Comments Add Comment

अखिलेशको घोषणापत्रः अपाङ्ग महिलासँग बिहे गर्नेलाई घर र दुई लाख रुपैयाँ दिने !

गृहिणीलाई प्रेसर कुकुर ! मोदीको पार्टीलाई धक्का ?

akhilesh-and-rahul
१० माघ, काठमाडौं । भारतको उत्तर प्रदेशमा आगामी फ्रेबुअरीमा विधानसभाको चुनाव हुँदैछ । सो चुनावमा मोदीको पार्टीसँग प्रतिस्पर्धा गर्न मुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टीले अनौठो घोषणापत्र जारी गरेको छ । साथै उसले कांग्रेस आइसँग चुनावी गठबन्धनसमेत गरेको छ, जसबाट मोदीको पार्टी आत्तिएको छ ।

कसैलाई घरबार, कसैलाई प्रेसर कुकर !

मुख्यमन्त्री अखिलेशको समाजवादी पार्टीको घोषणापत्रमा कुनै व्यक्तिले अपाङ्ग महिलासँग विवाह गरेमा त्यो जोडीलाई सरकारले एउटा घर र दुई लाख रुपयाँ प्रदान गर्ने आश्वासन दिइएको छ ।

साथै अपाङ्ग तथा जेष्ठ नागरिकहरुका लागि खाने तथा बस्ने व्यवस्था सरकारले गर्नेसमेत घोषणा गरिएको छ ।

समाजवादी पार्टीले चुनाव जितेमा गरिव महिलाहरुका लागि खाना पकाउने प्रेसर कुकर प्रदान गर्ने पनि घोषणापत्रमा उल्लेख छ । त्यस्तै सार्वजनिक यातायातमा महिलालाई ५० प्रतिशत छुटको व्यवस्था गर्ने भनिएको छ ।

त्यसैगरी माध्यमिक तहका छात्राहरुलाई स्कुल जानका लागि साइकल प्रदान गर्ने घोषणा पत्रमा उल्लेख छ । विद्यार्थीहरुका लागि लोडसेडिङबाट मुक्त गराउन सोलार वत्ती बाँड्ने आश्वासन दिइएको छ ।

त्यसैगरी जेहेन्दार विद्यार्थीहरुका लागि ल्यापट तथा अन्य सहुलियत दिने घोषणासमेत गरिएको छ ।  यादवको पार्टीले अल्पसंख्यक समुदायका लागि धार्मिक स्वतन्त्रताको ग्यारेन्टी गर्नेसमेत घोषणा गरेको छ ।

कृषकहरुका लागि सस्तो ब्याजरदमा ऋण दिने प्रतिवद्धता समेत घोषणापत्रमा गरिएको छ ।

काँग्रेसँग चुनावी गठबन्धन, मोदीको पार्टीलाई धक्का

आसन्न विधानसभा चुनावमा विपक्षी काँग्रेस आइ र वर्तमान मुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टीले उत्तर प्रदेशमा चुनावी गठबन्धनको घोषणा गरेका छन् ।

गठबन्धन अनुसार जम्मा ४०३ सीटमध्ये समाजवादी पार्टीले २९८ स्थानमा चुनाव लड्नेछ भने कांग्रेसले १०५ सीटमा लड्ने छ । यस अगाडि काँग्रेसले १५० सीटको दाबी गरेको थियो । तर, १०५ सीटमा सहमति भयो ।

सन् २०१२ मा सम्पन्न विधानसभा निर्वाचनमा एक्लाएक्लै चुनाव लड्दा समाजवादी पार्टीले २२४ सीट जितेर एक्लै बहुमत हासिल गरेको थियो भने काँग्रेसले २८ सिटमात्रै जितेको थियो ।

दुईवर्ष अघिको लोकसभा चुनावमा भने उत्तरप्रदेशमा बीजेपीको राम्रो परिणाम देखएकिो थियो, जसका कारण अहिले अखिलेशले कांग्रेससँग तालमेल गरेका हुन् ।

यो गठबन्धनको घोषणाले प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी सत्तारुढ दल भारतीय जनता पार्टी तथा मायावतीको बहुजन समाज पार्टीलाई झस्काएको छ । दुई पार्टीको वीचमा एलाइन्स भएको यो पहिलोपटक हो ।

काँग्रेसले यो एलाइन्सबाट आफूलाई मुस्लिम र यादव समुदायको भोट प्राप्त हुने विश्वास गरेको छ भने समाजवादीले मुस्लिम तथा अन्य माथिल्लो जातिको भोटसमेत आफूलाई आउने विश्वास लिएको छ ।

आगामी राष्ट्रपतिको चुनावलाई प्रभाव पार्न सक्ने

आगामी फेव्रुअरी र मार्च महिनामा भारतका पाँचवटा प्रदेशमा विधानसभा निर्वाचन हुन गइरहेको छ । त्यसमध्ये सवैभन्दा महत्वपूर्ण निर्वाचन भने उत्तरप्रदेशकोे छ, जसको नतिजाले केही महिनापछि हुने राष्ट्रपति निर्वाचन तथा सन् २०१९ मा हुने लोकसभा निर्वाचनलाई समेत प्रभावित गर्नेछ ।

उत्तर प्रदेश भारतको सबैभन्दा बढी जनसंख्या भएको मुलुक हो । यस निर्वाचनलाई सन् २०१९ मा हुने लोकसभा निर्वाचनको सेमिफाइनलको रुपमा समेत हेरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्वर ३० मा गरेको नोटवन्दीपछि हुन लागेको यस निर्वाचनलाई मोदीको नोटबन्दी नीतिको जनमत संग्रहका रुपमा समेत हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment