Comments Add Comment

एक्ली महिला सीडीओ भन्छिन्- तेह्रथुममा आत्महत्या बढ्यो, रोक्ने उपाय खोज्दैछु

निजामती कर्मचारीलाई ढाकाको पोशाक लगाउन आग्रह

munaka-810१० माघ, काठमाडौ । तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी तथा उपसचिव मुनका न्यौपाने करिब २१ बर्षदेखि निजामती सेवालाई नजिकबाट नियालिरहेकी छिन् । उनको बुझाइमा आफ्नो व्यवहारद्वारा सेवाग्राहीको मन जित्नु नै राष्ट्रसेवकको मुख्य धर्म हो ।

पछिल्लो समय कर्मचारी प्रशासनमाथि विभिन्न आरोपहरु लागिरहेका बेला मुनका भने पूर्वी नेपालको दुर्गम जिल्ला तेह्रथुमको प्रमुख जिल्ला अधिकारीको भूमिकामा बसेर प्रशासन सुधारको कसरत गरिरहेकी छिन् ।

प्रशासन सुधारको बहस चलिरहेका बेला प्रमुख जिल्ला अधिकारी न्यौपाने भन्छिन्- सेवाग्राहीसँग कर्मचारीहरु कसरी प्रस्तुत हुन्छन् भन्ने कुरामा सुशासनका धेरै पक्षहरु निर्भर गर्छन् ।

मुनका ०५२ सालमा निजामति सेवामा अधिकृत तहबाट प्रवेश गरेकी हुन् । उनी ०६९ मा उपसचिव भइन् । सेवा प्रवेश गर्नुपूर्व उनी कुनै गैरसरकारी संस्थामा जागिरे थिइन् । तर, एनजीओमा सेवाको स्थायित्व देखिनन् र निजामति सेवातर्फ प्रवेश गरिन् ।

न्यौपाने भन्छिन्, ‘एकातिर सेवाको स्थायित्व हुने र अर्को तिर सार्वजनिक प्रशासनमा महिलाको उपस्थिति कमजोर रहेका बेला निजामति सेवा प्रवेश गरेर केही गरौँ भन्ने उत्साह जागेको थियो ।’

सार्वजनिक प्रशासनभित्र रहेर महिला सशक्तीकरण र सामाजिक सुधारमा केही भूमिका खेल्न सक्छु भन्ने बुझाइ मुनकाभित्र रहेको छ ।

मुनकाको पहल साना तर मुख्य समस्या

प्रमुख जिल्ला अधिकारी न्यौपानेको बुझाइमा सरकारी कार्यालयहरुमा साना-साना सुधार गरेर पनि सेवाग्राहीहरुलाई सहज सुविधा दिन सकिन्छ ।

करिब ५ महिनाअघि तेह्रथुम पुगेकी न्यौपानेले त्यहाँ सेवाग्राहीसँग सम्वन्ध विस्तार गर्ने र उनीहरुको सेवालाई सहज बनाउन यस्तै भूमिका खेलिरहेकी छिन् । उनले सुरुमै नागरिकलाई सेवा लिदा सहजताका लागि जिल्ला प्रशासन कार्यालयमा नेपाली भाषाको अडियो नागरिक बडापत्र प्रयोगमा ल्याइन् ।

जिल्ला प्रशासन कार्यालयलाई सेवा मैत्री बनाउन आवश्यक कागजपत्रको फर्म्याट बनाएर निशुल्क प्रयोग गर्न सक्ने बनाएकी छिन् । उनी भन्छिन्-यसो गर्दा कार्यालयको भाषा नमिलेर सेवाग्राहीले दुःख पाउँदैनन्, बाहिर रहेका लेखनदासलाई सेवाग्राहीले बढी पैसा पनि तिर्नु पर्दैन ।

प्रजिअ मुनकाले अशिक्षितहरुका लागि छुट्टै सहायता कक्षको पनि व्यवस्था गरिदिएकी छिन् । यति गर्दा पनि प्रशासनप्रति नागरिकको प्रतिक्रिया सकारात्मक रहेको उनको बुझाइ छ । ‘सुशासन कायम गराउन मेरो जिम्मेवारी काममा सरलीकरण गर्ने हो, सुशासनमा ध्यान दिने हो, उनी भन्छिन् ‘सेवाग्राहीसँग हामी कसरी प्रस्तुत हुन्छौँ भन्ने कुराले धेरै कुरा निर्भर गर्छ ।’

munaka
सार्वजनिक प्रशासन सुधार गर्न तल्लो तहमा साना साना सुधार आवश्यक छ । कुनै सेवाग्राहीको कागजपत्र पुगेको छैन भने उसलाई समाधानको उपायसहित कसरी उसले सजिलै त्यो काम गर्न सक्छ, त्यो हिसाबले कुरा गरियो भने पनि नागरिकले सार्वजनिक प्रशासनलाई सकारात्मकरुपमा हेर्ने उनको बुझाइ छ ।

हरेक राष्ट्रसेवक कर्मचारी ऐन कानुनको घेराले बाँधिएका हुन्छन्, सेवाग्राहीले चाहेको सबै काम गरिदिन नसक्न पनि सकिन्छ, न्यौपानेको बुझाइमा उनीहरुसँग मीठो र सरल भाषामा बोल्नुपर्छ ।

आत्महत्या बढ्यो, रोक्ने उपाय खोज्दैछु

तेह्रथुम जिल्लाको एउटा जटिल समस्या आत्महत्या हो । पछिल्लो समय आत्महत्याको दर उच्च हुँदै गइरहेको छ । प्रमुख जिल्ला अधिकारी न्यौपानेले जनचेतना मार्फत नागरिकमा मनोवल बढाउने खालका कार्यक्रम ल्याउने गृहकार्य गरिरहेकी छिन् ।

अधिकांश युवा/युवती बैदेशिक रोगजारीमा गएका छन् । श्रीमान श्रीमतीमध्ये एक बैदेशिक रोगजारीमा जाने परिवार धेरै छ । त्यो विचमा हुने अवैध सम्वन्धले श्रीमान/श्रीमतीवीच द्वन्द्व बढ्दै हात्महत्याको रुप बढिरहेको मुनकाको बुझाइ छ । उनी जनचेतनाको माध्यमबाट त्यो पक्ष निर्मुल बनाउन कोसिस गर्दैछिन् ।

कर्मचारीले ढाकाको पोशाक लगाऔं

न्यौपाने तेह्रथुम जिल्लाको जिम्मेवारी लिएर जानुपूर्व त्यहाँ कसैको स्वागत, सम्मानमा प्लाष्टिकको खादा प्रयोग गर्ने प्रचलन फैलिरहेको थियो । जाँदा जाँदै उनलाई पनि त्यही खादा लगाइयो । उनलाई लाग्यो, तेह्रथुममा खादाको रुपमा प्रयोग गर्न सकिने ढाकाका खादा पनि थिए । अहिले प्लाष्टिकको खादा पूर्ण रुपमा बन्द गरेर उनी स्थानीय उत्पादनलाई प्रोत्साहित गरिरहेकी छिन् ।

उनी भन्छिन्, ढाकाको खादा प्रयोग गर्दा एकातिर ढाका उत्पादनमा वृद्धि हुन्छ, भने अर्कोतिर रोजगारी बढ्छ । अहिले तेह्रथुमबाट ढाकाका कपडा निर्यातमा बृद्धि भएको छ ।

ढाका उत्पादनको प्रमुख थलोका रुपमा पश्चिम नेपालको पाल्पा जिल्लालाई चिनिन्छ । प्रमुख जिल्ला अधिकारी न्यौपाने भने पूर्वी नेपालको तेह्रथुममा ढाकाको राम्रो सम्भावना देखिरहेकी छिन् । उनको प्रस्ताव छ, कम्तिमा राष्ट्रसेवक कर्मचारीले प्रयोग गर्ने पोशाक ढाकाको मात्र होस् । यतिमात्र गर्न सके नेपालले धेरै ठूलो मात्रामा रोगजारी बढाउन सक्ने उनको दावी छ ।

प्रजिअ मुनका भन्छिन्- ‘आम नागरिकमा सीडियो एकदमै रिसाहा हुन्छ भन्ने धारणा रहेछ, तर मैले नरिसाई पनि काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छु ।’

न्यौपाने अहिले घरेलु उद्योग कार्यालयसँग मिलेर तेह्रथुममा थाकाको कपडा उत्पादन प्रवर्द्धन गरी ढाकासँग सम्वन्धित कपडालाई बुटिकको रुपमा विभिन्न डिजाइन दिएर बजारमा पठाउने योजना बुन्दै छिन् । हामीले आफ्नो ठाउँ सुहाउँदा स्थानीय उत्पादन बृद्धि गर्ने हो भने धेरै रोजगारी बढाउन सकिन्छ ।

ढाका प्रवर्द्धन गर्न तालिम अभियान चलाउँदैछिन् । तर, ढाका उत्पादन अझै व्यवसायिक बन्न सकेको छैन । जो ढाका उत्पादनमा छन्, खेतीपातीको काम नभएको बेला मात्र यस्तो उत्पादनमा हात हाल्छन् । ढाका उत्पादनका लागि जनशक्ति उत्पादन तालिम दिने तयारीमा मुनका जुटेकी छिन् ।

हरेक कार्यालय लैंगिक मैत्री

मुनकाले हरेक सरकारी कार्यालयलाई लैंगिक मैत्री बनाउने अभियान चलाएकी छिन् । ‘उखान टुक्का र हेलचेक्रयाइपूर्ण बोलीवचनले महिला सेवाग्राहीलाई सेवा लिँदा निकै अप्ठेरो लाग्छ, न्यौपाने भन्छिन्, त्यो संवेदनशीलतामा ध्यान दिएर सेवा दिन कार्यालयहरुलाई निर्देशन दिएकी छु ।’

कतिपय कुरा उठाउँदा यति सानो विषय भन्न पनि सक्लान् तर सानो मानिएका कतिपय विषयले सेवाग्राहीलाई गम्भिर असर परिरहेको तिर मेरो ध्यान आकषिर्त भएको छ । उनी भन्छिन्, ‘नयाँ बन्ने भवनमा अनिवार्य महिला शौचालय बनाउन निर्देशन दिएकी छु ।

नागरिक र सरकारको दुरी

राजतन्त्रको अन्त्य भएर लोकतन्त्र हुँदै देश गणतन्त्रमा गयो । तर हरेक दिन नागरिक र सरकारवीचको दुरी बढिरहेको छ । विकास निर्माणले गति लिन सकिरहेको छैन भने नागरिकले निजामति कर्मचारीलाई राष्ट्रसेवक कर्मचारीको रुपमा लिइरहेका छैनन् । आखिर किन यस्तो भइरहेको छ ? न्यौपाने भन्छिन्- सेवाग्राहीप्रति कर्मचारीको प्रस्तुती, व्यवहारका कारण पनि नागरिकहरु सरकारसँग रिसाइरहेका छन् ।
प्रजिअ मुनका भन्छिन्- ‘आम नागरिकमा सीडियो एकदमै रिसाहा हुन्छ भन्ने धारणा रहेछ, तर मैले नरिसाई पनि काम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छु ।’
मुनकाले सार्वजनिक प्रशासनभित्र देखेको अर्को समस्या कार्यालयहरुको ‘संस्थागत मेमोरी पावर नहुनु’ । अधिकांश कार्यालयको रेकर्ड सिस्टम राम्रो छैन । पहिलेका रेकर्डहरु नहुँदा कतिपय अवस्थामा काम गर्न अप्ठेरो परिरहेको उनको अनुभव छ । त्यही कारण पनि उनले जिल्ला प्रशासन कार्यालय तेह्रथुमको रेकर्ड सिस्टमलाई सुधार गर्दैछिन् ।

‘पहिले रेकर्ड सिस्टम राम्रो रहेनछ, कुनै पनि फाइल खोजेको बेला नभेट्ने, कतिपय त भेट्दै नभेट्ने हुँदो रहेछ । अब आउने सिडियो साप’ले कुनै पनि फाइल चाहेको बेलामा भेट्न सक्नेछन् ।

घर छोडेर टाढा बस्दाको दु:ख

नेपालमा कमै महिला अधिकारीहरु प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका छन् । २४ सै घण्टा ड्युटीमा हुनुपर्ने र परिवारलाई समय दिन नभ्याउने हुँदा पनि त्यो पदमा महिलाको संख्या निकै न्युन छ । अहिले नेपालमा मुनका मात्र प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छिन् । उनी भन्छिन्, परिवारका सदस्यहरुको याद आउँछ । तैपनि परिवारबाट प्राप्त सहयोगले काम गर्न सजिलो भइरहेको छ ।’

प्रस्तुती-पुष्प ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment