Comments Add Comment

सिंहदरबार भत्काउन दिन्नँ, नटबोल्ट कसेर अड्याउँछु: डा. पोखरेल

'सरकारलाई अन्यत्रै जग्गा छ, त्यहीँ अफिस राखेर बस्नुपर्छ र ?'

Sinhadurbar 810

१० माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा.डा. गोविन्द पोखरेलले सिंहदरबारको मुख्य भवन भत्काउन नदिने बताएका छन् । नटबोल्टले कसेर भए पनि सिंहदरबारलाई नढलुञ्जेल सम्म यत्तिकै अड्याएर राख्न उपयुक्त हुने पोखरेलको भनाइ छ ।

सरकारलाई कार्यालय चाहिएको भए अन्यत्रै बनाउन सक्ने तर सिंहदरबारको स्वरुप नभत्काई राख्नुपर्ने डा. पोखरेलको भनाइ छ ।

भूकम्पले सिंहदवारको दक्षिणी मोहडमा क्षति पुगेको छ । भूकम्पपछि प्रधानमन्त्रीको कार्यालय समेत सिंहदवारको मूल भवनबाट नजिकैको अर्को भवनमा सरेको छ ।

पोखरेलले सिंहदरबारको पुनर्निर्माणबारे अनलाइनखबरसँग कुरा गर्दै भने- ‘सिंहदरबारको फ्रन्ट किन भत्काउने ? अर्को घर बनाउन सरकारलाई अन्यत्र जग्गा छैन र ? त्यहीँ अफिस राखेर बस्नुपर्छ र ? भूकम्प आउँदा नढल्ने गरी राख्ने हो, म्युजियमका रुपमा ।’

डा. पोखरेलले भने- ‘म बाहिर छँदा सिहदरबार भत्काउने भनेको सुनेँ र आफैं आएर रोकेँ ।’

सिंहदरबारको पुनर्निर्माणबारे डा. पोखरेलसँग गरिएको संक्षिप्त कुराकानी

पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण पनि निकै सुस्त छ, कसरी अगाडि बढ्ने सोच बनाउनुभएको छ ? सिंहदरबारको स्थिति पनि धराप छ…

पुरातात्विक सम्पदाहरु गुमाउनुहुँदैन । अझ हाम्रो नेपालमा त यसलाई लिभिङ हेरिटेज भनिन्छ । तिनसँग मानिसहरुको धर्म, आस्था, संस्कार, परम्परा जोडिएको छ ।

इजिप्टको पिरामिड एकातिर छ, मान्छे अर्कातिर छन् । यहाँ त्यस्तो होइन । म आफैं पिलाँछेमा किन संलग्न भएको भने काठमाडौंमा नेवारी आर्टिकेक्ट हराउनुहुँदैन । हामीले त्यहाँ ४/५ करोड जम्मा गर्‍यौं, किनभने सरकारले दिएको ३ लाखले स्ट्रक्चर त बन्छ तर, नेवारी कल्चरको बन्दैन ।

म बाहिर छँदा सिंहदरबार भत्काउने भनेको सुनेँ र आफैं आएर रोकेँ ।

govinda-pokhrel-10

किन रोकेको ?

फेरि सिंहदरबार यस्तै बनाउन सकिन्नँ । हामी थुप्रै देश घुमेका छौं फ्रान्स, इटलीतिर जानुस्, कुनैकुनै विल्डिङमा एकजना मात्रै जान सकिन्छ । त्यसलाई नट बोल्टले कसेर जस्ताको त्यस्तै राखेको छ ।

मैले सुनेअनुसार धेरै लेखकहरुले एसियाको सबैभन्दा राम्रो बैठक भनेर सिंहदबारको ब्याख्या गरेका छन् । त्यसकारण पुरातात्विक सम्पदाको निर्माणसँगै संरक्षण गर्दै जानुपर्छ । मलाई तुरुन्तै सिंहदवार बनाउनुछ भने जे पायो त्यही गर्न पनि हुँदैन । यसको आफ्नै मौलिकता छ । विशेषज्ञहरु कम मात्र छन् । कालिगढ कम छन् ।

उसोभए तपाईको प्राथमिकता क्षतिग्रस्त पुरातात्विक सम्पदाहरु भत्काएर नयाँ बनाउनुभन्दा पनि नटबोल्ट कसेर भए पनि राख्ने भन्ने हो ?

बसन्तपुर दरबारलाई पुरानै हिसाबले बनाएर जति आम्दानी दिन्छ, नयाँ बनाएर दिँदैन । सिंहदरबारलाई रेट्रोफिट गर्नुस्, त्यसले नै भोलि कमाउँछ

जहाँ सम्भव छ, त्यसलाई म्युजियमकै रुपमा भए पनि राख्ने । सिंहदबारको फ्रन्ट किन भत्काउने ? अर्को घर बनाउन सरकारलाई अन्यत्र जग्गा छैन र ? त्यहीँ अफिस राखेर बस्नुपर्छ र ? भूकम्प आउँदा नढ्ल्ने गरी राख्ने हो म्युजियमका रुपमा । अगाडिबाट हेर्दा सिंहदबार देखियोस्, भूकम्प आउँदा नढलोस् । तर, त्यहाँ २०० जना गएर वाइनिङ, डाइनिङ गर्न जरुरी छैन ।

तर, रेट्रोफिटिङ गर्दा धेरै महंगो पर्छ, त्यही लगानीबाट नयाँ बनाउन सकिन्छ भन्नेहरु पनि त छन् नि ?

त्यस्ता पुराना सम्पदालाई मूल्यसँग तुलना गर्नुहुँदैन । तपाईले फेरि पाउनुहुन्न । फेरि बनाउन सक्ने भए त अरुले पनि बनाइहाल्थे नि । त्यो मैलिकता नयाँमा हुँदैहुँदैन । तपाईले बसन्तपुर दरबारलाई पुरानै हिसाबले बनाएर जति आम्दानी दिन्छ, नयाँ बनाएर दिँदैन । सिंहदरबारलाई रेट्रोफिट गर्नुस्, त्यसले नै भोलि कमाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment