Comments Add Comment

कर्णालीवासीको आशाको केन्द्रः कर्णाली करिडोर, धमाधम हुँदैछ काम

karnali-corridor-road
१० माघ, कालीकोट । कर्णाली करिडोर सडक निर्माण कार्यले तीव्रता पाएसँगै अब दुई वर्षभित्रै हुम्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ ।

यो करिडोरअन्तर्गत कालीकोटको लालु गाविसबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने १९६ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य अहिले तीव्रगतिमा भइरहेको छ ।

कडा चट्टानयुक्त भू–बनोट, भिरालो जमिन, साँघुरो उपत्यका र कर्णाली नदीको किनाराको जटिलताबीच यो सडकको ट्र्याक खोलिराखिएको छ ।
कर्णालीको समग्र विकासका लागि महत्वपूर्ण मानिएको यो सडक खुलेमा नेपालको उत्तरी चीनको सीमा रहेको हिल्साबाट दक्षिणी भारतीय सीमामा रहेको जमुनाह नाकासम्म सिधा सम्पर्क स्थापना हुनेछ ।

राष्ट्रिय गौरवको आयोजनासमेत रहेको सो सडक खण्डको निर्माणसँगै कर्णालीले सहज सडकको पहँुच पाउने छ भने तिब्बतको कैलाशस्थित मानसरोवर जाने तीर्थयात्रीका लागि बाटो खुल्नेछ । यसको निर्माणले सदियौँंदेखि रोग, भोक र अशिक्षाले जकडिएको कर्णालीमा विकासको गतिले काँचुली फेर्ने आशा स्थानीयवासीले गरेका छन् ।

सेनाले जिम्मा पाएको १४५ किलोमिटरमध्ये कालीकोटको २२ किलोमिटर र बाजुराको २८ किलोमिटर गरी ५० किलोमिटर ट्र्याक खनिइसकिएको र अहिले कालीकोटको राताडाँडा तथा बाजुराको कालाभिर, रुपाखोला लगायतका स्थानमा थप २० किलोमिटरको ट्र्याक खोल्ने कार्य भइरहेको सेनाको विकास निर्माण निर्देशनालयका सहायकरथी उद्धव विष्टले जानकारी दिए ।

चालु आव २०७३÷७४ भित्र कालीकोटअन्तर्गतको ४० किलोमिटर ट्र्याक खोलेर सडक विभागलाई बुझाइने लक्ष्य राखिएको छ ।

विसं २०७१ चैत ९ गते मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको सडकको रुपमा परिभाषित गरी नेपाली सेनालाई सो सडकको ट्याक खोल्ने जिम्मा दिएको थियो ।

एकसय ९६ किलोमिटरमध्ये हुम्लाको सरिसल्लासम्मको १४५ किलोमिटर सडक नेपाली सेनाले खन्नेछ । त्यहाँबाट सिमिकोटसम्मको बाँकी ५१ किलोमिटर खण्डलाई सडक विभागले खोल्नेछ ।

अहिले १८२ जना सैनिक जवान र ३०० स्थानीयवासीको सहभागितामा ट्र्याक खोल्ने कार्य धमाधम भइरहेको छ । सो सडकलाई खुलालु–लैफु–सिमिकोट सडक खण्डमा विभाजन गरिएको छ । सडकखण्डअन्तर्गत कालीकोटमा ४० किलोमिटर, बाजुरामा ४३ किलोमिटर र हुम्लामा ११३ किलोमिटर सडक निर्माण हुनेछ । यो करिडोरको निर्माणले कर्णाली अञ्चल मात्र होइन सुदूरपश्चिमको समेत विकासमा उल्लेख्य योगदान पुग्ने बाजुराका लालबहादुर विष्टको भनाइ छ ।

सडक खण्डमा खुलालु खोला, शान्तिघाट खोला, फूगाड खोला, भक्का खोला, जुड्डीगाड खोला, कुन्डा ओला र कुवाडी खोलामा गरी आठ पुल निर्माणका लागि प्रस्ताव गरिएको छ । सडकको चौडाइ ६ मिटर रहेको छ भने दायाँबायाँ ७ दशमलव ५. प्रतिशत क्षेत्रमा भौतिक संरचना निर्माण गर्न पाइने छैन जसले भविष्यमा सडकलाई थप चौडाइ गर्न समेत सहयोग पुग्नेछ ।

प्रस्थान विन्दु खुलालु ७३० मिटरमा अवस्थित छ र सिमिकोट पुग्दा दुई हजार ९४५ मिटरको उचाइमा सडक पुग्नेछ । सो सडकका लागि कुल रु दुई अर्ब ८४ करोड ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ । गत आवमा नेपाली सेनाले रु २२ करोड खर्च गरेका थिए । चालु आवका लागि रु २१ करोड विनियोजन गरिएको छ । तर विनियोजित बजेटबाट दोस्रो चौमासिकभित्र सम्पन्न गर्ने लक्ष्य लिइएकाले तेस्रो चौमासिकका लागि थप बजेटको व्यवस्था भएमा शान्तिघाट र फूगाडमा बेलिब्रिज निर्माण गर्न सकिने सेनाले जनाएको छ ।

गतहप्ता रक्षामन्त्री बालकृष्ण खाँण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले बाजुराको पिलुचौर र कालीकोटको शिलाजितभिर खण्डमा भइरहेको सडक निर्माणको स्थलगत निरीक्षण गर्दै आवश्यक सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको र समस्या आइपरे तत्काल समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।

उहाँहरुले बजेटको चिन्ता नगर्न आग्रह गर्दै आवश्यक परे विनियोजित बजेटमा थप बजेट उपलब्ध गराउन सरकार तयार रहेको स्पष्ट पार्नुभयो । जोखिमयुक्त ठाउँमा सडक खन्ने काम भइरहेकाले करिडोरको निर्माणकै क्रममा चार स्थानीयवासी र एक सैनिक जवान गरी पाँच जनाको ज्यान गइसकेको निर्माण कार्यदलका प्रमुख सेनानी इन्दिबर गुरुङले जानकारी दिए ।

यो सडकका बीचमा खुलालु, रङ्गिल, शान्तिघाट, काप्रीगाउँ, पिलुचौर, अर्थङ्गेचौर, बोल्ढिक, कुवाडी, मकैगाउँ, तुम्चागाउँ, सरिसल्ला, सर्किगाड, लालिगाउँ, खर्पुनाथ, बारागाउँ र सिमिकोटसम्मका बस्ती पर्छन् ।

अब खन्न बाँकी रहेका भू–बनोट कडा चट्टानयुक्त इलाका हुनाका साथै सडकको रेखाङ्कनमा रहेका बस्तीमा र सार्वजनिक स्थानमा बनेका घर, टहराका कारण थप जटिलता निम्तिएको प्रमुख सेनानी गुरुङले बताए ।

हिउँदमा फेरी चले पनि वर्षामा कर्णाली नदीमा फेरी नचल्ने भएकाले निर्माण सामग्री ल्याउन अप्ठेरो पर्ने गरेको छ । करिडोर निर्माणको क्रमसँगै सडक विभागले सो खण्डमा पिच गर्ने, पुल बनाउने काम पनि एक साथै अघि बढाउने सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए ।

सरकारको सबै जिल्ला सदरमुकाममा राष्ट्रिय सडक सञ्जाल पुर्याउने लक्ष्य अनुरुप बाँकी रहेका डोल्पाको सदरमुकामलाई एक वर्षभित्र र हुम्लाको सदरमुकामलाई दुई वर्षभित्र सडक सञ्जालमा जोड्न नेपाली सेना लागिरहेको छ ।

हुम्लाको सदरमुकाम सिमिकोट सडक सञ्जालमा जोडिने सबैभन्दा पछिल्लो र अन्तिम जिल्ला बन्ने निश्चित छ । नेपाली सेनाकै नेतृत्वमा डोल्पाको सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जाल विस्तारअन्तर्गत भेरी करिडोरको निर्माण भइरहेको छ । सो करिडोरको ११८ किलोमिटरमध्ये १०६ किलोमिटर सडकको काम पूरा भएको सेनाले जनाएको छ ।

सुर्खेतदेखि दैलेख हुँदै जुम्लासम्मको २३२ किलोमिटर कर्णाली राजमार्ग पिच बनेकामा कर्णाली करिडोरको निर्माण सम्पन्नसँगै बाँकी रहेको बाजुरा, कालिकोट र हुम्लासमेत सो सडकमा जोडिनेछ । सो सडक खण्डको निर्माण सम्पन्न भएपछि उत्तरी नाका हुम्लाको हिल्साबाट ५३० किलोमिटर दक्षिण बाँकेको जमुनाह सडक सम्पर्क बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment