Comments Add Comment

शंकर, तिमी हजार वर्ष नै बाँच्नेछौ

reecha-maharjan

प्रिय शंकर,

‘गोरेटोको खोजीमा’ भित्र तिमीले लेखेका थियौ, ‘लेख्न असमर्थ भएकै बेला लेख्ने प्रयास गर !’

यस्तै भएको छ अहिले मलाई । मेरो मनोदशा पनि ठीक त्यस्तै छ– बाटो छैन, गोरेटो छैन, लेख्ने सामर्थ्य छैन ।

आफ्नै अनुभूतिमा हराएकी म कुहिरोको काग झैं भएकी छु । खै कहाँबाट सुरु गरूँ अनि कहाँ बिट मारूँ ! सुरुवातमै अलमलिएकी म सुरु गर्नुअघि नै अन्त्य सोच्न थालिसकेछु । अचम्ममा पर्‍यौ होला । सुरु गर्न अनुभूतिको कुन टुप्पो समाउने र तानाबाना कसरी मिलाउने भन्ने नै सबैभन्दा जटिल काम हो । त्यसै भनिएको होइन रै’छ, कुनै पनि काम श्रीगणेश गर्नु भनेको आधा काम फत्ते गर्नु हो ।

सम्झनुपर्ने बाध्यता या रहर, तिमी यसलाई जे संज्ञा देऊ । तर, कौसीमा बसेर माघ महिनाको पारिलो घाम ताप्न छोडेर आज म पत्रमार्फत तिमीलाई सम्झिन बसेकी छु । डायरी र कलम लिएर होइन, ल्यापटप काखमा राखेर । हो नि, समयले धेरै फड्को मारिसक्यो ।

तिमीले देखेको फराकिलो र कञ्चन वाग्मतीले साँघुरिएर र धमिलिएरै भए पनि धेरै पानी बगाइसकिन् । म बाँचेको युगमा तिमी पनि हुँदो हौ त कुनै कुशल नर्तकी जस्तै तिमी पनि आफ्ना दसै औँला किबोर्डमा नचाउने थियौ । अनुभूतिको लयमा तिम्रा पोख्त औंलाहरू मग्न भएर नाच्दै गरेको कल्पना गर्दै छु ।

तिमीलाई सम्झँदै छु । कसैलाई सम्झिएर अनुभूतिमा सँगाल्नु र सम्झनाका तरेलीलाई शब्दचित्रमा उतार्नु नितान्त फरक कुरा हुन् । पहिलो अति सहज हुन्छ, पछिल्लो धेरै गाह्रो ।

shankar-lamichhane
शंकर लामिछाने ०२४ सालमा मदन पुरस्कार थापेपछि

शंकर !

हुन त तिम्रोबारे धेरैले धेरै लेखिसकेका छन् । लेखिनुपर्ने पनि लेखे होलान् र नलेखिनुपर्ने पनि लेखे होलान् । अब लेखिन बाँकी के नै पो छ र ! शब्दमा तिम्रो पोट्रेट दुरुस्तै बनाउन म असमर्थ छु । किनकि कुन-कुन शब्द-रङको संयोजनमा कस्तो गाढापन देखिन्छ भनेर खुट्याउने सामर्थ्य ममा छैन । त्यसैले सोच्दै छु, तिम्रोबारे भन्दा पनि म आफ्नै र आफ्नै अनुभूतिबारे पो लेखूँ कि !

मेरो निर्णयमा तिमी फिस्स हाँस्छौ होला, ‘हाँस्न जान्नु पनि ठूलो कला हो’ भन्ने ठानेर ।

‘शिरीषको फूल’ र त्यसमा तिमीले लेखेको भूमिका एक-अर्काका परिपूरक बनिसकेका रहेछन् । मैले भने शिरीषको फूल छापिएको तीन दशकपछि मात्र पढेकी हुँ । तिमीले भूमिकामा लेखेका छौ, ‘… र मलाई लाग्दछ, मानिसले भूमिका कमै पढ्छन्… !’

तिमीले मान्छेको मनोविज्ञान धेरै राम्ररी बुझेका रहेछौ । किनकि तिमीले लेखे जस्तै म पनि त्यही श्रेणीमा पर्ने मान्छे हुँ । म भूमिका पढ्दै नपढ्ने मान्छे । तर, खै कुन अनूभूतिको तीव्र आवेगले मेरो अन्तर्मनलाई उक्सायो र शिरीषको फूलको भूमिका पढेँ ।

उपन्यास पढिसकेपछि मात्र पढेकी थिएँ भूमिका । त्यसै क्षणदेखि हो तिमी प्रिय लागेको । तिम्रो अभिव्यक्ति कला, अनूभूत गर्ने क्षमता, सूक्ष्म कुरालाई केलाउने तरिका, गोताखोरले जस्तै पिँधमा रहेको कुरा सतहमा ल्याउने दक्षता, थोरै शब्दमा धेरै भन्ने अनि शब्दलाई जीवन्त बनाउने क्षमता असाध्यै मन पर्‍यो ।

त्यसबेला मैले धेरै साहित्यिक पुस्तक छिचोल्न पाएकी थिइनँ । त्यसैले त्यसअघि तिम्रो नाम समेत सुनेकी थिइनँ । त्यो भूमिका पढेपछि मभित्रको पाठक ‘मान्छेको रगतको स्वाद पाएको बाघ जस्तै’ भएको थियो । त्यसपछि तिम्रोबारे र तिम्रा पुस्तकहरू धुइँधुइँती खोजी गर्न थालेँ । यसै मेसोमा ‘एब्सट्राक्ट चिन्तन प्याज’, ‘गोधूलि संसार’, ‘गौँथलीको गुँड’, ‘विम्ब-प्रतिविम्ब’ आदि तिम्रा पुस्तकबारे थाहा पाएँ । तर, पाउन भने सकिनँ ।

कुनै लाइब्रेरीको दराजमा धूलोमा लुटपुटिएका तिम्रा पुस्तकहरू कुनै इच्छुक आँखाहरूको पर्खाइमा थिए कि, थाहा छैन । तर, मेरा आँखा भने तिम्रा पुस्तकहरूको खोजीमा थिए । भूमिका पढेको बल्ल एक दशकपछि मात्र तिमीलाई मदन पुरस्कार दिलाउन सफल पुस्तक ‘एब्सट्राक्ट चिन्तन प्याज’ पढ्ने मौका पाएँ । त्यसपछि ‘गोधूलि संसार’ र अन्य पुस्तकहरू ।

एकपछि अर्को निबन्ध पढ्दै गएँ । तिमी झन् बढी मन पर्न थाल्यौ । तिम्रा निबन्धहरू मूलतः आत्मपरकता, बौद्धिकता, जीवनप्रतिको तिखो व्यङ्ग्य, विसङ्गत चेतना, प्रयोगशीलता र वैज्ञानिक चिन्तन आदिलाई मियो बनाएर लेखिएको पाएँ । तिमीले आफ्ना लेखमा गाडेका तिनै मियोहरूमा मेरा सम्पूर्ण चेतनालाई बहर बनाई मेरा अनुभूतिहरू फनफनी घुमिरहे र म रिङ्गिरहेँ । बस् रिङ्गिरहेँ ।

प्रिय शंकर !

तिमीले ‘गौंथलीको गुँड’को भूमिकामा भनेका छौ, ‘मैले आफूलाई कहिल्यै लेखक ठानिनँ र परिस्थितिले मलाई लेखक बनाइदियो । लेखक बन्ने साहस मैले कहिल्यै गर्न सकिनँ । कारण, लेखक मेरो नजरमा देवता हो, देवकोटा हो ।’

देवकोटालाई देवता बनाइदिएका छौ । त्यो तिमीले मानेको सत्य हो । तर, म मान्दिनँ । तिमीले नै आफ्नो निबन्धमा लेखेका छौ, ‘सत्य भनेको विकसित हुँदै जाने र बदलिने कुरा हो ।’ मेरो नजरमा तिमी लेखक हौ । त्यो पनि एक इमानदार लेखक । त्योभन्दा बढी एक इमानदार मान्छे हौ । त्यसैले तिमी अझ प्रिय लेखक बन्यौ ।

‘बाँच्न जत्ति गाह्रो केही रहेनछ, कुमुदिनी बहिनी ! तपाईँले पिकासोको जीवनी पढ्नुभयो भने थाहा पाउनुहुनेछ, उनले बाँच्नका निम्ति कत्ति चोरी गरेका थिए ।’

जीवनको एक कालखण्डमा कुमुदिनीले लेखनमा चोरीको आरोप लगाउँदा ‘बाँच्नका लागि चोरी गरेको हुँ’ भनेर तिमीले स्विकारेका छौ । देवकोटाले भने ‘मुनामदन’ नेवार भाषाको ‘जि वया लच्छि मदु नि’ भन्ने लोकगीतबाट प्रभावित भएर लेखेको हुँ भनेर न स्वीकार गरे न त कहीँ कतै उल्लेख नै गरे ।

देवकोटाले अभिव्यक्त गर्न नसकेको सत्यलाई तिमीले स्वीकार गरेका छौ । अहिलेसम्म तिमी मात्र एक आँटिलो निस्कियौ ।

त्यति मात्र कहाँ हो र ! तिमीले त बाँच्ने क्रममा आफ्ना रचना बेचेको पनि स्विकारेका छौ । तिम्रो समयमा अरूले पनि बेचे-बेचेनन्, थाहा भएन । तर, यो स्विकार्ने सायद तिमी नै पहिलो व्यक्ति हुनुपर्छ । एउटा लेखकको निम्ति उसका रचनाहरू आफ्नो सन्तान जत्तिकै प्रिय हुन्छन् । जब आफ्ना रचनाहरू अरूको नामको टीको लगाएर तिम्रो सामु आउँदा तिम्रो संवेदनशील चेतनाले यातनाको कुन स्तर भोग्न बाध्य हुनुपर्‍यो होला, म त्यो अनुमान पनि गर्न सक्दिनँ । किनकि कोरा अनुमानलाई अनुभवमा गालेर अनुभूति गर्न सकिँदैन ।

बाध्यताले मानिसलाई दास बनाउँछ भन्छन् । हो रहेछ । समयले थापेको पासोमा परेपछि तिमीले त्यसो गरेका थियौ । तर, साहित्यको उर्वर फाँटमा ‘घोष्ट राइटिङ’ दूबो झैं मौलाएको मात्र होइन, बरु व्यवसायरूपी कल्पवृक्ष नै बनेर धेरैलाई सियाँल र फल दिइरहेको आजको यो युगमा तिमी बाँचिरहेको भए के भन्ने थियौ होला ! म सोच्दै छु ।

प्रिय शंकर !

तिमीले आफूलाई ‘एक हजार वर्षपछि जन्मने पृथ्वीको मान्छे’ भन्यौ । घोषणा गरे जस्तै हजार वर्षपछि त के तिमी जन्मिएको समयभन्दा सय वर्षपछि मात्र जन्मिएको भए पनि तिमीलाई चिन्ने मौका पाउने थिइनँ । चाहे भने हामी मृत्यु रोज्न सक्छौं, तर जन्म हाम्रो रोजाइको विषय बन्न सकेको छैन र सक्दैन पनि । त्यसैले गुनासो र असन्तुष्टि किन ?

तिम्रा लेखमार्फत तिमी ५० वर्षभन्दा बढी बाँचिसकेका छौ । सय वर्ष पनि बाँच्नेछौ । हजार वर्ष बाँच्यौ भने उदेक मान्नुपर्ने कुनै कारण देख्दिनँ ।

प्रिय शंकर, तिमी मेरो अति प्रिय लेखक हौ । तर, तिमीलाई मैले कहिल्यै भेट्न पाउने छुइनँ । जीवनपर्यन्त थकथक लागिरहने दुखेसो हो यो ।

तिमी जस्तै म पनि मनको सुन्ने र मनले डोर्‍याएको बाटो हिँड्ने मान्छे । तिमी जस्तो इमानदार लेखकलाई सम्झनु कर्मकाण्डी नबनोस् भन्ने मेरो इमानदार सोच हो । यो सोचलाई मैले कुन हदसम्म पूर्णता दिन सफल भएँ ? त्यो थाहा भएनँ । न त पूर्णताको अपेक्षा नै छ । किनकि पूर्णता भ्रम हो । तर, आशा गर्छु- मेरा अनुभूति प्रयोजनविहीन साबित नहोला ।

तिम्रो पाठक

ऋचा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment