Comments Add Comment

सँझ्यामा तीन कवि

काठमाडौं । सँझ्या साहित्यको माघ शृङ्खलामा तीन कवि प्रस्तुत भए । मध्यपुर थिमिस्थित ॐ ज्ञान मन्दिरमा भएको कार्यक्रममा अमर गिरी, विमला तुम्खेवा र नेपाल भाषाका कवि सुधीर ख्वबीले चुनिएका कविताहरु सुनाए ।

sanjhya-kavitaतीसको दशकदेखि नेपाली कवितामा दरिलो उपस्थिति जनाइरहेका गिरीले  ‘भिन्नता’ शीर्षकको कविताबाट सुरु गर्दै राजनीतिक अस्थिरता र देशप्रेम सम्बन्धी आधा दर्जन कविता सुनाए । ‘पुनः नारायणहिटी’ कवितामार्फत उनले महेन्द्रकालीन राष्ट्रवादको भण्डाफोर गरे भने ‘मैले भन्नुपर्ने वामपन्थ’ मा समाजमा समानान्तर रुपमा बढ्दो राजसी ठाँट र दास मनस्थितिमाथि व्यङ्ग्य गरे ।

अर्को क्रममा उभिएकी तुम्खेवाले रुमानी कविताबाट थालनी गर्दै ‘हजार सपना र मनमाया’, ‘जेठी सुबिनी’, ‘आमा’, ‘शहरमा बदनाम कथा’ लगायत गम्भीर कविता सुनाइन् । नारी सौन्दर्य र जातीय पहिचानबारे कविता लेखेर अलग चिनारी बनाएकी उनले ‘आदिवासीको कथा’ मा नारी र आदिवासीमाथि राज्यले गरिरहेको विभेद केलाइन् । यस्तै, ‘के देशले लाश उत्पादन गरिरहेछ’ कवितामार्फत रेमिट्यान्समा बाँचिरहेको देशलाई चुनौती दिँदा दर्शक गम्भीर भए ।

अर्का कवि सुधीर ख्वबीले ‘विज्ञापन’ कवितामा गरिब, नारी र आदिवासी जनजातिलाई विज्ञापनको वस्तु बनाएर बहुराष्ट्रिय कम्पनीले मच्चाएको ताण्डवमाथि गरिएको व्यङ्ग्यलाई धेरैले रुचाए । उनले ‘रूपान्तरण’, ‘गुलामहरूको देश हुँदैन’, ‘प्रेम कविता’, ‘घामको बाटो’ र ‘देशको नाममा’ लगायत कविता सुनाए ।

सँझ्या साहित्य प्रत्येक महिनाको दोस्रो शनिबार हुँदै आएको छ । लेखिरहेका तर नदेखिएका कविका कवितालाई अगाडि ल्याउने कार्यक्रमको मुख्य उद्देश्य रहेको अभियन्ता रामगोपाल आशुतोषले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment