Comments Add Comment

मधेसमा २५ लाख मान्छे परिचालन गर्ने एमालेको दाबी

ओलीको नेतृत्वमा एक हजार केन्द्रीय कमाण्ड खटाइने

uml-leaders

९ माघ, काठमाडौं । सरकारले मधेसी मोर्चालाई समेत मनाएर संविधान संसोधन गर्दै स्थानीय चुनावको मिति घोषणा गर्न खोजिरहेका बेला प्रमुख प्रतिपक्ष नेकपा एमाले भने तराई मधेसमा २५ लाख मान्छे परिचालन गर्ने योजना बनाएको छ ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा महासचिव ईश्वर पोखरेल नेतृत्वको सचिवालयले फागुन २१ देखि शुरु हुने मधेस जनपरिचालन अभियानको कार्ययोजना बनाइरहेको छ । संविधान संशोधनबिना मधेसले संविधान स्वीकार नगर्ने मधेस केन्द्रित दलहरुले भनिरहेका बेला एमाले मधेसमा संगठन सुदृढिकरण तथा जन परिचालनको तयारीमा जुटेको हो ।

एमालेको लोकतान्त्रिक मधेशी संगठनका अध्यक्ष रघुवीर महासेठले एमाले मुक्त मधेसको नारा लगाउने कांग्रेस, माओवादी र मधेसी मोर्चालाई एक्लै एमालेले तराई मधेशमा टक्कर दिने गरी योजना बनाइएको दाबी गरे । उनले भने- संविधान संशोधन मधेसी मोर्चा र केही द्वन्द्व व्यवसायी मधेसी बुद्धिजीवीहरुको मात्रै माग हो, आम मधेसी सर्वसाधारणलाई यसको कुनै मतलब छैन ।

एमाले विरुद्ध नियोजित रुपमा मधेस विरोधी भनेर प्रचार गरिएकाले केन्द्रीय कमाण्ड नै मधेस झरेर सबै भ्रम चिर्ने वृहत तयारी भइरहेको २ नम्बर प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले बताए ।

एमालेले फागुन २१ माघमा झापाको काँकडभिट्टाबाट शुरु गर्ने मेची महाकाली तराई मधेस केन्द्रित अभियानमा २५ लाख मान्छे परिचालित हुने लक्ष्य राखेको छ ।

केन्द्रीय सचिवालयका सचिव प्रदिप ज्ञवालीका अनुसार यसबीचमा तराई मधेसका विभिन्न शहर र सदरमुकाममा ३५ ओटा ठूला आमसभा हुनेछन् । ती आमसभाअघि सानातिना प्रचार सभाहरु समेत मधेसमा हुनेछन् । ज्ञवालीले भने-काँकडभिट्टाबाट अघि बढेको टोली बिर्तामोडमा पुगेर अर्को सभा गर्नेछ ।

विभिन्न ठाउँमा बास बस्दै तराईका शहरमा ठूलाठूला सभासहित जनपरिचालन गर्नेछ । यस क्रममा करीव २५ लाख जनता परिचालन हुनेछन् । पहाड र हिमालका जिल्लाहरुमा ४ महिने अभियानबाट उत्साहित भएको एमाले अब तराई मधेसमा केन्दि्रत हुन थालेको हो ।

मधेस आन्दोलनपछि तराई मधेसमा रक्षात्मक अवस्थामा पुगेका एमालेले यो अभियानलाई आक्रामक रुपमा अघि बढाउन लागेको छ । एमालेको यो अभियानको जानकारीपछि सुरक्षा निकायले पनि मधेसमा झडप नहुन् भनेर आवश्यक तयारी थालेका छन् । विशेष गरी नेपाल प्रहरीले एमालेका नेताहरुसँग अनौपचारिकरुपमा जनपरिचालन अभियानको रुट र तयारीबारे जानकारी मागेको स्रोतले जनाएको छ ।

मधेस आन्दोलनपछि तराईमा एमालेका अधिकांश कार्यक्रम महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा भएका छन्, जहाँ पहाडे जनसंख्या बढी छ । यसपटक राजविराज, लाहान, जनकपुर, जलेश्वर, मलंगवा, वीरगञ्जजस्ता शहरमा पनि ठूला सभा र जनपरिचालनको कार्यक्रम एमालेले तय गरेको छ ।

ती ठाउँमा आवश्यक तयारी गर्न त्यहाँबाट निर्वाचित मधेसी नेताहरुलाई एमालेले खटाएको छ । यो अभियानको मुख्य उद्देश्य मधेसमा एमालेलाई बलियो बनाउने हो । ज्ञवालीका अनुसार राष्ट्रिय एकता, सामाजिक सद्भावलाई सुदृढ गर्ने, संविधान कार्यान्वयनका लागि जनदबाव सिर्जना गर्ने र तराई मधेसमा एमालेको संगठन थप सुदृढ बनाउने रहेको छ ।

एमाले मधेसमा कमजोर भएको एमाले नेताहरु औपचारिक रुपमा स्वीकार गर्न तयार छैनन् । तर, एमालेलाई बहुमतसहित पहिलो शक्ति बनाउन तराई मधेसमा केन्द्रित हुनुपर्ने ठहर गरिएको ज्ञवालीले बताए ।

यो अभियानको स्वरुप र्‍याली र सभाहरु हुनेछन् । तर, अभियान निरन्तर चल्नेछ र केन्द्रबाट एक हजारजनाको जम्बो टोली अभियानको अन्तसम्म पूर्णकालीन रुपमा खटिनेछ । यो १ हजारको टोलीमा पार्टी अध्यक्ष केपी ओलीसहित केन्द्रीय नेताहरु, स्वयंसेवक, सांस्कृतिककर्मी, स्वास्थ्यकर्मीहरु हुनेछन् ।

तराईको एउटा शहरबाट अर्को शहरमा हुने सभामा

मोटरसाइकल, गाडीहरुमा मान्छे एक ठाउँबाट अर्को ठाउँ परिचालन हुने गरी रुट तय भएको छ । एमालेले यो अभियानलाई विशेष गरी २ नम्बर प्रदेशमा पार्टीको छवि सुधार्ने अभियानका रुपमा अघि बढाउन खोजेको नेताहरुले बताएका छन् । तराईका २० जिल्लामध्ये एमालेका लागि २ नम्बर प्रदेशका ८ जिल्ला बढी चुनौतिपूर्ण देखिएका छन् ।

एमोलेको आन्तरिक प्रतिवेदनहरुका अनुसार झापा, मोरङ, सुनसरी, रुपन्देही, नवलपरासी, कैलाली, कञ्चनपुर जस्ता जिल्लामा एमालेको शक्ति मजबुत भएको छ । २ नम्बर प्रदेशका जिल्लाहरुमा पनि महेन्द्र राजमार्ग क्षेत्रमा पार्टीको अवस्था थप सुदृढ भएकाले दक्षिणतिर बढी केन्दि्रत हुने निर्णय भएको महोत्तरीका सांसद दीपनारायण साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment