Comments Add Comment

शंकरको लेखनप्रति आकर्षित नहुने को होला र !

शंकरको पाठकदेखि सम्पादकसम्म

shiva-ragmi

पाठकको नजरमा: शंकर लामिछानेलाई मैले सुरुमा फुटकर लेखरचनामै पढेको हुँ । धेरै पछि मात्रै उनको पुस्तक पढ्ने मौका मिल्यो ।

शंकरको लेखनप्रति आकर्षित नहुने को होला र ! उनको अहिलेसम्म भेटिएका र पढेका सिर्जनामध्ये मलाई कुनै पनि छि: भन्ने कोटिको लागेन,  त्यतिसम्म आकर्षण छ ।

लेख्न त उनी पनि महाकवि देवकोटा जस्तै एकचोटि लेखेपछि पुनर्लेखन गर्ने र चिल्याउने गर्दैनथे भनिन्छ । तर, त्यसरी लेख्दा पनि विषयमा रिपिटेसन पाइँदैन । हरेकमा विविधता पाइन्छ ।

खासगरी शंकरको शैली र प्रयोग तारिफ गर्न लायक कुरा हुन् ।

मैले ‘प्रगति’ पत्रिकाका छापिएका लेखहरुबाट उनको लेखनको स्वाद पाएको हुँ । ‘प्रगति’ मा २००९ सालदेखि उनका जीवनीपरक अन्तर्वार्ताहरु छापिन थाले । विभिन्न साहित्यकार, कलाकार र राजनीतिज्ञको बारेमा अन्तरंग प्रसंग खोतल्दै र कुराकानीको शैली पनि मिसाउँदै उनले लेखे । जसलाई शंकरले परिचयात्मक लेख भनेका छन् ।

त्यसैबाट उनी पहिलो जीवनीपरक अन्तर्वार्ताकार भए ।

त्यस्ता अन्तर्वार्ताका साथै निबन्ध र कथाहरु ‘रुप-रेखा’ मा पनि छापिए । त्यसमा प्रयोग गरिएको भाषा अति मजा लाग्यो ।

पछि रुप-रेखाका सम्पादक उत्तम कुँवरको पनि त्यस्तै अन्तर्वार्ता ढाँचाका लेखहरु प्रकाशन भए । उत्तमका फुटकर लेखहरु ०१७ सालबाट छापिन थालेको देखिन्छ । उनले तिनै लेखहरु समेटेर उनले ०२३ सालमा ‘स्रष्टा र साहित्य’ पुस्तक निकाले । शंकरको परिचयात्मक निबन्धहरुको संग्रह ‘विम्ब-प्रतिविम्ब’ चाहिँ ०२७ सालमा आयो ।

उत्तम र शंकरको कृति पढेपछि मलाई लाग्यो, हामीकहाँ अन्तर्वार्ताले अलिकता हाँगाबिँगा हाल्यो । ‘विम्ब-प्रतिविम्ब’ पछि मात्रै मैले उनका ‘एब्सट्राक्ट चिन्तन प्याज’, ‘गोधूलि संसार’ लगायत कृति पढेको हुँ ।

‘रुप-रेखा’मा प्रकाशित रचनाहरु हेर्दा शंकर निबन्ध र कथामा बढी चम्किला देखिए । विधागत रुपमा हेर्दा उनको कथाभन्दा निबन्ध शक्तिशाली छ । किनभने निबन्ध निकै प्रयोगशील छन् । उनका निबन्धलाई कथाको रुपमा पनि पढ्न मिल्छ । उनको लेखन शिल्पको विश्लेषण गर्नुपर्‍यो भने उनी संवेदनशील कथाकार हुन् भने बौद्धिक निबन्धकार हुन् । उनका संवेदनशील कथाहरुमा नारीप्रति बढ्ता सहानुभूति देखिन्छ ।

शंकर लेखनमा प्रयोगका भोका थिए । विज्ञान कथा नेपालमा भएन भनेर उनले ‘माया नं ६५३’ जस्तो कथा लेखे ।

यसरी शंकरका निबन्ध सम्पादन गरेँ

shankar-lamichhane-bookशंकरका निबन्धहरु धेरै पत्रपत्रिकामा छरिएको अवस्थामा थिए । अध्ययन-अनुसन्धानका क्रममा मैले आफ्नो पुस्तकालयमा उपलब्ध भएसम्मका लेखरचना बटुलेर पाण्डुलिपि बनाएको थिएँ । यस्तै संग्रह भूपी शेरचनका कविताहरुको पनि तयार थियो ।

यसबारे गणेश रसिकलाई थाहा थियो । ०५३/५४ सालताका उनी साझा प्रकाशनका महाप्रबन्धक तथा अध्यक्ष थिए । उनी मलाई भेट्न निर्वाचन आयोगमै आएका थिए । म त्यसबेला आयोगमा काम गर्थेँ । आफ्नै लेखरचनाको किताब निकाल्न पनि आग्रह गर्न सक्थेँ । तर, पहिले अर्काकै कल्याण गर्छु भन्ने भावना भित्रैदेखि आयो । साझाबाट शंकर र भूपीको कृति निकाल्ने कुरा भयो ।

त्यसका लागि औपचारिक प्रक्रिया अघ बढ्यो । साझाबाट मलाई चिठी आयो । मलाई पाण्डुलिपि मिलाएर बुझाउन ६ महिनाको समय दिइएको थियो । दुवै पाण्डुलिपि बुझाएँ ।

शंकरका लेखरचना खोज्ने क्रममा धेरैजसो निबन्ध गोरखापत्रमा प्रकाशन भएको भेटियो । अखबारमा छापिएका लेखरचना त आज छापिन्छ, भोलिदेखि यत्तिकै खेर जान्छ । मुख्य उद्देश्य गोरखापत्रमा भएका निबन्ध सदुपयोग गरुँ भन्ने हिसाबले संकलन गर्न थालेँ ।

पछि अभिव्यक्ति, त्रिफला, धरती, अस्तित्व, रेशा, गुनकेशरी, अभिव्यक्ति, शारदा, यती जस्ता पत्रिकामा पनि शंकरका निबन्ध भेटिएपछि संग्रह निकाल्न पर्याप्त भयो । गोरखापत्रमा ११ वटा, रुप-रेखामा ६ वटा र मधुपर्कमा चार वटा निबन्ध प्रकाशित थिए । यसरी ३४ वटा निबन्ध जम्मा भएछन् । ‘प्रगति’ पत्रिकाको अंक ६ (फागुन-चैत ०१०) मा छापिएको मातृकाप्रसाद कोइरालाको परिचयात्मक निबन्ध ‘विम्ब-प्रतिविम्ब’ संग्रहमा छापिएको थिएन । त्यसलाई पनि मैले समेटेको थिएँ ।

मुख्य कुरा पत्रिकामा भएका निबन्ध खेर जान नदिन र अर्को कुरा पछिका पुस्ताले पनि पढून् भनेर मैले सम्पादन गरेको हुँ । ‘शंकर लामिछानेका निबन्ध’ नाममा ०५९ सालमा प्रकाशित भयो ।

त्यतिखेर शंकरका छरिएका सबै निबन्ध समेटूँ भनेर सकेसम्म खोजेको हुँ । यसमा सन्तुष्ट छु म ।

पछिल्लो समय पुराना पत्रपत्रिका पल्टाउँदा शंकरका अरु थप ७ वटा निबन्ध भेटिएका छन् । त्यति निबन्धको मात्रै किताब निकाल्दा सानो हुन्छ । पहिले निकालेको किताबमै यी निबन्धहरु थपेर नयाँ संस्करण निकाल्न पाए हुन्थ्यो भन्ने लागेको छ । त्यसो हुन सकेमा यी निबन्धको सदुपयोग हुनेथ्यो । शंकरको नाममा स्थापित कोष वा साझा कुनैले यो काममा अग्रसरता लिइदिए पाठकहरु लाभान्वित हुने थिए ।

थप कुरा

‘साहित्य-स्रोत’ पत्रिकामा २००४ सालमा ‘हाम्रो समाजमा नारी’  लेखबाट शंकरको लेखन-प्रकाशन सुरु भएको देखिन्छ । उनको पहिलो कथा चाहिँ २००६ सालको शारदा पत्रिकामा छापिएको थियो ।

[sam_list] २००८ सालमा ‘उद्योग’ पत्रिकाको लेखक परिचयाङ्क प्रकाशन भएको थियो । त्यसमा लेखकहरुको फोटो र जीवनी पनि छ । नेपालको पत्रपत्रिकाको इतिहासमा लेखकहरुको फोटो र जीवनीसहितको पहिलो पत्रिका यही हो । त्यसमा शंकरको ‘त्यस दिन बेलुकीपख’ निबन्ध प्रकाशित छ । साथमा उनको फोटो र जीवनी पनि छ ।

त्यहाँ भएको शंकरको परिचय खण्डमा उनले २००६ सालमा खरिदारको जागिर खाएको उल्लेख छ । यसबारे अहिलेसम्म कतै आएको पाइँदैन । त्यो जागिर स्थायी थियो कि अस्थायी भन्ने चाहिँ खुलेको छैन ।

शंकरका पिताजी बबर शमशेरको हजुरिया जस्तै भएकोले जागिर पाउन सजिलो भयो होला । उनले त्रिचन्द्रमा आईएस्सीसम्म पढेका थिए ।

त्यो पत्रिकामा उनको जन्म १९८४ चैत्र रामनवमी लेखिएको छ । एउटा ज्योतिषीलाई खुसामद गरेर मैले त्यो तिथि कति गते र के बार पर्छ भनेर सोधेँ । शंकर चैत १७ गते बिहीबार जन्मिएका रहेछन् ।

चैत्र रामनवमी त तिथि हो, घटबढ हुन्छ । कहिले बैशाखमा समेत पुग्छ । जन्ममिति र स्मृति दिवस हामीकहाँ दुई किसिमले मनाउने प्रचलन छ, एउटा तिथिमा मनाउने र अर्को जन्ममिति अनुसार मनाउने ।

लेखनाथ पौड्यालको जन्म जयन्ती पहिले पौष शुक्ल एकादशीमा मनाउँथे । केही वर्षयता भने यो एकादशी त १९४१ सालमा पुस १५ गते परेछ भन्ने देखिएपछि पछिल्ला वर्षहरुमा १५ गते मनाउन थालिएको छ । देवकोटाको चाहिँ बहुसंख्यकले लक्ष्मीपूजाको दिन मनाउने चलन नै बसेको ।

तिथिमा आधारित भएर जन्म जयन्ती र स्मृति दिवस मनाउनु उचित पनि देखिँदैन । किनभने तिथि घटबढ हुने भएकोले कुनै वर्ष १२ गते त कुनै वर्ष २० गते पर्ला । गतेमै मनाउनु वैज्ञानिक हुन्छ । त्यसो भयो भने सबैलाई सम्झिन सजिलो पनि हुन्छ । शंकर ०३२ माघ १० गते बितेका थिए । यस हिसाबले माघ १० गते स्मृति दिवस मनाउनु नै उचित हुन्छ ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment