Comments Add Comment

कृषि विश्वविद्यालयमा बीउ प्रशोधन केन्द्र स्थापना

स्वायत्त केन्द्रका रुपमा सञ्चालन गर्ने योजना

seed-lab-rampur-campus-chitwan2

१० माघ, चितवन । चितवनको कृषि तथा वन बिज्ञान विश्वविद्यालय रामपुरमा बीउ प्रशोधन केन्द्र तथा बीउ परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ ।

प्रतिघण्टा एक टन बीउ प्रशोधन गर्न सक्ने क्षमता भएको केन्द्र तथा प्रयोगशालाको राष्ट्रिय योजना आयोगका सदस्य डा. गीताभक्त जोशीले सोमबार उदघाटन गरे ।

नेपालमा बीज व्यवस्थापनलाई दीगो प्रभावकारी र गुणस्तरीय बनाउन विश्वविद्यालय भित्र करीब एक करोड लगानीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

कृषि तथा वनबिज्ञान विश्वविद्यालय, विल एण्ड मेलिन्दा गेट्स फाउण्डेशनको आर्थिक सहयोग, कर्नेल विश्वविद्यालय बेलायतको नेतृत्व तथा सतगुरु म्यानजमेन्ट कन्सल्ट्यान हैदरावादले यसको व्यवस्थापन गर्नेछन् ।

seed-lab-rampur-campus-chitwan

किसानको प्रत्यक्ष सहभागितामा गुणस्तरीय बीउ बिजन उत्पादन, प्रशोधन र वितरण गर्ने तथा त्यसबाट किसानहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिने उद्देश्य राखिएको परियोजना संयोजक प्रा. डा. शारदा थपलियाले जानकारी दिइन् ।

गहुँ, धान, मकैको बीउलाई प्रशोधन तथा गुणस्तरीय जाँच गरिने केन्द्रमा बीउलाई प्रिक्लिर, फाइन क्लिनर, ग्राभिटी सेप्रेटर मार्फत बीउहरुको गुणस्तरीयता छुट्टाउने काम गरिने परियोजना सहसंयोजक उपप्राध्यापक उदितप्रकाश सिग्देलले जानकारी दिए ।

गुणस्तरीय बीउ उत्पादनका लागि विश्वविद्यालयले दक्ष प्राविधिकहरुको सहभागितामा एक सयभन्दा बढी किसानहरुलाई तालिम दिइसकेको छ । अब थप दुई सय किसानहरुलाई गुणस्तरीय बीउ उत्पादन तथा प्रशोधन प्रक्रियाबारे जानकारीमूलक तालिम गराउने योजना रहेको विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले बताए ।

बीउको प्रशोधन पनि त्यसको परीक्षण प्रयोगशालामा गरिने छ । प्रयोगशाला परीक्षण गरेपछि मात्रै विश्वविद्यालयको लोगो लगाएर प्याकेजिङ गरिने छ ।

seed-lab-rampur-campus-chitwan-3

निजीस्तरमा बीउको सामान्य प्रशोधन केन्द्र स्थापना गरेपनि आधुनिक प्रयोगशालासहित बीउको गुरुत्व नै विभाजन गर्ने प्रविधिसहितको मेशिन पहिलोपटक विश्वविद्यालयले भित्राएको दावी छ ।

विश्वविद्यालयले स्थापनाको उद्देश्य मध्येको एक अनुसन्धान तथा प्रचार-प्रसार अन्तर्गत प्रशोधन केन्द्र खोलिएको हो । चितवन र यस वरपरका किसानहरुलाई लक्षित गरी खोलिएको केन्द्रबाट आफूहरुले प्रत्यक्ष लाभ लिने किसानहरुको भनाई छ । भरतपुर-१९ फूलबारीका कृषक कृष्णप्रसाद दवाडीले व्यापारीबाट बीउ किनेर ल्याउँदा किसान मर्कामा परेको भन्दै विश्वविद्यालयको प्रशोधन केन्द्रबाट नै तयार बीउ प्रयोग गर्दा बढी विश्वसनिय हुने बताए ।

अर्का किसान चन्द्रप्रसाद अधिकारीले विश्वविद्यालयले बीउ प्रशोधन केन्द्र तथा आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याउँदा त्यसको प्रत्यक्ष फाइदा उत्पादन र गुणस्तरमा पर्ने विश्वास ब्यक्त गरे ।

विश्वविद्यालयले प्रशोधन केन्द्रको दीगो व्यवस्थापनका लागि यसलाई स्वायत्त केन्द्रका रुपमा सञ्चालनमा ल्याउने योजना बनाएको परियोजना संयोजक प्रा. डा. शारदा थपलियाले बताइन् ।

‘धेरैजसो परियोजना तथा कार्यक्रमहरु दीगो व्यवस्थापनको अभावमा लथालिङ्ग र भताभुङ्ग हुने गरेका छन्, दाताहरुको पनि चिन्ता यसैमा छ,’ प्रा. डा थपलियाले भनिन्, ‘त्यही कुरालाई मध्यनजर गरेर किसानहरुसँगै सहकार्यमा मूल्य निर्धारण र आत्मनिर्भर बनाउछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment