Comments Add Comment

माओवादीका चाचाः ‘हतियार सप्लायर’ मात्रै थिए ?

'खतरनाक मान्छे' को हल्काफुल्का जीवनी

chaachaa_810
८ माघ, काठमाडौं । माओवादी सांसद स्व. भक्तिप्रसाद पाण्डे (चाचा) को जीवनी गत महिना प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट विमोचन गरे । ‘चाचा भक्तिप्रसाद पाण्डेको संघर्षयात्रा’ शीर्षकको १८० पृष्ठको यो किताब सांगि्रला बुक्सले प्रकाशित गरेको हो । पाण्डेको जीवनीलाई पुस्तकको स्वरुप दिने कार्य पत्रकार सीताराम बरालले गरेका हुन् ।

पाण्डेको बायोग्राफीका रुपमा बजारमा ल्याइएको ‘चाचा’ नामक यो किताब जनयुद्धकालमा माओवादीले कसरी हतियारको किनमेल गरेको थियो र यसमा पाण्डेले कसरी साहसिक योगदान गरेका थिए भनेर बुझ्नका लागि महत्वपूर्ण सन्दर्भसामग्री बनेको छ । तर, पुस्तकले जीवनी-साहित्यका रुपमा भने पाण्डेमाथि न्याय गर्न सकेको देखिँदैन ।

 

पुस्तक पढिसकेपछि यसो भन्न सकिन्छ कि ‘चाचा’ नामको यो पुस्तक ‘खतरनाक’ मानिसको हल्काफुल्का टिप्पणी मात्र हो । माओवादीको इतिहास बुझ्न यो किताव जति महत्वपूर्ण छ, भक्तिप्रसाद पाण्डेको सिंगो जीवनलाई बुझ्नका लागि भने त्यति नै हानिकारक ।

पुस्तकभित्र के छ ?

पुस्तकमा २१ वटा उपशीर्षकहरु छन् । कम्युनिष्टको खोजी, रगतको ल्याप्चे लगाएर सदस्यता, लुम्बिनीमा कम्युनिष्ट सेना, मनी एक्सनको पूर्वाद्ध र हर्रेबर्रेमा गौंडा ढुक्दै जस्ता उपशीर्षकहरुले अर्घाखाँचीको अर्घामा विसं. २०११ सालमा जन्मेका भक्तिप्रसाद पाण्डेको वाल्यकाल, विद्यालय स्तरको पढाइ र कम्युनिष्ट आन्दोलनमा प्रवेशको झल्को दिएको छ । यी प्रशंगहरुले लुम्बिनीमा त्यसबेलाको राजनीतिक स्थितिको प्रतिबिम्व पनि देखाएको छ ।

त्यसैगरी ‘ज्यान जोगाउन मुगलान’ उपशीर्षकको प्रशंगले चाचाजी कसरी भारतमा निर्वासित जीवन बिताउन बाध्य भए र कति हण्डर ठक्कर खाए भन्ने कथा उजागर गरेको छ ।

भारतबाट फर्केर नेपालको राजनीतिमा संलग्त भएपछिका प्रशंगहरुलाई मजदुर राजनीतिमा, माले छाडेर मसालतिर अनि मोहनविक्रम सिंहसँग पारपाचुके जस्ता उपशीर्षकहरुमा वर्णग गरिएको छ ।

माओवादीमा प्रवेश गरेपछि हतियार सप्लाईको जिम्मेवारी सम्हालेका प्रशंग पुस्तकको केन्द्रीय भाग हो । माओवादी जनयुद्धकालमा भारतका हतियार ओसारेका प्रशंगहरुलाई हतियार सप्लाइको जिम्मेवारी, दाङ हान्ने एके-४७, चुनौती मोलदै ओसारपसार, विस्फोटक पदार्थको खोजी, स्याटेलाइट फोनको खोजी, हतियार कारोबारको सूत्र आदि उपशीर्षकहरुमा रोचक एवं वीर रसको शैलीमा वर्णन गरिएको छ ।

पुस्तकको पछिल्लो भागमा माओवादी पार्टीभित्रको अन्तरसंघर्ष, विप्लवले मारिदिन्छु भनेर थर्काएको प्रशंग, देवगुरुङले अपमान गरेको प्रशंगका साथै प्रचण्ड र बाबुरामसँगको भक्ति पाण्डेको भावनात्मक सम्बन्धबारे चर्चा परिचर्चा गरिएको छ । यो खण्डमा ‘प्रचण्ड र बाबुरामः मेरो मूल्यांकन’ उपशीर्षकमा पाण्डेले प्रचण्ड-बाबुराम दुबै नेतामाथि सकारात्मक मूल्यांकन गरेका छन् ।

माओवादी आन्दोलनको पुनरुत्थानका लागि प्रचण्ड-बाबुराम दुबै नेताहरु एक अर्काका परिपूरक भएको भन्दै उनीहरुलाई आपसमा मिल्न स्व. पाण्डेले सुझाव दिएका छन् । क्यान्सरका कारण गत भदौमा मृत्युवरण गर्न पुगेका सांसद पाण्डेको मरणोपरान्त प्रकाशित जीवनीको विमोचन कार्यक्रममा प्रचण्ड र बाबुराम दुबैले पाण्डेको प्रशंसा गरेका थिए भने प्रचण्डले बाबुरामसँग मिल्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । र, सो कार्यक्रममा भक्ति पाण्डेको मन बाबुरामतिर थियो कि प्रचण्डतिर भन्ने बारेमा पनि दुई नेतावीच हल्का वादप्रतिवाद भएको थियो ।

चाचाको जीवनीमा उपराष्ट्रपति नन्दबहादुर पुनले भूमिका लेखेका छन् । जसमा पुनले चाचाले हाँकेको पजेरोमा कसरी काँकडभिट्टा पुगेर दाङसम्म हतियार ल्याइयो भन्ने उल्लेख गरेका छन् । त्यो कम्ता खतरानाक र साहसिक काम थिएन ।

साथै पुस्तकमा माओवादी अध्यक्ष प्रचण्डले भूमिका लेखेका छन् र भनेका छन् कि भक्तिप्रसाद पाण्डेको सहासिक काम देखेर म छक्क परें ।

त्यसैगरी पुस्तकमा डा. बाबुराम भट्टराई पनि ‘अविस्मरणीय व्यक्तित्व’ शीर्षकमा भूमिका लेखेका छन् ।

पुस्तकमा ‘शून्यबाट सुरु हजार माइलको यात्रा’ शीर्षकमा पाण्डेको प्राक्कथन छ भने सीताराम बरालले ‘साहसिक कालखण्डको दस्ताबेज’ शीर्षकमा भूमिका लेखेका छन् ।

पुस्तकको अन्तिम खण्डमा चाचाजीका छोरा विश्वदीप पाण्डेले आभार मन्तव्यका रुपमा भूमिका लेखेका छन् । हाल डा. बाबुराम भट्टराईको स्वकीय सचिवको भूमिकामा रहेका विश्वदीपले भनेका छन्-‘ आज म जे छु, जुन स्थानमा छु, यसको मुख्य कारक मेरा बुबा भक्तिप्रसाद पाण्डे नै हुनुहन्छ । यो बाटो हिँड्न उहाँले नै दिशानिर्देश गर्नुभएको हो । त्यसपछि म निरन्तर हिँडिरहें, हिँडिरहेको छु ।’

पुस्तकको सबल पक्ष

दुब्लो शरीरमा ह्वार्लाङ्ग लुगा लगाएर हिँड्ने कालोकालो बर्णका भक्तिप्रसाद पाण्डे झट्टै हेर्दा सामान्य मजदुरजस्ता देखिन्थे । उनको सकलले नै भन्थ्यो, उनी ठूला सवारी चालक हुन् । तथापि उनले भौतिक गाडीमाथि हाँकेनन्, समाजलाई नै हाँक्ने प्रयास गरे ।

एउटा सामान्य शरीरभित्र खतरनाक इच्छाशक्ति भएको जिउँदो मान्छेका रुपमा बुझ्न सकिन्छ, स्व. सांसद पाण्डेलाई ।

प्रथमतः पत्रकार सीताराम बरालले पाण्डेको जीवनी प्रकाशन गर्ने कष्टसाध्य कामको नेतृत्व नलिएको भए सम्भवतः पाण्डेले आफ्नो जीवनमा गरेको संघर्ष अभिलेखीकरण हुने थिएन । त्यसैले पाण्डेले भोगेको समय र भुक्तमान गरेको संघर्ष इतिहासमा अभिलेखीकरण हुन पुगेको छ, यो नै ‘चाचा’ पुस्तकको सबैभन्दा सुन्दर र सबल पक्ष हो ।

दोस्रो, यो पुस्तक भक्तिप्रसाद पाण्डेको जीवन संघर्षको कथा भएता पनि यसले माओवादी जनयुद्धकालको हतियार सम्बन्धी इतिहासलाई सतहमा ल्याएको छ । र, यो एउटा माओवादी इतिहासजस्तो सामाग्री बन्न पुगेको छ । पाण्डेको व्यक्तिगत जीवन इतिहासको एउटा सन्दर्भ सामाग्री बन्न पुग्नु यो किताबको अर्को सबल पक्ष हो ।

तेस्रो, यो कितावमा पाण्डेले गरेको अनवरत राजनीतिक संघर्षले विगत केही दशक यता नेपालका कम्युनिष्ट नेता कार्यकर्ताहरुले कसरी जीवन बिताउँथे र के कस्तो भुक्तमान भोग्ने गरेका थिए भन्ने दृश्यलाई देखाइदिएको छ । नयाँ पुस्ताका लागि यो एउटा ऐनाजस्तै हो, पुरानो पुस्तालाई चिन्नका लागि ।

चौथो, स्व. पाण्डेले कसरी पुराना पार्टीहरु छाड्दै नयाँ विचार अपनाउँदै गए र व्यक्तिगत स्वार्थमा भन्दा बढी परिवर्तनको पक्षमा आफूलाई उभ्याए भन्ने कुरा पुस्तकमा पढ्न पाइन्छ । अहिलेको राजनीति स्वार्थकेन्दि्रत एवं भ्रष्ट बन्दै गइरहेका बेला चाचाजीको जीवन संघर्षले ‘इमानको राजनीति’ तर्फ लाग्न अभिप्रेरित गर्छ । स्वयं माओवादी आन्दोलन पदलोलुप र भ्रष्ट बन्दै गइरहेका बेला माओवादी कार्यकर्ताले यो किताब पढ्यो भने उसमा सांस्कृतिक शुद्धीकरण हुन सक्ला कि ? यो पुस्तकको अर्को सबल पक्ष हो ।

पाँचौं, भाषा र सम्पादनका हिसाबले पनि किताव पठनीय छ । छोटा उपशीर्षकहरु र सरर बगेको भाषाका कारण पुस्तक कहीँ पनि अल्छी लाग्नेखालको छैन ।

पुस्तकको कमजोर पक्ष

चाचाको बायोग्राफी पढ्दाखेरि सबैभन्दा बढ्ता खड्किने कुरा के हो भने ‘वायोग्राफी’का रुपमा यो किताबले पाण्डेमाथि सही अर्थमा न्याय गर्न सकेको छैन ।

पुस्तक पढिसक्दा कोही पनि व्यक्तिलाई पाण्डे एकजना निरस अनि हतियारसँग मात्रै खेल्ने मान्छे हुन् भन्ने पर्न सक्छ । ०२९ सालतिरै सैनिक गठन गरेको, हर्रेबर्रेमा एक्सन गरेको, भुजा हालेको बोरामा हतियार बोकेर हिँडेको, हतियार किन्न भारतका तस्करहरुसँग भेटघाट गरेको जस्ता कथाहरु साहसिक त छन्, तर, यस्ता भोीतक हतियारको कथालेमात्रै पाण्डेको जीवनको सौन्दर्यलाई अभिव्यक्त गर्न सक्दैन । पाण्डे वीरप्पनजस्ता व्यक्ति होइनन्, जसले हतियार सप्लाइमा मात्रै भूमिका खेले ।

तर, पुस्तकले पाण्डेलाई हतियार सप्लायर्सका रुपमा नै बढ्ता प्रस्तुत गरेको देखिन्छ ।

पुस्तकको प्रारम्भमा पाण्डेको परिवारिक पृष्ठभूमि र व्यक्तिगत स्थितिबारे थोरै चर्चा त गरिएको छ, तर त्यो पनि हेलिकोप्टरबाट जमिनको निरीक्षण गरेजसरी सतहमा दौडाइएको छ । पाण्डेको भोगाइएको व्याख्या कतै दौडिनका लागि हतारमा सुनाइएको कथाजस्तो बन्न पुगेको छ ।

पाण्डेको ‘संघर्षको कथा’ मा सबैभन्दा बैरागलाग्दो पाटो त के छ भने उनले विवाह कहिले गरे ? चर्चासम्म छैन । पुस्तकभित्र राखिएको तस्वीरमा श्रीमती सावित्रा र छोरा विश्वदीपसँग बसेको देखाइएको छ । तर, शावित्रासँग पाण्डेको विवाह कहिले र कसरी भयो ? प्रेम विवाह हो कि मागी विवाह ? छोराछोरी कहिले जन्मिए ? अर्घाबाट रुपन्देशही बहिले बसाइँ सराइ भयो ? परिवार कसरी धानियो ? केही पनि पढ्न पाइन्न ।

पाण्डेले परिवारको जीवन धान्न दुईवटा ट्रक किनेको एक ठाउँमा चर्चा छ । कामरेड चाचाजीले केही समय ड्राइभर भक्ति पाण्डेका रुपमा पनि जीवन संघर्ष गरेका थिए । उनले बुटवलदेखि काठमाडौंसम्म सवारी चलाउँथे । एउटा ड्राइभरका रुपमा पाण्डेले भोगेको जिन्दगी पनि कितावमा आएको भए यो पुस्तकमा प्राण भरिन सक्थ्यो ।

एउटा कम्युनिष्ट क्रान्तिकारीको जीवनमा पार्टी र हतियार मात्रै जोडिएको हुँदैन । वास्तवमा उसको जीवन र भोगाइ मुख्य कुरा हो, हतियार र पदीय जिम्मेवारी नै सबथोक होइन । तर, पाण्डेको जीवनीमा जीवन नै छुटेको छ । र, निर्जीव हतियारले प्राथमिकता पाएको छ । यसले गर्दा यो किताब ‘इतिहास’ जस्तो बढ्ता र वायोग्राफीजस्तो कम प्रतीत हुन्छ ।

पछिल्लो समय भक्ति पाण्डेले क्यान्सरसँग संघर्ष गरे । पाण्डेलाई क्यान्सर लागेको सूचनासम्म त किताबमा पढ्न पाइन्छ, तर क्यान्सर लागेपछि उनले गरेका अनुभूति, उपचारका लागि गरिएको संघर्ष, उपचार खर्च जुटाउनका लागि भएको संघर्ष इत्यादि केही पनि छैन । पुस्तकभित्र छुटेको यो निकै सम्वेदनशील पाटो हो ।

भक्ति पाण्डेले गरेको संघर्षको कथामा उनकी पत्नी सावित्राले एक होलटाइमरकी पत्नीका रुपमा भोगेको भोगाइ छुट्नु भनेको कथाको एउटा सिंगै च्याप्टर छुट्नुजस्तै हो ।

आगामी दिनमा सम्भव भएसम्म माथि चर्चा गरिएका छुटेका पाटा पक्षहरु पनि पुस्तकमा समेटिएर आएको खण्डमा चाचाको जीवनीले साँच्चै नै सौन्दर्य रसले भरपुर साहित्यको स्थान लिन सक्नेछ । अन्यथा यो एउटा इतिहासको दस्ताबेज त बन्ने छ, तर जीवनी-साहित्यको दृष्टिले अपूर्ण र कमजोर ठहरिन सक्छ ।

तथापि पुस्तक माओवादी र गैरमाओवादी सबैले पढ्नैपर्ने खालको रहेकोमा भने कुनै विवाद छैन ।

-अरुण बरालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment