Comments Add Comment

माधव नेपाल भन्छन्- हाम्रा नेता पैसामा बिक्दैनन्

madhav-nepal-press-meet-pokhara

१० माघ, पोखरा । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकार असफल भएको दाबी गरेका छन् ।

प्रेस चौतारी कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रियता जोगाउन र निर्वाचन गराउन वर्तमान सरकारले नसकेकाले सरकार असफल भएको बताएका हुन् ।

उनले भने, ‘यो सरकार निर्वाचन गर्न बनेको सरकार हो, तर निर्वाचनको तयारी समेत थालेको छैन, यसले निर्वाचनको लागि प्रमुख आवश्यक निर्वाचन कानुन नै दिन सकेको छैन, अर्कातिर राष्ट्रियताको मुद्दामा पनि सरकार कमजोर भएकाले यो अब असफल भइसक्यो ।’

नेता नेपालले अहिलेको प्रमुख आवश्यकता भनेको निर्वाचन नै भएको बताए । आगामी माघ ७ गतेसम्ममा ३ तहको निर्वाचन हुन नसके देश नै असफल हुने खतरा औंल्याउँदै उनले कुनैपनि हालतमा निर्वाचन गरिनुपर्नेमा जोड दिए ।

त्यसका लागि सबै दल मिलेर निर्वाचन कानून बनाउनुपर्ने र निर्वाचन आयोगलाई निर्वाचनको तयारी थाल्न निर्देशन दिनुपर्ने उनले बताए । निर्वाचन नगर्ने षडयन्त्र भइरहेको भन्दै नेता नेपालले त्यसलाई सबै मिलेर निस्तेज पार्नुपर्ने बताए ।

नेपाल र नेपालीको स्वाभिमानमाथी हस्तक्षेप बढेको भन्दै उनले यो कुनैपनि नेपालीलाई पाच्य नहुने बताए । उनले भने, ‘हाम्रो स्वाभिमानमाथी हस्तक्षेप बढ्दैछ, तर कसैले हामीलाई वशमा पार्न सक्दैन, किनकी हामी कहिल्यै कसैको शरणमा परेनौं, अहिलेपनि परेका छैनौं र कहिल्यै पर्दैनौं पनि ।’

उनले अहिले देशमा देखिएका समस्या नेपाली आफै समाधान गर्न सक्षम रहेको जिकिर गरे ।

नेता नेपालले संविधान संशोधन असफल पार्ने दाबीसमेत गरे । संशोधनमा दुई तिहाई पुर्‍याउन केही शक्तिहरुले खल्तीमा पैसा बोकेर प्रभावमा पार्न खोजिरहेको आरोप लगाउँदै उनले आफ्ना नेताहरु पैसामा नबिक्ने भएकाले त्यो चलखेल सफल नहुने बताए ।

संशोधनप्रति मधेसी जनता पनि सन्तुष्ट नरहेको र यो राष्ट्रियताको हिसाबले पनि उचित नभएको भन्दै उनले संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने बताए । संशोधन प्रस्ताव फेल गराउन आफूहरुसँग एकतिहाई मत सुरक्षित रहेको पनि उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment