाभाविक हो । यसैले कुमार नगरकोटीको लेखन मलाई मन पर्छ । उनको लेखन जतिसुकै अस्वाभाविक र असंगतिपूर्ण भए पनि तिनमा कहिले पनि म जिन्दगीभन्दा परको रङ देख्दिनँ ।

मान्छे रमाउने र दुःखी हुने कुरामा प्राकृतिक रुपमा जसरी व्यक्त हुनुपर्ने हो, त्यसरी हुँदैन । समाजको मर्यादा, सभ्यता जस्ता कुराले उसलाई दबाउने रै’छ । त्यसलाई हामी अभिनयको भाषामा ‘प्रिटेन्डिङ’ भन्छौं । मान्छेले आफ्नो प्राकृतिक अवस्थालाई विभिन्न परिस्थिति र कारणले अर्को देखाउन खोज्छ, त्यही नै प्रिटेन्डिङ हो ।

अमेरिकी अभिनेता र फिल्ममेकर ज्याक निकल्सनले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘म त के एक्टर हो र ! आम मान्छे पो एक्टर हो । त्यसैले मैले एक्टिङ गर्न छोडिदिएँ ।’

त्यस क्रममा उनले एउटा उदाहरण दिएका छन्, ‘बाटोमा एउटी राम्री युवती उताबाट आई भने तपाईं सजग बन्नुहुन्छ । तपाईंको उद्देश्य के हुन्छ भने, आफू राम्रो देखिएर उसलाई प्रभावित पार्ने । ता कि केटा राम्रो रै’छ भनेर युवतीलाई लागोस् । त्योभन्दा बढी त केही हुने होइन नि !’

यसरी हामीले दैनिक जीवनमा राम्रो देखिने, मिलाएर बोल्ने नाममा आफ्नो नेचुरल स्वरुप र व्यवहार खुम्च्यारहेका हुन्छौं । समाजले पनि हामीलाई असल देखिनुपर्छ भनेर निश्चित परिभाषा कोरेको हुन्छ । यसैले जति नेचुरल भयो, उति अब्सर्डिटी (असंगति) आउँछ जस्तो लाग्छ मलाई । त्यही भएर कहिलेकाहीँ रियालिटी देखाउनको लागि रियालिटीले मात्र पुग्दैन, रियालिटी देखाउन हामी नाटकमा फरक खालको कथा वाचनको शैली अपनाउँछौं ।

मैले नाटक गर्दा ‘फेमिली अब्सर्ड’ नै गर्न रुचाउँछु । त्यसले मान्छेको दैनिक जीवनको राजनीति देखाओस् भन्ने सोच्छु । ‘मेटामोर्फोसिस’ मन परेको कारण पनि एउटा क्यारेक्टरलाई लिएर व्यक्ति र उसको परिवारको दुर्दशा देखाउन सकिन्छ भन्ने हो । जहिले पनि मेरो दिमागमा आउने र मैले नाटकमा लिने पनि त्यस्तै क्यारेक्टर हो । त्यसले नै मलाई छुन्छ । साहित्य त्यसरी नै आउनुपर्छ भन्ने मलाई लाग्छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment