Comments Add Comment

जापानको अष्ट्रेलियन दूतावासमा नेपाली मूलकी प्रथम सचिव

natasha-hamal

२२ जनवरी, सिड्नी । अष्ट्रेलियाको केन्द्रीय राजधानी क्यानवेरामा यहाँको उच्च सरकारी सेवामा कार्यरत नेपाली अर्थशास्त्री डा. कृष्ण हमालको परिवार शनिबार निकै भावुक र खुशी दुबै थियो । क्यानवेराको हमाल परिवारको खुशी र भावकुता उनकी छोरी तथा नेपाली मुलकी अष्ट्रेलियन कुटनीतिज्ञ नताशा हमाल कारण थिइन् । किनकी नताशा जापानको टोकियोस्थित अष्ट्रेलियन दूतावासमा प्रथम सचिव बनेकी छन् । उनी पदभार ग्रहण गर्न शनिबार टोकियो प्रस्थान गरेकी छन् ।

नेपाली सँस्कृति अनुसार हमाल परिवारले टीका लगाइदिएर तथा दही र फलफूल खुवाएर नताशालाई विदाई गरेको छ ।

natasha-hamal-2

उनका पिता डा. कृष्ण हमालले भावकुता र खुशीलाई थाम्न सकेनन् । उनले आइतबार आफ्नो फेसबुक वालमा लेखे, ‘दुःखी तर जापानको अष्ट्रेलियन दूतावासमा प्रथम सचिवका रुपमा कुटनीतिक पदभार ग्रहण गर्न जान लागेकी हाम्री छोरीप्रति निकै खुशी । बधाई छोरी तिमीले हामीलाई निकै गौरवान्वित बनायौं । तिमी र ज्वाईंसाबको सुरक्षित यात्रा र सुखद टोकियो बसाईको कामना ।’

नताशाका बुवा डा. कृष्ण हमाल अष्ट्रेलियाको केन्द्रीय सरकारको पूर्वाधार तथा क्षेत्रीय विकास विभागमा वरिष्ठ अर्थशास्त्रीको रुपमा कार्यरत छन् । डा. हमालले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘यो हाम्रो परिवार र अष्ट्रेलियन नेपाली सबैका लागि गौरवको कुरा हो ।’

उनले थपे, ‘राम्रो काम र मेहेनत गर्‍यो भने अष्ट्रेलियाले सबैलाई सुनौलो अवसर दिन्छ ।’

natasha-hamal-with-familyनताशाले यहाँको अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्र र बजारशास्त्रमा स्नातक तथा सर्टिफाइड पब्लिक अकाउन्टेन्ट (सीपीए) अध्ययन पूरा गरेकी छन् ।

नताशालाई नेपाली सँस्कृति र कलाप्रति गहिरो प्रेम छ । त्यसको उदाहरण क्यानवेरामा हुने नेपाली जमघटहरुमा नेपाली गीत संगीतमा उनले गर्ने राम्रो नृत्य हो । उनी आठ वर्ष अघि यहाँको अर्थमन्त्रालयको वित्त बिभागबाट अष्ट्रेलियाको सरकारी सेवामा प्रवेश गरेकी हुन् । त्यसपछि उनी अष्ट्रेलियन एडको सेवामा हुँदा सर्विया, भानुवाटु, पपुवा न्युगिनी, सिंगापुर लगायतका देशमा पुगेर अष्ट्रेलियन सरकारको प्रतिनिधिका रुपमा सेवा गरिन् ।

अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयले केही महिना अघि कुटनीतिक सेवाका लागि लिएको परीक्षामा सहभागी चार दर्जन अष्ट्रेलियन कर्मचारीहरुमध्ये चुनिने ६ जनामा नेपाली मुलकी एकमात्र कर्मचारी नताशा थिइन् ।

अष्ट्रेलियाको केन्द्रीय सरकारले प्राय कुटनीतिक सेवामा ‘करिअर डिप्लोम्याट’हरुलाई मात्रै पठाउँछ । नेपालमा जस्तो राजनीतिक वा अन्य सेवाका व्यक्तिहरुलाई राजदूत बनाएर पठाउने प्रचलन बिरलै हुन्छ । अष्ट्रेलियन लेबर पार्टीका पूर्व नेता किम बि्रज्ली र लेबर पार्टीका पूर्व कोषाध्यक्ष जोइ हकीले मात्र अमेरिकी राजदूतको रुपमा काम गरेको पाइएको छ ।

नताशाले कुटनीतिक सेवामा राम्रो प्रगति गर्दै गएमा उनी भविष्यमा नेपाली मूलको पहिलो अष्ट्रेलियन राजदूत बन्ने उनका पिता डा. कृष्ण हमालले अनलाइनखबरलाई बताए ।

नताशा सन् १९८४ मा नेपालको पाटन अस्पतालमा जन्मिएकी हुन् । उनी चार वर्षको उमेरमा उनका माता-पितासँगै क्यानडा गइन् । १९९१ मा अविभावकहरु अष्ट्रेलिया आएपछि उनी यतै हुर्किइन् ।

उनले आफू जहाँ भएपनि नेपाली कला र सँस्कृतिको जगेर्ना गर्न लागिरहने विदाईमा आफ्ना अविभावकहरुलाई बताइन् । उनी तीन वर्ष टोकियो बस्नेछिन् ।

उनले भारतीय मूलका अष्ट्रेलियन नागरिक तथा सफ्टवेयर इन्जिनियर दीपक डोर्वीसँग विवाह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment