Comments Add Comment

सार्क समिति र बिमस्टेकको बैठक काठमाडौंमा हुँदै

९ माघ, काठमाडौं  । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को बैठक यही माघ महिनामा नेपालमा हुने भएका छन् । 

SAARCक्षेत्रीय सङ्गठन सार्क र बिमस्टेकको अध्यक्ष नेपालले यही माघ १९ र २० गते सार्क कार्यक्रम समितिको र २३ देखि २५ गतेसम्म बिमस्टेकका तीन तहका बैठक आयोजना गर्न लागेको हो । हरेक वर्ष कम्तीमा कार्यक्रम समितिका दुईवटा बैठक हुनुपर्ने सार्कको प्रावधानअनुसार सदस्य मुलुकका सहसचिव सम्मिलित ५३ औँ बैठक हुन लागेको परराष्ट्र मन्त्रालयको क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले राससलाई बताए । 

यसैगरी माघ २३ गते बिम्स्टेकको सत्रौँ संयुक्त कार्यदल, २४ गते सत्रौँ उच्च पदाधिकारी तयारी बैठक र २५ गते सदस्य देशका विदेश मन्त्रालयका सचिवको सत्रौँ बैठक निर्धारण भएको उनले बताए । 

सार्क सचिवालय सञ्चालनलगायत बजेटसँग सम्बन्धित विषयमा कार्यक्रम समितिको ५३ औँ बैठक केन्द्रित हुने जानकारी दिँदै उहाँले बिमस्टेक बैठकमा बिमस्टेकले प्राथमिकता तोकेका सामाजिकआर्थिक विकासका १४ क्षेत्रमा भएका प्रगतिको समीक्षा गरिने बताउनुभयो । 

पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगन भएकाले अध्यक्षता हस्तान्तरण नभएको नेपालले उक्त बैठक आयोजना गर्नुपरेको हो । बिमस्टेकको चौथो शिखर सम्मेलन यसै वर्ष नेपालले आयोजना गर्ने सन्दर्भमा तीन तहका बिमस्टेक बैठक राजधानीमा हुन लागेका हुन् । सार्क कार्यक्रम समितिको बैठकमा अफगानिस्तान, बङ्गलादेश, भुटान,भारत, मालदिभ्स, पाकिस्तान र श्रीलङ्काका अधिकारीले सहभागिताको सुनिश्चितता गरिसकेका छन् । 

त्यसैगरी, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्याण्ड र श्रीलङ्काका अधिकारीले पनि बिमस्टेक बैठकमा भाग लिने निश्चय भइसकेको छ । बिमस्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि,मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनताजनताबीचको सम्पर्क विस्तार,प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment